ट्यांकरमा सुरक्षित सिल जेठभित्रै

राजु चौधरी

काठमाडौं — आयल निगमले इन्धन बोक्न ट्यांकरमा जेठ महिनाबाट लकिङ प्रणाली (सुरक्षित सिल) जडान गर्ने भएको छ । ट्यांकरबाट हुने इन्धन अपचलन रोक्न सिलको तयारी गरेको हो ।

निगमका बिक्री वितरण विभाग निर्देशक तथा प्रवक्ता सीताराम पोखरेलका अनुसार लकिङ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नु निगमका निर्देशक वीरेन्द्र गोइतको संयोजकत्वमा कार्यान्वयन टोली गठन गरिएको छ । कमिटीमा पेट्रोलियम व्यवसायी पनि सदस्य छन् । टोली संयोजक गोइतले पनि मे १५ देखि २५ सम्ममा जडान हुने बताए । ‘भारतीय आयल निगम (आईओसी) लाई मे १५ देखि २५ सम्मको समय दिएका छांै,’ उनले भने, ‘आईओसीले ताल्चाका लागि अर्डर गरिसकेकाले इन्धन भर्नु गएको ट्यांकरमा लक गरेर इन्धन पठाउनेछ ।’

निगमका अनुसार ट्यांकरमा सिल दुई चरणमा जडान गरिन्छ । पहिलो चरणमा आईओसीको डिपोबाट निगमको डिपोसम्म र दोस्रो चरणमा निगमको डिपोबाट बिक्रेतासम्म सिल गरेर लगाइनेछ । प्रवक्ता पोखरेलका अनुसार बरौनी रिफाइनेरीमा एक सय, रक्सोलमा एक सय र सिलगुढीमा २० वटा ट्यांकरमा सिल जडान हुनेछ । ‘पहिलो चरणमा नयाँ बनेका ट्यांकर (२ सय २० ट्यांकर) मा सिल जडान गर्छौं,’ उनले भने, ‘त्यसपश्चात् पुराना ट्यांकरमा क्रमश सिल जडान हुन्छ ।’ 

आईओसीबाट इन्धन ट्यांकरमा भरेपछि तेल भर्ने र झिक्ने भल्वमा लक (सिल) गरिनेछ । त्यसपश्चात् थानकोट डिपोमा सिल खुला गरिनेछ । ट्यांकरमा सिलका लागि आईओसीले २३ सय ताल्चा उपलब्ध गराउने प्रतिबद्धाता जनाएको पोखरेलले बताए । निगमका अनुसार ताल्चा नयाँ प्रविधिबाट बनेको छ । यसको नक्कल बनाउन कठिन हुनेछ । ट्यांकर सिल गरेपछि साँचोको जिम्मा आईओसी र निगमको क्षेत्रीय कार्यालय प्रमुखले लिनेछन् । ताल्चाको साँचो गलत ठाउँमा प्रयोग भए कारबाहीको भागिदार पनि प्रमुख नै हुनेछ । २३ सय ताल्चा खोल्नका लागि एउटा छुट्टै मास्टर चाबी पनि बनाइएको जनाएको छ । यसअघि निगमले मंसिरमा पनि दुई महिनाभित्र ट्यांकरमा लकिङ प्रणाली जडान गर्नु निर्देशन दिएको थियो । 

इन्धन ढुवानी पारदर्शी र व्यवस्थित बनाउन निगमले पत्रपत्रिकामा सूचना प्रकाशित गरी व्यवसायीलाई निर्देशन दिएको थियो । तर, कार्यान्वयन भएन । निगमले वैशाखबाट पुन: लागू गर्ने जनाएको थियो । तर, हालसम्म लागू हुन सकेको छैन । लकिङ प्रणाली जडान गर्नु व्यवसायीहरूको सहयोग भए पनि कार्यान्वयन हुन सकेको छैन । लिकेज तथा चोरी नियन्त्रण, क्यालिब्रेसन फल्टलगायत नियन्त्रण गर्नु लकिङ प्रणाली आवश्यक भएको व्यवसायीले बताउँदै आएका छन् । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले निगमको व्यवस्थापनकै कारण ढिलाइ भएको बताए । ‘यसअघि वैशाख १ गतेदेखि भनेको थियो । तर, निगममै तयारी पुगेन । हालसम्म ताल्चाको व्यवस्थापन भएको छैन,’ उनले भने, ‘जेठबाट पनि निगमकै कारण सम्भव देखिँदैन ।’ 

लकिङ प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नु गठित कमिटीको उद्देश्य सल्लाह सुझाव दिने, छिटोभन्दा छिटो कार्यान्वयन गर्नेतर्फ प्रेरित गर्ने भए पनि प्रभावकारी नभएको अध्यक्ष प्रधानको आरोप छ । ‘मुख्यत: निगमको इच्छाशक्ति, योजनाबिना सुरु गर्नु खोज्दा कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘पहिलो चरणमा २०/२५ ट्यांकरमा मात्रै भए पनि पनि कार्यान्वयन हुनुपर्छ । त्यसपश्चात् विश्लेषण गरेर थप सुधारका प्रक्रिया अपनाउनुपर्छ ।’ 

निगम प्रवक्ता पोखरेलले भने यसअघि लकिङ सिस्टमको गाडी नहुँदा कार्यान्वयन हुन नसकेको दाबी गरे । ‘पुराना ट्यांकरमा जडान गर्ने ठाउँ थिएन । अब बनेको गाडीमा लगाउन मिल्नेछ,’ उनले भने, ‘पुराना ट्यांकरमा पनि लकिङको लागि ठाउँ बनाउन भनेका छौं । सिल नभई पुरानो गाडीमा नामसारी, पास गर्देनौं ।’ करिब तीन वर्षअघि तत्कालीन अर्थमन्त्री रामशरण महतले पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा सुरक्षित सिल प्रणाली जडान गरी चुहावट नियन्त्रण गर्ने जनाएका थिए । 

सिल प्रणाली जडानले चुहावटमा नियन्त्रण भई घाटामा केही नियन्त्रण हुने सरकारको दाबी थियो । हाल सिल जडान नहुँदा ट्यांकरको तेल अपचलन भएको सरकारी तथ्यांकहरूले नै देखाउँछन् । आईओसी डिपोबाट निगम डिपो र निगम डिपोबाट पम्पसम्म पुग्दा एक चेम्बरबाटै ९८ लिटरसम्म कम हुने गरेको छ । लकिङ प्रणालीले सबै पक्षलाई फाइदा हुन्छ । हाल इन्धन चोरी भएका कारणले ट्यांकर व्यवसायी बद्नाम भएका छन् । लकिङ प्रणाली लागू भए चुहावटको विवाद अन्त्य हुने दाबी छ । व्यवसायीका अनुसार सिल प्रणालीले ९० प्रतिशत चोरी नियन्त्रण हुन्छ । 

मुलुकभरि करिब १५ सय ५२ ट्यांकर छन् । केही नयाँ पनि बन्ने क्रममा रहेको निगमले जनाएको छ । नेपालमा करिब २० किलोलिटरसम्म इन्धन बोक्ने ट्यांकर छन् । ती ट्यांकरमा ४ देखि ५ चेम्बर हुन्छन् । एउटा चेम्बरमा ३ हजारदेखि ५ हजार लिटरसम्म इन्धन बोक्न सकिन्छ । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मिडिया टु फिल्म

सञ्चारमाध्यमको प्रोलिफिक अनुभवबाट प्रेरित धेरै जना स्लिभरस्क्रिनमा चम्कँदै छन् । व्यापक इन्टरर्‍याक्सन हुने फिल्डमा उनीहरुले बटुलेको कन्फिडेन्स अभिनयमा पोखिँदै छ ।
सजना बराल

नम्रता श्रेष्ठ, प्रियंका कार्की, रीमा विश्वकर्मा, सुरजसिंह ठकुरी, ऋचा शर्मा, आसिफ साह, निशा अधिकारीजस्ता नामहरू अहिले कलाकारितासँग सम्बन्धित छन् । उनीहरू फिल्म खेल्छन्, मोडलिङ गर्छन् ।

तर, यो उनीहरूको सेकेन्ड फेजको करियर हो भन्दा फरक पर्दैन । यसअघि यी सबै एक्टर–एक्ट्रेस रेडियो/टेलिभिजनमा कार्यक्रम चलाउँथे । कोही त अझै पनि मिडियामै छन् ।
सन् २००८ मा आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ मा खेल्नुअघि नम्रता श्रेष्ठ कान्तिपुर एफएमकी आरजे थिइन् । उनले टीभीमा पनि कार्यक्रम चलाइन् । फिल्ममा जम्न थालेपछि नम्रताले मिडिया लाइन छोडेकी हुन् । प्रियंकाको स्टोरी पनि उस्तै छ । सन् २००५ मा ‘मिस टिन’ भएपछि उनले कान्तिपुर टेलिभिजनमा भीजेका रूपमा काम गरिन् । ‘सेलुलइड’, ‘ग्लाम फ्याक्टर’, ‘कल एन्ड विन’ जस्ता कार्यक्रमकी सञ्चालक उनी सन् २००७ मा अमेरिका गइन् । उताबाट फर्केपछि मिडिया लाइन रोजिनन् । 
च्यानल नेपाल, इमेज च्यानल, नेपाल वान र कान्तिपुर टीभीमा प्रोग्राम प्रेजेन्टर बनिसकेपछि आसिफ साह फिल्मतिर लागे । हुन त उनी बीच–बीचमा मोडलिङ गरिरहन्थे, म्युजिक भिडियो बनाउँथे, गायक पनि हुन् । सन् २०१३ मा ‘कर्कश’ फिल्म निर्देशन गरेका उनी केही फिल्ममा अभिनेताका रूपमा समेत देखा परे । पछिल्लो पटक ‘लभ सासा’ मा उनको भूमिका थियो भने अहिले सुटिङमा रहेको ‘दुई रुपैयाँ’ मा उनी निश्चल बस्नेतसहित लिड रोलमा छन् ।
मिडिया हुँदै फिल्ममा लाग्नुलाई आसिफ ‘समयको माग’ भनिदिन्छन् । ‘मान्छेलाई जति भए पनि पुग्दैन नि,’ उनले भने, ‘कार्यक्रम चलाएँ । भिडियो बनाएँ । गीत गाएँ । त्यसपछि के त ? फिल्म बाँकी रह्यो । आफूले आफैंलाई एक्सप्लोर गर्दै लगेको हुँ ।’ उनी मिडिया र फिल्म लाइन बिलकुल फरक कुरा रहेको बताउँछन् । क्यामरा फेसिङबाहेक सबै कुरा भिन्न हुँदा फरक अनुभव हुने उनको भनाइ छ । 
अभिनेत्री रीमा विश्वकर्मा त पत्रकारिताकै विद्यार्थी हुन् । कक्षा ६/७ तिर पढ्दा नै उनले ‘जाँदा–जाँदै’ नामक टीभी कार्यक्रम चलाएकी थिइन् । नेपाल टेभिजनमा भीजे र समाचार वाचिकाको अनुभव बटुलेपछि उनी सिल्भर स्क्रिनतिर लागिन् । रीमालाई म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले ‘स्वर’ फिल्ममार्फत अभिनय जगत्मा भित्र्याएका थिए । अहिले उनलाई ‘नेपाली तारा’ मा होस्टका रूपमा देख्न सकिन्छ । 
सुरजसिंह ठकुरीले ‘नाई नभन्नु ल’, ‘जंगे’, ‘खुड्किलो’, ‘कर्कश’ जस्ता फिल्ममा अभिनय गरेका छन् । एक्टर बन्नुअघि उनी कान्तिपुर टेलिभिजनमा ‘कल कान्तिपुर’ चलाउँथे । सबैभन्दा लामो टेलिभिजन टक शो भनिएको कल कान्तिपुरपछि उनले ‘परिवर्तन’ नामक अर्को शृंखला सुरु गरेका थिए । म्युजिक भिडियो निर्देशन गर्नुका साथै आफैं मोडलका रूपमा समेत देखा परेका उनी अझै पनि कान्तिपुर टीभीमा आबद्ध छन् । 

दोस्रो पुस्ता
अभिनत्री छुल्ठिम गुरुङ आफू बल्ल असली प्रोफेसनमा आइपुगेको बताइहिँड्छिन् अचेल । हुन त उनले सानोमा ‘हिरोइन’ बन्छु भन्ने सपना देखेकी थिइनन् । तर, यो पेसामा लागेपछि आफ्नो गन्तव्य यही रहेको आभास भयो । ‘मेरो डेस्टिनेसन नै फिल्म रैछ,’ उनले भनिन्, ‘लामो समय आरजे/भीजे भएर काम गरें । त्यसमा पनि छुट्टै मजा थियो ।’
छुल्ठिमले सुरुमा एबीसी रेडियोमा काम गरिन् । त्यसपछि गोरखा एफएम हुँदै नेपाल १ मा च्यानल र एनटीभीमा भीजेका रूपमा देखिइन् । सन् २०१४ बाट उनी अभिनेत्री बनेकी हुन् । डेब्यु फिल्म ‘नोभेम्बर रेन’ बाटै राम्रो प्रतिक्रिया पाएकी छुल्ठिम अब त प्रोड्युसरकै रूपमा पनि बाहिर आउँदै छिन् । शुक्रबार प्रदर्शन हुने फिल्म ‘डायरी’ मा उनले निर्मात्री र अभिनेत्री दुवैको भूमिका निर्वाह गरेकी छन् । 
सन्ध्या केसी, सहाना वज्राचार्य, यसराज गराच, शिशिर भण्डारी, सुरक्षा पन्तजस्ता भीजेहरू अहिले फिल्मतिर आकर्षित छन् । सन्ध्याले भुवन केसी निर्देशित ‘ड्रिम्स’ मा काम गरिन् भने सहानाको केमियो रहेको ‘गुडबाई काठमाडौं’ प्रदर्शन हुनै बाँकी छ । नेपाल वान, एनटीभी र टीभी फिल्मीमा शो होस्ट रहेका यसराजले ‘स्वर’, ‘नागबेली’ ‘मायाको बारीमा’, ‘सन्त्रास’ लगायत थुप्रै फिल्म खेलिसकेका छन् ।
‘प्रोग्राम प्रेजेन्टर हुने प्यासन अझै छ,’ अभिनेत्री सुरक्षा पन्तले हेलो शुक्रबारसँग भनिन्, ‘तर, अहिले फिल्ममै व्यस्त छु । दुईमध्ये एउटा छान्नुपर्ने भएपछि फिल्म रोजें ।’ भीजेइङ हुँदै फिल्ममा लाग्दा धेरै सहज हुने सुरक्षाको अनुभव छ । मान्छेको व्यवहार र आफूलाई पर्सिभ गर्ने तरिका नै फरक हुने उनले बताइन् । छुल्ठिमलाई पनि आफ्नो पूर्व पेसाले धेरै ज्ञान दिलाएको महसुस हुन्छ । भनिन्, ‘लाइभ टक शोमा अनेक थरीका कलरसँग बोल्नुपथ्र्यो । छिनको छिनमै आफ्नो एक्प्रेसन बदल्न जान्नुपथ्र्यो । ती कुरा फिल्ममा काम लागे ।’ 
टीभी फिल्मीमा ‘डुप्लिकेट’ कार्यक्रम चलाउने शिशिर ‘शो सिम्पल’, ‘होस्टेल’, ‘बिर्खेलाई चिन्छस्’ जस्ता फिल्ममा देखिए । उनी अभिनीत ‘प्रेम गीत २’ र ‘लालटिन’ प्रदर्शोन्मुख छन् भने बाँकी १० फिल्म बाहिर आइसकेका छन् । ‘तीतो सत्य’ जस्ता केही टेलिशृंखलामा पनि उनी देखिएका थिए । ‘मिडियामा भएकाले फिल्म खेल्न सजिलो हुन्छ,’ उनले भने, ‘तर, फिल्म खेल्ने भएकाले मिडियामा काम गर्नचाहिँ कहिलेकाहीँ गाह्रो हुन्छ ।’ सबैसँग सुमधुर सम्बन्ध बनाउनुपर्ने भएकाले भनेजस्तो कन्टेन्ट दिन अप्ठ्यारो परेका अनुभव उनीसँग टन्नै छन् । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT