२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेप्से २२ अंकले घट्यो

काठमाडौं — आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २२ अंकले घटेको छ । सेयर दलालहरूको आन्दोलनका कारण बिहीबार कारोबार हुन नपाएको बजार आइतबार खुलेदेखि नै परिसूचक ओरालो लागेको थियो ।

मध्याह्नपछि घट्ने दर केही थामिए पनि कारोबार बन्द हुँदा २१.९९ अंकले घटेर बन्द भयो । यो घटाइले समग्र नेप्से परिसूचक १ हजार ५ सय ४१.८२ विन्दुमा झारेको छ । पछिल्ला केही सातायता आइतबार एकै दिन नेप्से २० अंकभन्दा बढीले घटेको हो । होटल र ‘अन्य’ समूहबाहेक कारोबारमा आएका सबै समूहको परिसूचक घट्यो । 

सेयर कारोबारमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएपछि आइतबार बजार प्रत्यक्ष प्रभावित भएको हो । यसअघि लगानीकर्ताले सेयर कारोबारमा भ्याट तिर्नुपर्दैनथ्यो । अब भने सेयर कारोबारमा पनि भ्याट लाग्ने भएको छ । यो लगानीकर्ताले तिर्ने कर हो । आन्तरिक राजस्व कार्यालयले सेयर दलालहरूलाई भ्याट भुक्तानीका लागि पत्र काटेपछि बिहीबार बजार ठप्प भएको थियो । त्यसपछि अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र दलालहरूबीच भएको छुट्टाछुट्टै वार्ता सहमतिमा टुंगिएपछि आइतबार बजार सुचारु भएको हो । अब निश्चित समयपछि दलालहरूले सेयर कारोबारमा पनि भ्याट लगाउन थाल्नेछन् । यसैकारण लगानीकर्ताको मनोबल खस्किएकाले आइतबार बजार घटेको विश्लेषकहरू बताउँछन् ।

होटल समूहको परिसूचक ०.०१ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.३८ प्रतिशतले बढे । उक्त दिन बिमा समूहको परिसूचक १.५८, वित्त कम्पनीको ०.८७, बैंकिङको १.६४, जलविद्युत्को १.३१, उत्पादन तथा प्रशोधन समूहको ०.८७ र विकास बैंक १.५७ प्रतिशत घटे । 

प्रकाशित : असार १९, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?