१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुर्तिहा नाका सञ्चालन नहुने

कमल पन्थी

गुलरिया — बर्दियाको गुलरियासँग जोडिएको भारतीय सीमाको मुर्तिहा सडक आरक्षभित्र परेकाले नाका सञ्चालन नहुने भएको छ । भन्सार कार्यालयका प्रमुख मनोज विकले भारतीय पक्षले मुर्तिहामा नाका खोल्न सम्भव नभएको र अन्यत्र विकल्प खोज्न आग्रह गरेको जनाएका छन् ।

करिब आठ वर्षअघि नेपाल र भारतका अधिकारीबीच भएको नाकासम्बन्धी सम्झौता लागू नहुने भएको छ । वनका अधिकारीले भन्सारका लागि जग्गा उपलब्ध गराउन नसकेका कारण नाका सञ्चालन नहुने भएको हो । भन्सार प्रमुख विकले भारतीय पक्षले विकल्प खोज्न आग्रह गरिसकेको बताए ।

सन् २००९ अक्टोबर २७ मा ५ वटा नाका थप्ने सम्झौता भएको थियो । सम्झौताअनुसार महेशपुर, ठुटीवारी, सिक्टा, लुक्हा र मुर्तीहा नाका थप्न सम्झौता भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमणका क्रममा उत्तरप्रदेश राज्यका पूर्व मुख्यमन्त्री अखिलेशकुमार यादवले दुवै मुलुकबीच भएको सम्झौताअन्तर्गत नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

अन्य नाका सञ्चालनमा आए पनि मुर्तिहा आरक्ष क्षेत्रमा परेकाले भारतीय वन अधिकारीले स्वीकृत दिएका थिएनन् । तीन वर्षअघि उद्योग वाणिज्य संघको नेतृत्वमा सर्वदलीय र सर्वपक्षीय टोली नाका खुलाउने माग गर्दै लखनउस्थित भारतीय सीमा शुल्क आयुक्त (निवारक) को मुख्यालय पुगेको थियो । आयुक्तले मुर्तिहामा नाका खोल्न सहमति दिएपछि सीमा शुल्कका सहायक मन्जुरानीको टोलीले कर्तरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रको मुर्तिहा अवलोकन गरेकी थिइन् । त्यस समय वनले जग्गा उपलब्ध गराउन सहमति दिएको थियो । हाल आरक्ष घोषणा भएपछि भारतीय वनले जग्गा उपलब्ध नगराउने भएको हो ।

गुलरियासँग जोडिएको रजनवा नाका उपयुक्त हुने भन्सारका कर्मचारी बताउँछन् । आरक्षले नछोएको रजनवासम्म उत्तर दक्षिण सडक सञ्जाल विस्तार हुने क्रममा रहेकाले नाका उपयुक्त हुने उद्योग वाणिज्य संघका अध्यक्ष अमरबहादुर खड्काले बताए ।

प्रकाशित : वैशाख १३, २०७४ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?