अर्बपतिलाई मनपर्ने पुस्तक

दिनेश यादव

काठमाडौं — परिश्रमले मात्रै व्यक्ति सफल हुँदा हुन् त केही व्यक्ति जीवनभर मिहिनेत गर्छन, सफल हुन्नन् । धनाढ्य बन्ने कुरो त झनै टाढाको भइहाल्यो । परिश्रमसँगै सानासाना उपाय अपनाएरै केही मानिस थोरै समयमा धनाढ्य भने बनेका छन् ।

ती उपायहरूमध्ये पुस्तक पढ्नु पनि एक हो । सीपका विकासमा पुस्तकहरू सहयोगी हुन सक्छन् । विश्वका अर्बपतिहरूले समेत आफ्नो व्यापार र उद्यमशिलतामा सफलता प्राप्त गर्न पुस्तकहरू पढ्ने गरेका छन् । बिल गेट्स र वारेन बफेटजस्ता अर्बपतिको त पुस्तकसँग लगावै छ । धनाढ्यहरू जतिसुकै व्यस्त भए पनि पुस्तक पढ्न भने छाडदैनन् । यी त्यस्ता पुस्तकहरू हुन्, जुन एकपटक पढिसकेपछि पनि उनीहरू फेरि फेरि पनि पढ्ने गर्छन् । किनभने हरेकपटक तिनले पुस्तकहरूबाट केही नयाँ कुरा सिक्ने गरेका हुन्छन् । 

बिल गेट्सलाई नचिन्ने मानिस सायदै भेटिएला । हाल उनी विश्वकै सबैभन्दा ठूला अर्बपति हुन् । ‘फोब्र्स’ को यो वर्षको अर्बपति सूचीमा उनी पहिलो स्थानमा छन् । ६१ वर्षीय उनी हावार्ड विश्वविद्यालयबाट ‘ड्रप आउट’ भएका थिए । सानो छँदा उनी किताब पढ्नमा धेरै समय खर्चिन्थे । यो बानी थाहा पाएरै उनका बुबाले डिनर टेबलमा नयाँ–नयाँ पुस्तकहरू राखिदिने गर्थे । पुस्तक पाएपछि गेट्स हुरुक्कै हुन्थे । हाई स्कुलमा उनले आफ्ना साथी पउल अलेनको पावर प्लान्टबारेको प्रोग्रामिङमा सहयोगीको भूमिका निर्वाह गर्ने अवसर पाएका थिए । 

उनीसँग जोडिएको अर्को रोचक कुरो के छ भने जब उनी कतै घुम्न निस्कन्छन्, आफूसँग अन्य वस्तुहरूको तुलनामा पुस्तकलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्छन् । पुस्तकका लागि उनीसँगै छुट्टै ब्याग हुने गर्छ । उनी ‘बिजनेस एडभेन्चर्स’ पुस्तकको चर्चा गर्दै भन्छन्, ‘यो व्यापारसँग जोडिएका ती बेस्ट बुक्समध्येको हो, जो म आज पनि पढ्ने गर्छु । जोन बुरक्स आज पनि मलाई मन पराउने बिजनेस लेखकमध्येका एक हुन् ।’ 

बिल गेट्सलाई मन पर्ने पुस्तकमा लेखक थोमास पिकेट्टीको ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्च्युरी’ पनि हो । उनले यो पुस्तक विश्वमा बढ्दो असमानता जस्तो समस्यासँग जुध्न मार्गचित्र बनाउन सहयोग पुग्ने बताउँछन् । विश्वव्यापी रूपमा यसबारे बहस चलाउनसमेत यो पुस्तक कारगर रहेको उनको भनाइ छ । त्यस्तै नीति निर्माणमा समेत पिकेट्टीको पुस्तक सहयोगी हुन सक्ने बिलको धारणा छ । बिल गेट्स १३ वर्षको छँदै जेडी स्यालिङको पुस्तक ‘द क्याचर इन द राई’ पढेका थिए । यो पुस्तकबारे उनी भन्छन्, ‘दोधारमा रहेका युवाहरूलाई त्यसबाट उन्मुक्ति दिलाउने गरी तथ्यहरू पुस्तकमा छन् ।’ यसैगरी ‘ग्रामी सिम्सियनका ‘द रोसी इफेक्ट’ उनलाई औधी मन पर्ने पुस्तक हो । उनले यो पुस्तकलाई मानिसहरूसँगको सम्बन्ध बढाउन र सही समयमा सही लगानी गर्ने ऊर्जाको सञ्चारमा सहयोगी भनेर प्रतिक्रिया दिएका छन् । विलेको ‘मेकिङ द मोर्डन वल्र्ड’ पुस्तकले उनलाई विश्वलाई राम्रो बनाउने उपायहरूको जानकारी दिएको एक अन्तर्वार्तामा उनले बताएका छन् । पुस्तकमा सिलिकन, काठ, प्लास्टिक र सिमेन्टमा प्रयोग हुने सामग्रीहरूका बारेमा जानकारी समेटिएका छन ।

पुस्तकमा औधी रुचि राख्नेमा वारेन बफेट पनि हुन् । आफ्नो व्यापार र लगानीमा सधैं सफल हुने उद्यमीमा पर्छन्, उनी । ८६ वर्षीया उनी बर्कसाएर हाथावेजका सीईओ हुन् । उनलाई सबैभन्दा बढी मनपर्ने पुस्तक बेन्जामिन ग्राहमको ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ हो । सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको उनी आफैं बताउँछन् । भन्छन्, ‘पहिलोपटक लगानीकर्तालाई यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् ।’ यो पुस्तकलाई बुझ्न कठिन भए ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिने सुझाव उनको छ । पुस्तकका लेखक ग्राहम र बफेटका बारेमा एउटा रोचक कुरो के छ भने कोलम्बियामा विद्यार्थी छँदा ग्राहम उनका शिक्षक थिए । ग्राहमको इन्भेस्टमेन्ट क्सासेसमा बफेट मात्रै ‘ए प्लस’ ल्याउने विद्यार्थी थिए । 

एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो पुस्तक म पटकपटक पढ्न रुचाउँछु । यसबाट मैले लगानी गर्ने धेरै उपायहरू सिकेको छु, यसको फाइदा मेरो पोर्टफोलियोमा समेत हेर्न सकिन्छ ।’ उनका अनुसार लगानीबाट प्रतिफल पाउनका लागि धेरै पढ्नुपर्छ । भन्छन्, ‘यो पुस्तक मेरा लागि भाग्य बनाउने ज्यावल पो बनेछ ।’ यसैगरी बफेटलाई मन पर्ने अर्को पुस्तक हो, बेन्जामिन ग्राहम र ड्याभिड एल डुडको पुस्तक ‘सेक्युरिटी एनालिसिस’ । उनी बेन्जामिनका चेला छँदै यो पुस्तक कलेजमा पढेका थिए । व्यापारमा लगानी गर्ने अनेकौं टुल्स यसमा रहेकाले धेरैका लागि उपयोगी हुन सक्ने उनले भनेका छन् । उनले भनेका छन्, ‘हुन त यो पुस्तकमा पठनीय सामग्रीहरू धेरै समेटिएकाले बुझ्न र ती सबै पढ्न समय लाग्न सक्छ । भर्खरै लगानीमा हात हालेकाहरूलाई यो पुस्तकको ‘समरी गाइड’ पढ्न म सल्लाह दिन्छु ।’ पुस्तक ‘सेक्युरिटी एनालिसिस’ अल–टाइम बेस्ट सेलरमध्येको एक हो । लगानीकर्तालाई सफल हुन महत्त्वपूर्ण सीपहरू सिकाउने भएकाले सबैलाई यो पुस्तक पढ्न पटकपटक सल्लाह दिने गर्छन् । बफेटको अर्को मन पराउने पुस्तकमध्ये डेल कारनेगीको ‘हाउ टु विन फ्राइन्ड्स एन्ड इन्फ्युएन्स पिपल’ पनि हो । उनी आफ्नो कार्यालयको भित्तामा कलेजबाट प्राप्त भएका प्रमाणपत्रहरू झुन्डयाउँदैनन्, डेल कारनेजी कोर्स गर्दा पाएको सर्टिफिकेट र लेखकका महत्त्वपूर्ण भनाइहरू बालमा टाँसेका छन् । बफेटले यसबारे भनेका छन्, ‘डेल कारनेगीको लेखन र कोर्सले मेरो जीवनमै परिवर्तन ल्याइदियो ।’ बफेटलाई लेखक फिलिप ए फिसरको ‘कमन स्टक्स एन्ड अनकमन प्रोफिट’ पनि मन पर्ने पुस्तकमध्येको एक हो । उनी यो पुस्तकबाट निकै प्रभावित छन् । भन्छन्, ‘म ८५ प्रतिशत ग्राहम र १५ प्रतिशत फिसर हुँ । मैले आफ्नो जीवनमा यी दुई लेखकका पुस्तकबाट धेरै कुरो सिकेको छु । यसमा उद्यमीका लागि आवश्यक पर्ने अधिकांश टुल्सहरू रहेको मैले पाएको छु । ती टुल्सहरू उपयोग गरेरै म सफल पनि भएको हुँ ।’
 (एजेन्सीहरू) 

प्रकाशित : असार १७, २०७४ ०९:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

च्याउ

च्याउ स्वादिष्ठ, स्वास्थ्यका लागि फाइदाजनक शाकाहारी खाद्य पदार्थ हो । आयुर्वेदिक मतआनुसार अनादिकालदेखि मानिसले च्याउलाई औषधि र खानाको रूपमा उपयोग गर्दै आएका छन् । च्याउको समग्र भोजनको रूपमा विशिष्ट पहिचान छ ।

च्याउ उपयोगी, गुणकारी एवं पोषक भोज्य पदार्थ हो । यसमा प्रोटिन, खनिज एवं लवण प्रचुर मात्रामा पाइन्छ ।

प्राय: जनावरको मासुबाट पाइने प्रोटिनको तुलनामा सब्जीबाट पाइने प्रोटिन निम्न श्रेणीको हुन्छ भन्ने मान्यता छ । तर च्याउमा जनावरको मासुमा पाइने जस्तै राम्रो गुणस्तरको प्रोटिन हुन्छ । यसमा प्रोटिनबाहेक भिटामिन ‘सी’ एवं ‘बी’ कम्प्लेक्स, विशेषत: थाइमिन एवं राइबोफ्लेबिनसमेत पाइन्छ । सब्जीमा नपाइने फोलिक एसिड एवं भिटामिन ‘बी १२’ समेत च्याउमा प्रशस्त मात्रामा पाइन्छ ।
यसमा बोसोको मात्रा कम पाइन्छ अर्थात् एर्गोस्टाराल हुन्छ, जुन मानव शरीरमा पुगेर भिटामिन ‘डी’ मा परिवर्तित हुन्छ ।

च्याउमा क्याल्सियम, फोस्फोरस, पोटेसियम, सोडियम लगायतका थुप्रै किसिमका लवण पाइन्छ । च्याउमा तामा पनि पाइन्छ, जसले पाचनशक्तिमा वृद्घि गर्नुका साथै हाइपर एसिडिटी (उच्च ग्यास) तथा कब्जियत हटाउँछ ।

उच्च रक्तचाप एवं हाइपर टेन्सनका रोगीलाई च्याउ खान भनिन्छ ।

प्रकाशित : असार १७, २०७४ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT