३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिसो पेयको बजार

कृष्ण आचार्य

जडीबुटीकी नानुमैया कार्कीले घरको फ्रिज गर्मी मौसममा कम्तीमा आधा दर्जन प्रकारका हल्का पेय पदार्थ हुन्छन् ।

चिसो पेयको बजार


पाहुनाको सत्कारका लागि गर्मीमा पेयपदार्थ मुख्य हुन्छ । ‘जुस वा कोक/पेप्सी भने तुरुन्त दिन्छु,’ उनले भनिन्, ‘होइन भने कालो चिया बनाउँछु ।’ तर जाडो मौसममा भने पाहुनालाई स्वागत गर्ने सामग्री चिया बन्छ । तर वर्षको झन्डै ६ महिना उनले चिसो पेय पदार्थमै काम चलाउँछिन् । ‘चिया बनाउनभन्दा यही सजिलो । धेरैले रुचाउने पनि,’ उनले सुनाइन् । खासगरी सहरमा यो संस्कृति एउटा उदाहरण मात्रै हो । प्राय:को घरमा एउटा सानो भए पनि फ्रिज अनिवार्य भइसक्यो । त्यसभित्र चियो पेय पदार्थ त झनै अनिवार्य छ । ग्रामीण भेगमा समेत यही संस्कृति फैलिँदै छ । पेय पदार्थ संस्कृति अमेरिकी कम्पनी कोकाकोलाबाट भित्रिएको हो । अमेरिकन बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ४४ वर्षअघिबाट नेपालमा पेय पदार्थ आयात गर्न थालेको हो । करिब ३६ वर्षदेखि यही उत्पादन गरिरहेको छ । कोकाकोलाको आयातसँगै यसको ‘कल्चर’ नेपालमा थप विस्तार भएको हो । अहिले अर्को बहुराष्ट्रिय कम्पनी पेप्सीले पनि यही उत्पादन गरिरहेको छ । आयातित पेय पदार्थमा पनि प्रशस्त पाइन्छन् बजारमा । ‘अहिले यी सबैलाई भ्याइनभ्याई भइरहेको छ,’ नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ भन्छन्, ‘सानातिना घरेलु उत्पादनले समेत निकै बजार विस्तार गरिसकेको छ ।’ गर्मी मौसम लागेसँगै होलसेलदेखि खुद्रा पसलसम्म आफ्ना उत्पादनका विशेषता बुझाउने प्रतिस्पर्धादेखि उद्योगमा उत्पादनको चाप बढेको हो । पहिलेदेखि नै बजार विस्तार गरिरहेकाहरूलाई खासै समस्या छैन । तर नयाँ क्षेत्रमा बजार विस्तार गर्ने र आफ्ना उत्पादनलाई थप चिनाउने नयाँ उत्पादकहरूलाई भ्याइनभ्याई भएको हो । हल्का पेय पदार्थको व्यापार नगर्ने पसलहरू सायद कमै छन् । नेपाली उद्योग व्यवसायीहरूका अनुसार ठूलो परिमाणमा चियो पेय पदार्थ उत्पादन गर्ने कम्पनीको संख्या दर्जन पुग्न लागिसक्यो । स–सानो परिमाणमा उत्पादन गर्ने घरेलु कम्पनीहरू पनि बढ्दै छन् । तर कोल्ड ड्रिंक्सको मुख्य बजार हिस्सा कोकाकोला र पेप्सीले नै ओगटिरहेको छ । जुस उत्पादनकहरूको आफ्नो छुट्टै बजार छ । बाँकी भारतबाट आयात गरी बजारमा वितरण गर्छन् ।
कोकाकोला र पेप्सीकै स्वादको अनुसरण गर्न खोजेका स्वदेशी उत्पादक नै ४ वटा भइसके । यी उत्पादनले बढी मात्रामा कोकाकोला र पेप्सी नपुग्ने पिछडिएका क्षेत्रलाई आफ्नो बजार क्षेत्र बनाएका छन् । यसबाहेक हल्का पेय पदार्थकै रूपमा रहेको जुस उत्पादन गर्ने कम्पनीहरू बजार पनि फैलिँदो छ । ‘जुस त हिजोआज घरेलु उद्योगको रूपमा निकै विस्तार भइरहेको छ,’ संघका अध्यक्ष श्रेष्ठले भने । तर, आयात भने रोकिएको छैन । व्यवसायीहरूका अनुसार नेपाली बजारको करिब ३० प्रतिशत जुस आयातित हो । बाँकी यहींका उद्योगहरूले माग धानिरहेका छन् । चिसो पेय पदार्थको बजार खासगरी फागुनदेखि असोजसम्म हो । यही मौसममा क्षमताले भ्याएसम्म उत्पादकले उत्पादन बढाउने गरेका छन् । यो काम चैत र वैशाखमा बढी हुन्छ । नेपालमा वार्षिक झन्डै २० करोड लिटर पेय पदार्थ खपत हुन्छ । यसमा बढी बजार हिस्सा बहुराष्ट्रिय कम्पनीले ओगटेका छन् । ‘उत्पादनको झन्डै ६५ प्रतिशत जुस गर्मी मौसममा खपत हुन्छ,’ डाबर नेपालका बजार व्यवस्थापन प्रमुख अभय गोर्खाली भने, ‘कुनै–कुनै उत्पादन जाडो मौसममा समेत बिक्री हुन्छ ।’ डाबर नेपालले उत्पादन थालेको १७ वर्ष भयो । त्यसअघि फ्रुटी जुस उत्पादन हुने गरेको थियो । ‘हामीले सुरुमा रियल जुस मात्रै उत्पादन गर्‍यौं । फरक–फरक स्वादको मागसँगै रियल एक्टिभ र रियल ब्रस्टलगायत उत्पादन १७ थरीका बनाइसकेका छौं,’ उनले भने, ‘गर्मी मौसमका लागि ग्लुकोज पनि उत्पादन छ ।’ ग्लुकोज पनि गर्मीमै बढी बिक्री हुने गरेको उनले बताए । डाबर नेपालले ७५ वटै जिल्लामा आफ्नो बजार क्षेत्र विस्तार गरिसकेको छ । उत्पादन सुरु गरेको केही वर्षमै सबै जिल्लामा बजार विस्तार गरेको उनले बताए ।

बियर
गर्मीमा धेरैको रोजाइ हुन्छ बियर । हल्का पेय पदार्थपछि चिसो पेय पदार्थमा आउने अर्को नाम हो बियर । गर्मीमा बियर संस्कृति बढेसँगै नेपाली बजारमा फरक–फरक स्वादका उत्पादनहरू आइरहेका छन् । आधा दर्जन उद्योगहरू त नेपालमै खुलिसकेका छन् । ‘बियरसहित मदिराको कारोबार गर्ने व्यवसायीको संख्या नै ४५ हजार पुगिसक्यो,’ मदिरा व्यवसायी महासंघका महासचिव विष्णु खड्का भन्छन्, ‘५८ जिल्लामा त हामीले शाखा नै खोलिसक्यौं ।’ उनका अनुसार बियरको माग गर्मी मौसममा अत्यधिक छ । ‘गर्मी मौसममा ४ लाख केस बियर बिक्री हुने गरेको अनुमान गरेका छौं,’ उनले भने । एउटा केसमा १२ बोतल बियर हुन्छ । एक बोतलमा ६ सय ५० एमएल बियर हुन्छ । ‘जाडो मौसममा यसको ठीक ५० प्रतिशत कम अर्थात् दुई लाख केस बियर बिक्री हुने गरेको छ,’ उनले भने, ‘बियर मन पराउनेले जाडो गर्मी भन्दैनन् । बियर संस्कृतिको विकास बढिरहेको छ ।’
 यो संस्कृतिले उद्योग, रोजगार र व्यापारमा समेत योगदान पुर्‍याइरहेको छ । महासंघका अनुसार मदिराको व्यापार गर्ने व्यवसायबाट तीन लाखभन्दा बढीले रोजगारी पाएका छन् । आधा दर्जन उद्योग स्वदेशी छन् । ‘बियरको माग यहींका उद्योगले धानिरहेका छन्,’ महासचिव खड्काले भने, ‘आयातित बियर पनि छ । तर करिब १० प्रतिशत बजार रहेको अनुमान गरेका छौं ।’ 
सबै बियर कम्पनीहरूले सबै जिल्लालाई आफ्नो बजार क्षेत्र बनाएका छन् । स्वाद, अल्कोहलको मात्रालाई समेत फरक पारी प्रतिस्पर्धा गर्ने गरेका छन् । खासगरी स्ट्रङ र सफ्ट बियर उत्पादन गर्ने गरेका हुन् । गोर्खा ब्रुअरीका धेरै उत्पादन बजारमा छन् । चौधरी ग्रुपको नेपाल आइस अर्को उत्पादन हो ।  टेन्सवर्ग अर्को बजारमा स्थापित हुदै गइरहेको ब्रान्ड हो । यस्तै दुवै बियर लिएर यती बु्रअरीसमेत आएको छ । गत चैतबाट अर्ना र स्ट्रङ बियर बजारमा ल्याइएको ब्रान्ड म्यानेजर अनिशचन्द्र गौतमले बताए । ‘१०/२० वर्षअघिसम्म जाडो मौसममा बियरको खपत हुँदैनथियो,’ उनले भने, ‘तर अहिले परिस्थिति परिवर्तन भएको छ । जाडोमा समेत जान्छ । गर्मीमा बढी जाने हो ।’ यो संस्कृतिसँगै कोकाकोला, पेप्सी, जुस, बियरलगायत बिक्री गर्ने पसलहरू निकै बढिरहेका छन् । यी दुवै उत्पादनको पसल एकआपसमा अन्तरसम्बन्धित हुन्छ । यही कारोबार बढेसँगै ५२ सालबाट पेय पदार्थ तथा चुरोट उद्योग संघको स्थापना भएको हो । मदिरातर्फ मदिरा महासंघ नै खुलिसकेको छ ।

प्रकाशित : जेष्ठ २६, २०७४ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?