खानीमा लगानी गर्नेलाई छुटैछुट

राष्ट्रिय खनिज नीति
कान्तिपुर संवाददाता

काठमाडौं — खानी उद्योगमा लगानी गर्नेलाई राज्यको तर्फबाट छुट र सुविधाको व्यवस्थासहित सरकारले राष्ट्रिय खनिज नीति पारित गरेको छ । भन्सार छुट, दुर्गमका खानीमा लगानी गर्नेलाई अन्य सुविधा र पहुँचमार्ग तथा विद्युत्को व्यवस्था गरिदिनेसहित मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले दुई साताअघि नीति पारित गरेको हो ।

छुट सुविधा मात्रै नभएर नीति जारीपश्चात्को आगामी १० वर्षमा एक खर्ब रुपैयाँ लगानी हुने महत्त्वाकांक्षी लक्ष्यसमेत सरकारले अघि सारेको छ । उक्त लगानीबाट १० वर्षमा कम्तीमा ५० हजार युवाले रोजगारी पाउने परिकल्पना गरिएको छ । ‘आउँदो १० वर्षभित्र खनिजजन्य उद्योगको प्रवद्र्धन र विकास गरी वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमा नै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कम्तीमा ५० हजार जनालाई रोजगारीको अवसर प्रदान गरिनेछ,’ नीतिको कार्ययोजनामा उल्लेख गरिएको छ । 

निजी क्षेत्रबाट आकर्षित गरिने लगानी भित्र्याउनका लागि सरकारले खानीजन्य उद्योगका लागि पूर्वाधार विस्तार, भन्सार छुट, अनुदानको व्यवस्था गरेको हो । ‘सुन, फलाम, तामा, सिसाजस्ता धातु खनिजको विकासका लागि प्राथमिकतामा राखी गुण र परिमाणले महत्त्वपूर्ण देखिएमा खनिजमा नेपाल सरकारले पूर्वाधार (पहुँचमार्ग तथा औद्योगिक विद्युत्) को निर्माण गरी उद्योग प्रवद्र्धन गरिनेछ,’ नीतिमा भनिएको छ । अहिले पनि सरकारले खानीजन्य तथा सिमेन्ट उद्योगका लागि पूर्वाधार विकासस्वरूप सडक र विद्युत् पुर्‍याउने काम गरिरहेको छ । उक्त कार्यलाई थप विस्तार गर्ने योजनाको प्रतिबद्धता सरकारले नीतिमार्फत गरेको हो ।

यसबाहेक विभिन्न प्रकृति तथा क्षेत्रअनुसार भन्सार र अन्य छुटको व्यवस्थासमेत नीतिमा उल्लेख गरिएको छ । ‘खनिज पदार्थको गुणस्तरमा अभिवृद्धि गरी सोहीअनुसारको उच्चस्तरको खनिज तथा खनिजजन्य वस्तु उत्पादन गर्ने उद्योगलाई प्राथमिकतामा राखी भन्सार छुट, पूर्वाधार निर्माणमा विशेष सहुलियत दिइनेछ,’ नीतिमा भनिएको छ, ‘खनिज अन्वेषण, उत्खनन तथा विकास गर्न र पूर्वाधार निर्माण गर्न आवश्यक पर्ने यन्त्र, उपकरण, मेसिनरी आदिको भन्सार आयातमा विशेष सुविधा दिइनेछ । खनिजको प्रशोधन कार्य स्वदेशमा नै गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन कार्यलाई सरलीकरण तथा सहजीकरण गरिनेछ ।’ नेपाल सरकारले बन्देज लगाएका बाहेक अन्य खनिज तथा खनिजजन्य उद्योगमा विदेशी लगानीलाई खुला गरिने जनाइएको छ । भौगर्भिक तथा खनिज अध्ययन, अनुसन्धान तथा वातावरण संरक्षण तथा विकासका लागि खनिज कोषको स्थापना गर्ने परिकल्पनासमेत नीतिले गरेको छ । तर खनिजजन्य उद्योगमा निजी क्षेत्रलाई मात्रै नभई सरकारले पनि काम गर्ने नीतिमा जनाइएको छ । ‘रणनीतिक तथा सामरिक महत्त्वका खनिजको अध्ययन, अन्वेषण, उत्खनन, प्रशोधन र विकासको साथै खनिजको संरक्षण तथा संवद्र्धन कार्य सरकार आफैंले गर्नेछ,’ नीतिमा भनिएको छ । लगानीको प्राथमिकता भने निजी क्षेत्रलाई नै दिने जनाइएको छ ।

‘नेपालमा उत्पादित खनिजजन्य वस्तुको प्रवद्र्धन, गुणात्मक पहिचान र मान्यताका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था गरिनेछ,’ नीतिमा भनिएको छ, ‘खनिज स्रोतको संरषण, संवद्र्धन एवं उपयोगलाई राष्ट्रिय प्राथमिकतामा राखिनेछ । खनिज पदार्थको प्रकृति एवं महत्त्वका आधारमा खनिजलाई वर्गीकरण गरी खनिजजन्य उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरूको रूपमा वर्गीकरण गरिनेछ ।’ नेपालभित्र छरिएर रहेका विभिन्न समयमा सञ्चालित खानीहरूको डाटाबेस एक वर्षभित्र तयार गर्ने लक्ष्य नीतिले लिएको छ । दक्ष कामदार तथा उद्यमशीलताका लागि नीतिले तालिमको समेत परिकल्पना गरेको छ । 

भन्सार तथा सरकारी सुविधा छुटका लागि नीतिमा उल्लेख भए पनि कार्यान्वयन हुन ऐन नै जारी हुनुपर्छ । उक्त व्यवस्थासहितको ऐन संशोधनको कामसमेत भइरहेको उद्योग मन्त्रालयले जनाएको छ । हाल खनिज उत्पादन गर्ने उद्योगहरूका लागि ‘खानी तथा खनिज पदार्थ ऐन, २०४२’, ‘नियमावली २०५६’ र ‘औद्योगिक व्यवसाय ऐन, २०७३’ लगायत कानुन सक्रिय छन् । उल्लिखित कानुनमा केही सुविधा यसअघि नै व्यवस्था गरिसकिएको छ । थप छुट, सुविधा वा सहुलियतका लागि कानुनमा संशोधन गर्ने प्रतिबद्धता नीतिमा जनाइएको छ । खानीमा निजी क्षेत्रको लगानी आकर्षित गर्न यसअघि पनि नीतिगत रूपमा धेरै प्रयास भएका छन् । 

प्रकाशित : जेष्ठ ७, २०७४ ०९:१०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

क्षत्रीको कथाकृति

कान्तिपुर संवाददाता

काठमाडौं — सञ्चारकर्मी डब्बु क्षत्री कथा संग्रह ‘नमस्ते काठमान्डु’ सहित आएका छन् । शनिबार राजधानीको सार्वनाम थिएटरका कलाकारहरूले रंगमञ्चीय प्रस्तुतिसहित कृतिको लोकार्पण गरे । संग्रहका कथाको भाव समेटेर बनाइएको गीत ‘नमस्ते काठमान्डु...’पनि सोही कार्यक्रममा लोकार्पण गरियो ।

जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वर रहेको गीतमाथि रंगमञ्चीय प्रस्तुतिसमेत गरिएको थियो । 
यौन विद्रोहका कथाहरू समेटिएको कृतिमाथि लेखक एवं चलचित्रकर्मी सचिन घिमिरेले अभिनेत्री ऋचा शर्मा, लेखिका जया ओझा, कथाकार क्षत्री र सञ्चारकर्मी यज्ञशमाझ बहस चलाएका थिए । ऋचाले संग्रहमा आएका कथाका घटना र पात्रहरू समाजमै भेटिने दाबी गरिन् । आफूले निर्माण गरेको फिल्म ‘आधा लभ’ मा पनि तेस्रोलिंगी र समलिंगी विषय समेटिएको बताउँदै क्षत्रीका कथाहरूमा पनि त्यस्तै यौन विद्रोहका सन्दर्भ र पात्रहरू भेटिएको उनले दाबी गरिन् । यज्ञशले लामो समय पत्रकारिताको अनुभव सँगालेको कारण क्षत्रीले कथामा पनि पत्रकारिताको लेखन शैली झल्किएको बताए । समाजका विभिन्न वर्ग, धर्म, भाषा र लैंगिकतालाई टिपेर कथामा उनिएको उनको दाबी थियो । 

लेखिका ओझाले कथाहरू यौनमा केन्द्रित भएर पनि अश्लील नभएको बताइन् । कथाकार क्षत्रीले आफूले समाजमा देखेका घटनाहरूलाई कथामा ढालेको दाबी गरे । ‘राहदानी’ फिल्मका निर्देशकसमेत रहेका कृतिमा समेटिएको यौनविम्ब र प्रतीक, पात्र बनोटको अवस्थिति र मनोदशासँगै कमजोरीको पक्षमाथि पनि कार्यक्रममा रोचक बहस भएको थियो । कृतिमा १८ वटा कथा समेटिएका छन् । कृति शिखा बुक्सले छापेको हो ।

प्रकाशित : जेष्ठ ७, २०७४ ०९:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT