कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाबा रामदेवको बिजुली निकाल्ने नयाँ जुक्ति

काठमाडौं — योगगुरु बाबा रामदेवले गोरुको प्रयोग गरी बिजुली उत्पादन गर्ने योजना सार्वजनिक गरेका छन् । उनको कम्पनी पतञ्जलीले यसका लागि ‘बुल पावर’ परियोजनामार्फत काम गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाबा रामदेवको बिजुली निकाल्ने नयाँ जुक्ति

कम्पनीका अनुसार डेढ वर्षदेखि यस परियोजनामाथि काम भइरहेको छ । ‘परियोजनामा केही सफलतासमेत मिलेको छ,’ कम्पनीको स्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले लेखेका छन्, ‘परियोजना कम्पनीका प्रबन्ध निर्देशक (एमडी) आचार्य बालकृष्णको पहलमा अघि बढेको हो ।’ ‘इन्साइडर बिजनेस’ अनलाइनले पनि पतञ्जलीको यो परियोजनाबारे समाचार प्रकाशित गरेको छ । उक्त अनलाइनका अनुसार एउटा प्रमुख भारतीय मल्टिनेसनल अटोमोबाइल म्यानुफ्याक्चर र टर्कीको कम्पनीले यो परियोजनामा संयुक्त रूपमा काम गरिरहेका छन् ।
एउटा सानो टर्बाइन प्रयोग गरी गोरु पाल्ने किसानले सजिलै आफूलाई आवश्यक पर्ने विद्युत् उत्पादन गर्न सक्ने दाबी कम्पनीको छ । कम्पनीले गोरुको प्रयोग गरी विद्युत् निकाल्ने प्लान्टका लागि एउटा ‘प्रोटोटाइप’ डिजाइन गरिसकेको सञ्चार माध्यमहरूले जनाएका छन् । ‘बढी विद्युत् निकाल्न यसमा केही परिवर्तन गरिँदै छ,’ आचार्य बालकृष्णलाई उद्धृत गर्दै अनलाइनहरूले लेखेका छन् । परियोजनामा संलग्न प्राविधिकहरूका अनुसार एउटा टर्बाइनयुक्त डिजाइनबाट हालसम्म झन्डै २.५ किलोवाट विद्युत् उत्पादन भइसकेको छ । आचार्य बालकृष्णले ‘बुल पावर’ बारे पतञ्जलीको मुख्यालय हरिद्वारमा काम भइरहेको पुष्टि गरे । उनले सञ्चारमाध्यमका प्रतिनिधिसँग भने, ‘बिहान खेतमा र बेलुका बिजुली उत्पादन गर्न गोरुको प्रयोग गर्न सकिन्छ । एक वर्षभित्रै यो परियोजना गरिब किसानका लागि ल्याइनेछ ।’ बिजुलीविहीन रहेका गरिब किसानका लागि यो उपयोगी र सहयोगी हुने उनले दाबी गरे । ‘गोरुको बढ्दो हत्याको न्यूनीकरण गर्नका लागि पनि यो सहयोगी हुनेछ,’ बालकृष्णले इकोनोमिक टाइम्सलाई भने । विज्ञहरूका अनुसार गोरुको प्रयोग गरी टर्बाइन घुमाई ठूलो परिणाममा विद्युत् उत्पादन गर्न सकिन्न । तर, केही मात्रामा विद्युत् निकाल्न सकिने उनीहरूले बताउँछन् । पतञ्जली कम्पनीले यो प्रविधिको उपयोग गरी विद्युत् उत्पादन गर्न चाहने किसानलाई कम मूल्य पर्ने टर्बाइन उपलब्ध गराइने जनाएको छ । गोरुबाट विद्युत् निकाल्ने परियोजनाबारे जानकारी कम्पनीले सार्वजनिक गरेपछि धेरैमा ‘कसरी उत्पादन गर्न सकिन्छ’ भन्ने जिज्ञासा व्याप्त छ । गोरुद्वारा टर्बाइन घुमाएर विद्युत् उत्पादन हुने दाबी कम्पनीको छ । पहिले पनि गोरुको प्रयोग तेल पेल्नका लागि भएको जानकारी उसले दिएको छ । किसानले खेत जोत्नका लागि औसतमा ९० दिन गोरुको प्रयोग गर्छन् । त्यसपछि विद्युत् उत्पादनमा प्रयोग गर्न सकिने दाबी पतञ्जलीको छ । 

प्रकाशित : जेष्ठ ९, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?