कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिँचाइ आयोजना मर्मत हुँदै

अमृता अनमोल

बुटवल — रूपन्देहीको सोह्रो–छत्तिस संयुक्त सिँचाइ प्रणाली आयोजनाको मर्मत हुने भएको छ । समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रमअन्तर्गत ३ वर्षे योजनासहित ४७ करोड ८० लाख ४२ हजार बजेट विनियोजन भएपछि मर्मत प्रक्रिया अघि बढेको हो ।

आयोजनाका मुख्य र सहायक नहर पक्की बन्ने भएका छन् । बाढीले बगाएको बुटवलको तिनाउ नदीस्थित कन्नेढुंगा मुहानमा मर्मत गरी पक्की पर्खाल लगाइँदै छ । विशेष कार्यक्रमअन्तर्गत ३ वर्षे योजनासहित बजेट विनियोजन भएपछि मर्मत प्रक्रिया अघि बढेको हो । सिँचाइ डिभिजन कार्यालय प्रमुख अक्षरगोपाल श्रेष्ठका अनुसार यस वर्ष १ करोड २४ लाख रुपैयाँबाट मुहानको काम गरिने भएको छ ।

आगामी वर्ष प्राथमिकताका आधारमा मुख्य र सहायक नहर पक्की गरिने भएका छन् । योजनाअनुसार कन्नेढुंगामा मात्र १२ करोड रुपैयाँको काम हुने छ । ५ किलोमिटर मूल नहर पक्की हुने भएको छ । यसपछि छत्तिस मौजाको हरैयासम्मको नहर पक्की गरिने भएको छ । उक्त कार्यक्रमअन्तर्गत छत्तीस मौजासहित रूपन्देहीका अन्य ३ मझौला सिँचाइ आयोजनाको मर्मत सम्भार थालिएको छ । त्यसका लागि चालु आर्थिक वर्ष २ करोड ६८ लाख रुपैयाँँ विनियोजन भएको छ । यसबाटै सैनामैना नगरपालिकाको २ सय हेक्टर सिँचाइ हुने इंगुरिया नदी आयोजना मर्मत हुने भएको छ । त्यसमा ७ करोड रुपैयाँ लागतमा मुहान मर्मत गरी पक्की पर्खाल लगाइनेछ । ‘यस वर्ष सुरुआत मात्रै हुन्छ, ठूलो काम भने आगामी वर्ष हुनेछ,’ प्रमुख श्रेष्ठले भने ।

लुम्बिनी क्षेत्रको कोठी सिँचाइ आयोजना मर्मतका लागि पनि योजना अघि बढेको छ । यसबाट जिल्लाको २ सय हेक्टर जमिन सिँचाइ हुन्छ । मानमटेरिया क्षेत्रमा २ सय हेक्टर जमिन क्षेत्र सिँचाइ हुने पूर्वीया सिँचाइ आयोजनासमेत मर्मत थालिएको छ । प्रमुख श्रेष्ठले सिँचाइ आयोजनाले लक्षित क्षेत्रभित्र बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन मर्मत थालिएको बताए । ‘यसले उत्पादन बढाउन र उत्पादन लागत घटाउन सहज हुनेछ,’ उनले भने । खेतीयोग्य जमिन र कृषि उत्पादनका हिसाबले अगाडि रहेको रूपन्देहीका ८७ प्रतिशत किसान आकासेपानीको भरमा खेती गर्न बाध्य छन् ।

पुराना आयोजना जीर्ण बन्दै जाने र नयाँ पूरा नहुने समस्याले खेतीयोग्य जमिन सिँचाइविहीन रहने समस्या छ । कृषि विकास कार्यालय रूपन्देहीका अनुसार खेतीयोग्य ८२ हजार ६ सय २२ हेक्टर जमिनमध्ये जम्मा १० हजार ८ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । यो कुल खेतीयोग्य जमिनको १२.४० प्रतिशत मात्रै हो । सिँचाइ सुविधा नहुँदा थोरै लगानी र बढी फाइदा हुने तरकारी, माछालगायतका नगदेबाली लगाउन धेरै किसानले पाएका छैनन् ।

प्रकाशित : जेष्ठ २२, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?