२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

उखु किसानले भुक्तानी पाएनन्

इटहरी — सुनसरीको बर्जु गाउँपालिकाको इस्र्टन सुगरमिलले उखुको भुक्तानी नदिएर किसानलाई हैरानी दिएको छ । मिलले ४ महिनाअघि उधारोमा लिएको उखुको भुक्तानी लिन किसानले बारम्बार तागेता गर्दासमेत नपाएका हुन् । अझै कहिले पाउने भन्ने निश्चित नहुँदा उनीहरूलाई चिन्ता थपिँदो छ ।

सुनसरीको बर्जु गाउँपालिकाको इस्र्टन सुगरमिलले उखुको भुक्तानी नदिएर किसानलाई हैरानी दिएको छ । मिलले ४ महिनाअघि उधारोमा लिएको उखुको भुक्तानी लिन किसानले बारम्बार तागेता गर्दासमेत नपाएका हुन् ।

अझै कहिले पाउने भन्ने निश्चित नहुँदा उनीहरूलाई चिन्ता थपिँदो छ ।

मिलले उखुबाट उत्पादन गरेको चिनी र मोलासिस दुवै बिक्री गरिसके पनि भुक्तानी नदिएको किसानको गुनासो छ । गढी गाउँपालिका ३ का परमेश्वर मेहतालाई उखु बिक्री गरेको ४ महिना बित्दा पनि मिलले भुक्तानी नदिएको बताए । उनले ५ सय ४५ टन उखु मिललाई ५ सय ३१ रुपैयाँका दरले बिक्री गरेका हुन् । उनले पाउनुपर्ने २ लाख ८९ हजार रुपैयाँ मिलले कहिले दिने निश्चित छैन ।

खेतमा गहुँ छरिसकेका उनले मिलका प्रबन्धकले एक महिनाभित्रमा भुक्तानी दिने भनेपछि उखु लगाएका थिए । उनले भने, ‘मिललाई विश्वास गरेर उखु लगायो, पछि धोका दिन्छ ।’ मिलको व्यवहारले सुनसरी र मोरङका किसानले उखुबाली लगाउन नै छाडेको उनले सुनाए । ‘उखु लगाउँदाको मल बिउ र जनको रकम तिर्न ऋण गरेर रकम ल्याउनुपर्छ,’ उनले दु:खेसो पोखे, ‘तर, मिलले बिनाब्याज चार–चार महिनासम्म भुक्तानी दिँदैन ।’

अर्का किसान अशोक मेहताले पनि भुक्तानी नपाएको गुनासो पोखे । उनले भने, ‘मिलको सहकारीबाट ऋण लिँदा हामीलाई लिएकै दिनदेखि ब्याज लिन्छ तर हाम्रो उखुको करोडौं भुक्तानी भने बिनाब्याज महिनौंसम्म मिलले चलाउँछ ।’ अशोकले माघ महिनामै ४ सय क्विन्टल उखु मिललाई बिक्री गरेका थिए । उनले २ लाख १२ हजार रुपैयाँ भुक्तानी अझै पाएका छैनन् । उनले नयाँ बिरुवालाई गोडमेल, मलखाद र औषधिका लागि पैसा अभाव भए पनि मिलले भुक्तानी नदिएको बताए ।

छिटाहाका किसान रमानन्द मेहेताले आठ सय क्विन्टल उखु मिललाई बिक्री गरे । तर मिलले समयमा नै भुक्तानी दिएन । उनी मिलले भुक्तानी नदिएपछि अर्काे वर्ष फेरि खेतमा उखु लगाउने पक्षमा देखिँदैनन् । मिल व्यवस्थापनको लापरबाहीका कारण किसानले समयमा भुक्तानी नपाउँदा किसानले उखुको साटो गहुँ लगाउन थालेको उनले बताए ।

अमाहिबेल्हाका उखु किसान राम विलास मेहता मिलले किसानसँग गरेको सम्झौता उल्लंघन गरेको बताए । करिब १२ सय किसानको उखुको ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । मिल प्रशासनका प्रमुख ताराचन्द चौधरीले पुरानो र नयाँ गरी ६३ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा क्रमश: मिलले ३३ करोड रुपैयाँ भुक्तानी गरिसकेको र बाँकी रहेको ३० करोड भुक्तानी गर्ने क्रममा रहेको बताए । उनले चिनी र मोलासिस विक्री भइरहेकाले सोही अनुपातमा भुक्तानी गरिने बताए ।

प्रकाशित : जेष्ठ १२, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?