कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लाभका वस्तुको निर्यात निराशाजनक

- ९ वस्तुमध्ये कपडा र चियाको मात्रै निर्यात बढ्यो
- उत्पादन बढाउने काम भएन : पूर्व सचिव ओझा
राजु चौधरी

काठमाडौं — सरकारले घोषणा गरेको तुलनात्मक लाभका वस्तुकै निर्यात निराशाजनक देखिएको छ ।

लाभका वस्तुको निर्यात निराशाजनक


व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अघिल्लो ९ महिनामा लाभका ९ वस्तुमध्ये दुई वस्तुको मात्रै निर्यात बढेको छ । सबै क्षेत्रमा लगानी गर्न नसक्ने हुँदा सरकारले यस्ता लाभका वस्तु पहिचान गर्छ । व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१६ अन्तर्गत ठूलो अलैंची, अदुवा, चिया, औषधि तथा सुगन्धित बनस्पती, कपडा, छाला, जुत्ता, च्यांग्रा पस्मिना र गलैंचा परेका छन् । तर, यी वस्तुको निर्यात थप घट्ने क्रममा रहेको तथ्यांकमा छ ।
तथ्यांकअनुसार अघिल्लो वर्षको ९ महिनाको तुलनामा यो वर्ष अदुवाको निर्यात ४७.७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा ३६ करोड १९ लाख रुपैयाँ निर्यात भएको थियो । अहिले १८ करोड ९२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । औषधि तथा सुगन्धित बनस्पतीको निर्यात पनि ४५.५ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार अघिल्लो वर्षको ९ महिनामा १ अर्ब ६ करोड ५६ लाख रुपैयाँको निर्यात भएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा ५८ करोड ५ लाख रुपैयाँको मात्रै निर्यात भयो ।
जानकारहरूका अनुसार गुणस्तरीय उत्पादनमा जोड नदिँदा निर्यात खस्किँदै गएको हो । सरकारले लाभका वस्तु पहिचान गरे पनि कार्यान्वयन पक्ष कमजोर हुँदा थप समस्या भएको उनीहरूको भनाइ छ । ‘विदेशी बजारमा स्वदेशी वस्तुको माग भए पनि व्यवसायीले गुणस्तरीय उत्पादनमा जोड दिएका छैनन् । सरकारले पनि लाभका वस्तु भनेर योजना र नीति मात्रै बनायो तर उत्पादन बढाउनेमा जोड दिएन,’ पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘कार्यान्वयन भए/नभएका अनुगमन छैन ।’ ठूलो अलैचीको निर्यात अवस्था पनि उस्तै छ । ९ महिनाको अवधिमा १२.९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ निर्यात भएको अलैंची ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँमा झरेको छ । गलंैचाको निर्यात पनि ५.४० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ९ महिनामा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको निर्यात भएको गलैंचा ५ अर्ब ६५ करोड ५४ लाख रुपैयाँमा झरेको छ । च्यांग्रा पस्मिनाको निर्यात १३ प्रतिशतले झरेर १ अर्ब ८९ करोड ३५ लाख पुगेको छ । अघिल्लो वर्षको ९ महिनामा २ अर्ब १७ करोड ७१ लाख रुपैयाँको निर्यात थियो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले पनि व्यावसायिकता र गुणस्तरकै कारण निर्यात बढ्न नसकेको बताए । उत्पादन कम हँुदा अन्तर्राष्ट्रिय बजारमा पुग्न नसकेको उनले बताए । ‘गलैंचाको माग विश्व बजारमै छ,’ उनले भने, ‘तर, मागअनुसार पठाउन सकेका छैनौं । जसले गर्दा निर्यात घटेको छ ।’ सम्बन्धित मन्त्रालयले आफ्नो दायित्व पूरा नगर्दा पनि निर्यात बढ्न नसकेको उनको भनाइ छ । ‘निर्यात बढाउन बर्सेनि बजेट बढे पनि सम्बन्धित मन्त्रालयहरू उत्तरदायी भएनन्,’ उनले भने ।
छालाको निर्यात १.५ प्रतिशत घटेर ५१ करोड ८८ लाख रुपैयाँमा झरेको तथ्यांकमा छ । अघिल्लो वर्षको ९ महिनामा ५२ करोड ६६ लाख रुपैयाँ निर्यात थियो । जुत्ताको निर्यात १.८ प्रतिशतले घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनामा १ अर्ब १४ करोड १ लााख रुपैयाँको निर्यात भएको थियो । नेपालबाट गोल्ड स्टार जुत्ता मात्रै निर्यात हुन्छ । उक्त जुत्ता भारतमा निर्यात हुन्छ । लाभ वस्तुकै सूचीमा रहेको कपडा र चियाको निर्यात भने उत्साहजनक छ । ९ महिनाको अवधिमा कपडा निर्यात ५९.३ प्रतिशतले बढेर ३ अर्ब ८५ करोड २४ लाख रुपैयाँ पुगेको छ । चियाको निर्यात २२.८ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित : जेष्ठ २, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?