१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

९ महिनामा सवा खर्बको आयात

कृषिमा परनिर्भरता बढ्दो
अनुदान दिने दाबी गरे पनि किसानलाई यसबारे जानकारी र पहुँच छैन : विज्ञ
राजु चौधरी

काठमाडौं — कृषि उत्पादनमा अनुदान, ब्याज सहुलियत र बिमाका कार्यक्रम लागू भए पनि परनिर्भरता बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको अघिल्लो ९ महिनामा १ अर्ब २७ अर्ब ५६ करोड ८६ लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ ।

यो अघिल्लो वर्षको ९ महिनाको अवधिमा भन्दा २१.६९ प्रतिशतले बढी हो । 

अघिल्लो वर्ष १ खर्ब ४ अर्ब ८३ करोड ३९ लाख रुपैयाँको आयात भएको थियो । आन्तरिक उत्पादनमा कमी, कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव, उत्पादकत्वमा आइरहेको ह्रास, सरकारी उदासीनता, आधुनिकीकरण हुन नसक्दा परनिर्भरता बढ्दै गएको हो । बजेट भाषणमार्फत घोषणा गरिने अनुदानसमेत प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा समस्या भएको हो । 

‘कृषिको बजेट बर्सेनि बढेको छ । तर, कृषि वस्तुको आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन नै वृद्धि हुन सकेन । सरकारले विभिन्न कार्यक्रमका लागि अनुदान दिने दाबी गरे पनि अधिकांश किसानलाई जानकारी र पहुँच छैन,’ अर्थविद् केशव आचार्यले भने, ‘सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन नसक्दा पनि परनिर्भर हुन बाध्य छौं ।’ सरकारले कृषि उत्पादनका लागि आर्थिक वर्ष २०७२/७३ मा २१ अर्ब ४३ करोड र २०७३/७४ मा २७ अर्ब ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०७४/७५ का लागि ३० अर्ब ५८ करोड रुपैयाँ प्रस्ताव गरिएको छ । बजेट बढे पनि अनुदानको रकम कृषकका हातमा पुग्न नसकेको आचार्यको भनाइ छ । 

विभागको तथ्यांकअनुसार सबैभन्दा बढी तेल, चामल, मकै, फलफूल, तरकारीको आयात भएको छ । ९ महिनाको अवधिमा २४ अर्ब ९० करोड रुपैयाँको कच्चा तेल (सोयाबिन, सनफ्लावर, केक, पाम) आयात भएको छ । अघिल्लो वर्षको ९ महिनामा १६ अर्ब ७४ करोड रुपैयाँको तेल आयात भएको थियो । केन्द्रका उपनिर्देशक रवीन्द्र दुवाडीका अनुसार कच्चा तेल, मलेसिया, इन्डोनेसिया, ब्राजिल, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ । 

चामलको आयात पनि उल्लेख्य रूपमा बढेको उनले बताए । ९ महिनाको अवधिमा १८ अर्ब ५० करोड रुपैयाँको आयात भएको जनाइएको छ । 

अघिल्लो वर्षको ९ महिनामा १६ अर्ब ५६ करोड रुपैयाँको आयात भएको थियो । चामल भारतबाट आयात हुन्छ । 

१४ अर्ब ३० करोड रुपैयाँको तरकारी र ६ अर्ब ९२ करोड रुपैयाँको फलफूल आयात भएको छ । आयात हुने अधिकांश तरकारी र फलफूल कालिमाटी तथा फलफूल बजार र बल्खु बजारमा भित्रिन्छ । कालिमाटी तरकारी बजारले उपत्यकाको करिब ९० प्रतिशत माग धान्छ । उपनिर्देशक दुवाडीका अनुसार फलफूल चीन र भारतबाट आउँछ । तरकारीमा भने भारतकै भर पर्नुपर्छ । कृषि मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सापकोटा उपभोग गर्ने संख्या बढेकाले आयात बढेको बताए । उनले आयात घटाउन धेरै कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । यीमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुख्य कार्यक्रम भएको उनले दाबी गरे । ‘यी कार्यक्रमले कृषिको आधुनिकरण गर्ने, उत्पादन उत्पादकत्व बढाउने काम गर्छ,’ उनले भने । 

गत वर्षको तुलनामा कृषि उत्पादन बढेको उनले दाबी गरे । ‘गत वर्ष ४३ लाख टन उत्पादन भएको धान हाल ५२ लाख टन पुगेको छ । मकैको उत्पादन ३ प्रतिशतले बढेको छ । गहुँको उत्पादन ८ प्रतिशतल बढ्ने अनुमान गरेका छौं,’ उनले भने, ‘थप उत्पादन बढाउने प्रयास गरिरहेका छांै ।’ तथ्यांकअनुसार ९ महिनामा भारतबाट ७ अर्ब ४८ करोड रुपैयाँको मकै आयात भएको छ । अघिल्लो वर्ष यही अवधिमा ६ अर्ब २० करोड रुपैयाँको आयात थियो । ९ महिनाको अवधिमा ५५ अर्ब ४४ करोड रुपैयाँको अन्य कृषिजन्य उत्पादन आयात भएको छ । अघिल्लो वर्षको ९ महिनामा ५० अर्ब ३२ करोड रुपैयाँको आयात भएको थियो । 

अर्थविद् आचार्यले उत्पादन बढाउन अनुदान बढाउनुपर्ने बताए । ‘भारत सरकारले दिने कृषि अनुदानसरह नेपाली कृषकलाई सहयोग गर्नुपर्छ,’ उनले भने, ‘भारतमा नहर नगएको ठाउँमा पम्पसेटबाट पानी तान्दा डिजेलमा अनुदान दिइन्छ ।’ 

आयात भएका कृषि उत्पादन

कृषि वस्तु    २०७२/७३    २०७३/७४
चामल    १६ अर्ब ५६ करोड    १८ अर्ब ५० करोड
कच्चा तेल     १६ अर्ब ७४ करोड    २४ अर्ब ९० करोड
(सोयाबिन, सनफ्लावर, केक, पाम)
मकै     ६ अर्ब २० करोड    ७ अर्ब ४८ करोड
तरकारी     ९ अर्ब ५१ करोड    १४ अर्ब ३० करोड
फलफूल     ५ अर्ब ४८ करोड    ६ अर्ब ९२ करोड
अन्य कृषि उत्पादन     ५० अर्ब ३२ करोड    ५५ अर्ब ४४ करोड

स्रोत : व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र 

प्रकाशित : जेष्ठ ८, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?