रेल्वे सेवा व्यवस्थित गर्न माग

शंकर आचार्य

पर्सा — नेपालसँग सम्बन्धित रेल्वे सेवालाई व्यवस्थित बनाउन वीरगन्ज उद्योग वाणिज्य संघले भारत सरकारलाई आग्रह गरेको छ । संघको प्रतिनिधि मण्डलले भारतीय रेल्वे राज्यमन्त्री मनोज सिन्हालाई भेटेर यस्तो माग गरेको हो ।


भारत बिहार पश्चिमी चम्पारणका सांसद संजय जयसवाल तथा भारतीय रेल्वेका वरिष्ठ अधिकारीसमेतको उपस्थितिमा भएको भेटघाटमा रक्सौल रेल्वे साइडिङ, एकीकृत जाँच चौकीको व्यवस्थापन तथा रक्सौल–वीरगन्ज नाकालाई व्यवस्थित बनाउन ध्यानाकर्षण गराइएको हो ।
संघका अध्यक्ष ओमप्रकाश शर्माले रक्सौल रेल्वे क्रसिङका कारण मालबाहक एवं यात्रु बाहक सवारी घण्टौं जाममा बस्नुपर्ने र दुर्घटनाको सम्भावना रहेकाले आकासेपुल निर्माणका लागि पनि आग्रह गरेका थिए । संघका अध्यक्ष शर्माको नेतृत्वमा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यसमेत सम्मिलित प्रतिनिधिमण्डल शनिबार भारतको बेतिया पुगेका थिए ।
रक्सौल रेल्वे साइडिङमा व्यवस्थापनको कमीले आयातित मालवस्तु नोक्सान हुने शर्माले गुनासो गरेका थिए । उनले भारतीय तथा नेपाली भन्सार राति ११ बजेदेखि बिहान ६ बजेसम्म बन्द हुँदा व्यवसायीले जरीवाना तिर्नुपर्ने बाध्यता भएको जानकारी दिएका थिए । रक्सौल रेल्वे साइडिङदेखि भन्सारसम्मको बाटो अत्यन्त जीर्ण भएकाले स्तरोन्नतिका लागि पहल गरिदिन पनि उनले आग्रह गरे ।
प्रतिनिधिमण्डलले भारतमा हालै लागू भएको नयाँ ई–कानुनले नेपाली आयातकर्तालाई अप्ठ्यारो भएकाले त्यसको समाधान र अन्य समस्याबारे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको थियो । सिन्हाले रक्सौल रेल्वे साइडिङको व्यवस्थापन र रक्सौलको भौतिक पूर्वाधारका साथै नेपाली आयातकर्ताले रेल्वे र्‍याकको समस्या समाधानका लागि साता दिनभित्रै काम थाल्न रेल्वे अधिकारीलाई निर्देशन दिएको शर्माले बताए ।
नेपाली आयातकर्ताका लागि भारतीय रेल्वे लामो समयदेखि भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मालवस्तु ढुवानी गर्न सहज र सस्तो माध्यमका रूपमा रहेको छ । मालबाहक कन्टेनर मात्र नभई कोइला, सिमेन्ट क्लिंकरजस्ता औद्योगिक कच्चा पदार्थ पनि अधिकांश नेपाली आयातकर्ताले रेलबाटै ढुवानी गरेर ल्याउने गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?