अपर म्याग्दी १ निर्माण हुने

कान्तिपुर संवाददाता

म्याग्दी — धौलागिरि हिमालबाट बग्दै आएको म्याग्दी खोलामा ५३.३ मेगावाटको अपर म्याग्दी १ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विद्युत् उत्पादन गर्ने कम्पनी हिमालयन इन्फ्रास्टिच्युट फन्ड लिमिटेडले ‘रन अफ दि रिभर’ मा आधारित आयोजना भएको जनाइएको छ ।

धौलागिरि गाउँपालिका ३ को मुदी र म्याग्दी खोला दोभानबाट पानीलाई ५.६ किमि लामो टनेलबाट तल मराङखोला छेउमा झारेर विद्युत् उत्पादन हुनेछ । आयोजनाले शनिबार प्रभावित क्षेत्र धौलागिरि गाउँपालिका ३, ४ ६ र ७ र मालिका गापालाई समेट्ने गरी सार्वजनिक सुनुवाइ गरेको छ ।

‘आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनका लागि काम थालेको छ । त्यसैले हामीले पनि आयोजना निर्माणमा अनुकूल हुने गरी संयोजन गरेका छौं,’ धौलागिरि गापा प्रमुख थमसरा पुनले भनिन्, ‘आयोजनाले पनि ऐनकानुन र सक्नेजति स्थानीयका जायज माग सम्बोधन गर्ने र स्थानीयले नाजायज र पटकपटक माग नराख्ने सहमति गरेका छौं ।’

जिल्लाको पश्चिमी भेगको भौगोलिक रूपमा सबैभन्दा ठूलो र दुर्गम धौलागिरि गापामा १० वटा आयोजनाले विद्युत् सर्वे लाइसेन्स लिएका छन् । अपर म्याग्दी र दरखोला आयोजनाले उत्पादन अनुमति पाइसकेका छन् । बाँकीका प्रक्रियामा छन् । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको कामसँगै प्रवेशमार्ग पनि निर्माण गरिरहेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

उद्यमले चिनिएको गाउँ

तरकारी खेतीले फेरिँदै गाउँको मुहार
बाह्रै महिना तरकारी पाइने गाउँ
भवानी भट्ट

कञ्चनपुर — कैलाली र कञ्चनपुरको सीमा छुट्याउने मोहना नदी छेउमै रहेको थारू बस्ती उद्यमले परिचित छ । बस्ती प्रवेश गरेसँगै जताततै हराभरा देख्न सकिन्छ ।

साँझ–बिहानको समयमा सबैजना मिलेर बारीमा काम गरिरहेका देखिन्छन् । ८०/९० परिवार थारू समुदायको बसोबास रहेको शान्तिटोलमा घरैपिच्छे तरकारी खेती गरिएको छ । यहाँका अधिकांश बासिन्दाले १०/१५ कठ्ठादेखि २/३ बिघासम्म तरकारी खेती गरिरहेका छन् । हिउँद होस् या वर्षा यहाँ बाह्रै महिना तरकारी पाइन्छ । जमिन नभएकाहरूले पनि ठेक्कामा लिएर तरकारी खेती गरेका छन् ।

शान्तिटोलकै भागीराम चौधरीको परिवारलाई खान लाउन निकै समस्या थियो । ज्याला मजदुरी गरेरै उनको परिवारको गुजारा जेनतेन चलेको थियो । तर, हाल उनले खान लाउनकै लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यता टरेको छ । अरूको खेतमा काम खोज्दै जाने उनको परिवार हाल अरूलाई रोजगारी दिन सक्ने भएको छ । १०/१२ वर्षदेखि तरकारी खेती सुरु गरेपछि भागीरामको परिवारको अवस्था फेरिएको हो । ‘पहिले खान लाउनसमेत पुग्दैनथ्यो,’ उनले भने, ‘हाल यसैबाट खान लाउन र छोराछोरीको पढाइ खर्चसँगै घर घरेडी पनि जोड्न भ्याइएको छ ।’

तरकारी खेतीमै लागेका रामकिसन चौधरीले तरकारी खेतीले गाउँमा निकै परिवर्तन ल्याएको बताए । चौधरीले भने, ‘तरकारी खेतीबाटै यहाँका धेरैले घरपरिवारको खर्चसँगै घर घरेडी र साना खालका सवारी साधनहरू जोडेका छन् ।’ आयस्तर बढेकै कारण यहाँका कृषकले परमपरागत घरको साटो पक्की घर बनाएका छन् । एक कृषक परिवारले एक सिजनमा ५/७ लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री गरिरहेको उनले बताए ।

शान्तिपुर टोलबाट दैनिक २० क्विन्टल बढी तरकारी बाहिरिने गरेको छ । यहाँबाट कैलालीको अत्तरिया र गेटासँगै कोहलपुर तथा बुटवलसम्म तरकारी बाहिरिने गरेको कृषकहरू बताउँछन् । टमाटर, काउली, करेला, लौका, फर्सी, मूला, बोडी र भिन्डीलगायतका तरकारी यहाँ उत्पादन गरिन्छ । ‘सिजनमा एउटै परिवारले १०/१२ क्विन्टल तरकारी बिक्री गर्छन्,’ अर्का कृषक रतन चौधरीले भने । हाल कृषकहरू बर्खे तरकारी लगाउनमा व्यस्त छन् । यहाँबाट बाह्रै महिना बजारको माग धान्ने गरी तरकारी उत्पादन हुने गर्छ ।

प्रकाशित : जेष्ठ २२, २०७४ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्