कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

२२ बैंकको नाफा झन्डै २८ अर्ब

मुनाफाको आकार बढे पनि वृद्धिदर घट्दै गएको छ : बैंकर
यज्ञ बञ्जाडे

काठमाडौं — चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ वाणिज्य बैंकले कुल २७ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

२२ बैंकको नाफा झन्डै २८ अर्ब

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो करिब साढे ३६ प्रतिशतले बढी हो । ०७२ चैतमा ती बैंकको मुनाफा २० अर्ब ४९ करोड रुपैयाँ थियो । बुधबारसम्म २२ वटा वाणिज्य बैंकहरूले मात्र तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यसैको आधारमा ती बैंकहरूको कुल मुनाफा निकालिएको हो । 

वित्तीय विवरण सार्वजनिक गरेका २२ बैंकहरूमध्ये १३ वटाले १ अर्ब रुपैयाँभन्दा बढी मुनाफा कमाएका छन् । तीमध्ये पनि नबिल बैंक, नेपाल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मुनाफा २ अर्ब रुपैयाँभन्दा पनि बढी छ । अर्थतन्त्रका अन्य क्षेत्रहरूको तुलनामा वित्तीय क्षेत्र पारदर्शी र विकसित छ । सोही कारण असहज परिस्थितिमा पनि राम्रो मुनाफा कमाउँदै आएको देखिन्छ ।

तर, पछिल्ला महिनाहरूमा बैंकहरूको मुनाफाको आकार बढे पनि वृद्धिदर घट्दै गएको बैंकरहरूले बताएका छन् । ‘पुँजी वृद्धिको अनुपातमा मुनाफा बढ्न सकेको छैन,’ बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले भने, ‘आकारमा मात्र नाफा बढेको देखिन्छ, मुनाफाको वृद्धिदर अपेक्षित रूपमा बढ्न सकेको छैन ।’ यो अवधिमा बैंकहरूको व्यावसायिक विस्तार राम्रो रहेकाले मुनाफाको आकार बढाएको उनले बताए । ‘बढेको पुँजीअनुसार मुनाफा बढ्न नसकेपछि अधिकांश बैंकहरूको सेयरधनीको प्रतिफल (आरओई) घटेको छ,’ उनले भने, ‘बैंकहरूको लगानी नबढेको भए नाफाको वृद्धिदर निकै कम रहन्थ्यो ।’ 

आउँदो असारसम्म वाणिज्य बैंकहरूले न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसै कारण अधिकांश बैंकहरूले चुक्ता पुँजी बढाइसकेका छन् । बाँकीले पनि ०७४ असारभित्र पुर्‍याउन उपयुक्त योजना अघि बढाएका छन् । पुँजी वृद्धिपछि बैंकहरूलाई व्यवसाय (लगानी) विस्तार गर्न दबाब पुग्यो । यसैकारण ऋण प्रवाह बढ्यो । 

लगानी बढेपछि मुनाफाको आकार पनि बढ्यो । तर, लगानी वृद्धिको तुलनामा आरओई बढ्न नसकेको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनील ज्ञवालीले बताए । ‘लगानी बढेको र खराब कर्जामा सुधार भएकाले मुनाफाको आकार बढेको देखिन्छ,’ उनले भने, ‘तर, बैंकहरूलाई आरओईमा दबाब परेको छ ।’ 

अघिल्लो वर्षको तुलनामा यस वर्ष चुक्ता पुँजी दोब्बर भएको जनाउँदै उनले भने, ‘पुँजी वृद्धिअनुसार मुनाफा पनि दोब्बर हुनुपथ्र्यो, व्यवहारमा त्यसो देखिएन ।’ 

केही बैंकहरूले मर्जर तथा एक्विजिसनका कारण मुनाफा बढाएका छन् । यसैकारण गत वर्षको तुलनामा यो वर्ष ती बैंकहरू धेरै मुनाफा कमाउने बैंकका रूपमा अघि आएका छन् । एनएमबी, सिद्धार्थ, बैंक अफ काठमान्डु लुम्बिनी, सनराइजलगायत बैंकहरूको मुनाफा मर्जरका कारणले बढेको देखिन्छ । 

तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये गत पुसको तुलनामा १३ वटाको सेयरधनीको प्रतिफल (आरओई) घटेको छ । आरओईले लगानीकर्ताले बैंकमा १ सय रुपैयाँ लगानी गर्दा त्यो पैसाले कति कमाउन सक्छ भन्ने देखाउँछ ।

तेस्रो त्रैमाससम्म नेपाल बैंकको आरओइ सबैभन्दा बढी ४६.५२ प्रतिशत छ । यसैगरी, दोस्रोमा नबिल बैंक छ । तेस्रो त्रैमासमा यो बैंकको आरओई ३०.८६ प्रतिशत छ । राम्रा मानिएका केही बैंकहरू हिमालयन, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट, स्ट्यान्डर्ड चार्टर्डलगायत बैंकको आरओई घटेको छ । 

यसैगरी प्रभु, एनआईसी एसिया, सिद्धार्थ, सनराइज, सिटिजन्स, बैंक अफ काठमान्डु लुम्बिनी, नेपाल बंगलादेश, मेगा र लक्ष्मी बैंकहरूको आरओई पनि ०७२ चैतको तुलनामा घटेको छ । तर, नबिल, एभरेस्ट, ग्लोबलआईएमई, सानिमा, माछापुच्छ्रे, प्राइम, एनएमबी र कृषि विकास बैंकको आरओई बढेको छ । आरओई बढ्नेहरूमध्ये अधिकांशको वृद्धिदर निकै न्यून छ । 

लगानी विस्तारको तुलनामा मुनाफा बढ्न नसकेपछि बैंकहरूको आरओई घटेको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

तेस्रो त्रैमाससम्म नबिल बैंकले सबैभन्दा बढी मुनाफा कमाएको छ, भने दोस्रोमा नेपाल बैंक र तेस्रोमा इन्भेष्टमेन्ट बैंक छ । उक्त अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब ६८ करोड रुपैयाँ, नेपाल बैंकको २ अर्ब ५१ करोड रुपैयाँ र इन्भेस्टमेन्टको २ अर्ब ३७ करोड रुपैयाँ छ । 
कृषि विकास, हिमालयन, एभरेस्ट, ग्लोबल आईएमई, प्रभु, एनएमबी, एनआईसी एसिया, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्रे बैंकले १ अर्ब रुपैयाँभन्दा बढी मुनाफा कमाएका छन् । तीमध्ये प्रभु, एनएमबी, एनआईसी एसिया, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड र माछापुच्छ्ेर बैंकहरू तेस्रो त्रैमासमा १ अर्ब मुनाफा कमाउने समूहमा उक्लेका हुन् । ०७२ चैतमा ती बैंकहरूको मुनाफा १ अर्बभन्दा कम थियो । 

अघिल्लो वर्षको तुलनामा गत चैतसम्म अधिकांश वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीए) घटेको छ । खराब कर्जा बढेका बैंकहरूको वृद्धिदर पनि निकै कम छ । यो बैंकहरूले प्रवाह गरेको ऋण सुरक्षित संकेत हो । राष्ट्रिय वाणिज्य, कुमारी, सेन्चुरी, सिभिल, जनता र एनसीसी बैंकले बुधबारसम्म तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

प्रकाशित : वैशाख २८, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?