१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कैलाश–मानसरोवरमा तीर्थालुको चाप बढ्यो

कृष्णप्रसाद गौतम

नेपालगन्ज — यस वर्षको कैलाश–मानसरोवर यात्रा सुरु भएलगत्तै जहाज र होटलमा चाप बढदै गएको छ । नेपालगन्जबाट हुम्ला हुँदै मानसरोवर जाने तीर्थयात्रीले जहाज र होटल बुकिङ धमाधम गर्न थालेका हुन् ।

कैलाश–मानसरोवरमा तीर्थालुको चाप बढ्यो


वैशाखको पहिलो सातादेखि असोजसम्म विशेषगरी भारतीय तीर्थयात्रीहरू यस यात्रामा जान्छन् । नेपालगन्ज विमानस्थल हिजोआज तीर्थयात्रीका कारण व्यस्त हुन थालेको छ । नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार आइतबार मात्रै नेपालगन्ज–सिमकोट १५ उडान भएको छ । यी उडानमा प्राय: भारतीय तीर्थयात्री छन् । त्यसैगरी शुक्रबार ७ र शनिबार ९ उडान भएको विमानस्थलले जनाएको छ । नेपालगन्ज–सिमकोट जहाजमा जाने तीर्थयात्रीहरू तिब्बत सीमा हिल्सासम्म हेलिकप्टर प्रयोग गरी जान्छन् । हिल्साबाट भने चिनियाँ सवारी साधन प्रयोग गरी कैलाश मानसरोबर पुग्न सकिन्छ ।

सिजन सुरु भएपछि नेपालगन्जका होटलहरू भारतीय तीर्थयात्रीले भरिन थालेका छन् । आइतबार अढाइ सयभन्दा बढी तीर्थयात्रीहरू जहाज बाट मात्रै सिमकोट पुगेका छन् । नेपालगन्ज र सिमकोटका ठूला होटलहरू धमाधम बुक हुन थालेका छन् । नेपालगन्ज विमानस्थल कार्यालयका अनुसार आइतबार तारा एयरलाइन्सका दुई जहाजले सिमकोटका लागि तीन/तीन उडान भरे भने गोमाका दुई जहाजले ९ उडान गरेका छन् ।

‘जहाजहरूले चार्टरमार्फत सिमकोट उडान बढाएपछि नेपालगन्ज विमानस्थल व्यस्त बन्दै गएको छ । अझै केही निजी जहाजहरूले चार्टर थप्न खोजिरहेका छन्,’ नेपालगन्जस्थित नागरिक उड्डयन कार्यालयका क्षेत्रीय निर्देशक प्रतापबाबु तिवारीले भने, ‘उडान बढदै गएपछि विमानस्थल कर्मचारी, एयरलाइन्स कर्मचारी र सुरक्षाकर्मीको व्यस्तता बढदै गएको छ ।’ उनले पर्यटकहरूको सुविधाका लागि सुरुमा दुई उडानका यात्रुलाई विमानस्थलबाट ल्याउने र पछि उडान सुरु भएपछि पालोअनुसार विमानस्थलमा लैजान थालिएको जनाए । उनका अनुसार यसले यात्रुहरूको भीडभाडलाई नियन्त्रण गर्न सजिलो बनाएको छ । निर्देशक तिवारीका अनुसार गत वर्षसम्म दिनभर उडान हुने जहाजका यात्रुहरूलाई विमानस्थलमा प्रवेश गराउँदा भीडभाडका कारण समस्या हुने गरेको थियो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी रिद्धिप्रकाश सिटौलाका अनुसार भारतीय तीर्थयात्री आउन थालेपछि सिमकोटका सबैजसो होटलहरू भरिभराउ हुन थालेका छन् । गत वर्ष करिब १९ हजार भारतीय तीर्थयात्रीले कैलाश मानसरोबरको दर्शन गरेका थिए । ‘यस वर्ष ३१ हजार जनाले बुकिङ गरिसकेका विभिन्न ट्राभल एजेन्सीमार्फत जानकारी आएको छ । सिमकोटबाट हेलिकप्टरले हिल्सासम्म पर्यटक पुर्‍याउने काम भने अझै सुरु भएको छैन,’ हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी सिटौलाले भने, ‘केही दिनपछि हेलिकप्टरले पनि सेवा सुचारु गरेपछि थप पर्यटकीय गतिविधि बढ्ने देखिन्छ । तीर्थयात्रीका कारण धेरै समय सुनसान हुने सिमकोटमा चहलपहल सुरु भइसकेको छ ।’ उनका अनुसार हुम्लामा यस वर्ष चार ठूला होटल खुलेका छन् । ती होटलहरूको क्षमता ४० देखि ८० कोठासम्मका छन् ।

धेरैजसो भारतीय पर्यटक पूर्णीमामा कैलाश परिक्रमा गर्न जाने गरेका छन् । विभिन्न तिथि, औंसी र पूर्णिमामा हेरेर तीर्थयात्रीले कैलाश दर्शनको बुकिङ गराउँछन् । उनीहरूको नेपालगन्ज, काठमाडौं र भारतका ट्राभल एजेन्सीमार्फत प्याकेज बुकिङ हुने गरेको छ । भूकम्पपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेपछि कैलाश जाने सबै तीर्थयात्रीहरू नेपालगन्ज–सिमकोट–हिल्सा रुटबाट जान थालेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?