कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा जीएसटी, वीरगन्ज नाकामा प्रभाव परेन

शंकर आचार्य

पर्सा — भारतमा लागू गरिएको वस्तु तथा सेवा कर (जीएसटी) मुलुकको मुख्य नाका वीरगन्जमा असर परेको छैन । भन्सार कार्यालयका अनुसार शुक्रबार मध्यरातदेखि लागू गरिएको यो करको शनिबार वीरगन्ज नाकामा असर पर्ने अनुमान गरिएको भए पनि त्यसो भएन ।

अन्य दिनको तुलनामा शनिबार मालबाहक सवारी साधनको आगमन केही कम भए पनि राजस्व असुलीमा प्रभाव नपरेको कार्यालयका निमित्त प्रमुख अमित तिवारीलले बताए । यो भन्सारले सामान्यतया प्रत्येक शनिबार सरदर १५/२० करोड रुपैयाँ राजस्व संकलन गर्दै आएकामा यो शनिबार पनि १५ करोड रुपैयाँ राजस्व संकलन गरेको उनले बताए । भारतीय आयल कर्पोरेसनले नेपालतर्फ आउने इन्धनका गाडी शनिबार दिनभरिजसो रोकेकामा साँझ ६ बजे छाडेको थियो । आईओसीले कुनै कानुनी कागजातको प्रतीक्षामा यसो गरेकामा त्यो आएपछि साँझ डिजेल र पेट्रोल बोकेका डेढ दर्जन ट्यांकर छोडेको उनले बताए । इन्धन आयातबाटै शनिबार ८ करोड रुपैयाँ राजस्व संकलन भएको उनले बताए । नयाँ गाडी कम आयात भए पनि अन्य दैनिक उपभोग्य वस्तु तथा औद्योगिक कच्चा पदार्थहरू सामान्य झंै आयात भएकाले अन्य शनिबार झैं राजस्व संकलन भएको उनले बताए । असार महिनामा शनिबारसम्ममा यो भन्सार कार्यालयले ४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ । जुन मासिक लक्ष्यको ५२.४४ प्रतिशत हो ।

भारतीय भन्सारले जीएसटी कार्यान्वयन गर्न अनलाइन प्रणालीबाट बिलिङमा जोड दिएको छ । भारतीय निकासीकर्ताले नेपालमा मालवस्तु निकासी गर्दा जुन दरमा उद्योग, सप्लायरले बिल उनीहरूलाई जारी गर्छ, त्यत्ति नै दरको बिलबिजक उनीहरूले भारतीय भन्सारमा पेस गर्नुपर्छ । यसो गर्दा मात्र अन्त:शुल्क र मूल्य अभिवृद्धि कर उनीहरूले फिर्ता पाउँछन् । भारतबाट नेपालतर्फ नयाँ गाडी, सेरामिक वस्तु, बाथरुमका सामानहरू, मदिरा, जुस आदि निकासी गर्दा निकासीकर्ताले भारत सरकारबाट यी कर फिर्ताको सुविधा पाउँदै आएका छन् । ‘यसरी बिलबिजक दुरुस्त भएमा स्वच्छ व्यापारले प्रोत्साहन पाउँछ,’ तिवारीले भने, ‘जीएसटी लागू भएपछि नेपालबाट भारततर्फ नेपाली मालवस्तु निकासीमा पनि कुनै समस्या भएको छैन ।’

भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले भारतको जीएसटी सम्बन्धमा नेपाली आयातनिर्यातकर्ता अलमलमै रहे पनि त्यति सारो आत्तिनुपर्ने अवस्था भने आफूले नदेखेको बताए । भारतबाट आउने मालवस्तुमा भारतीय भन्सारले गाडा र ठेलागाडाको हकमा केही कडाइ नगरे पनि शनिबार मालबाहक ट्रकको हकमा भने केही निगरानी/कडाइ गरेको आफूले जानकारी पाएको बताए । ‘यो भारतको आन्तरिक विषय हो, त्यसले हामीलाई असर पर्ने पनि होइन,’ उनले भने । यता सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पनि जीएसटीको असर नदेखिएको भन्सार स्रोतको दाबी छ । कार्यालका भन्सार अधिकृत गणेश पौडलले शनिबार बिदाको दिन परे पनि कार्यालयले २ करोड १८ लाख रुपैयाँ राजस्व संकलन गरेको बताए ।

ट्रक अलपत्र

महोत्तरी (कास)– भारतमा नयाँ कर व्यवस्था लागू भएपछि यहाँको आयात व्यापार शनिबारदेखि ठप्प छ । भिट्ठामोडस्थित भारतीय कस्टमले भन्सार ‘क्लियरेन्स’ नगर्दा नेपालका लागि उपभोग्य सामग्री बोकेर आएका तीन दर्जन बढी मालवाहक ट्रक पारिपट्टि नै अलपत्र छन् । भारतको बरौनीबाट पेट्रोलियम पदार्थ बोकेर महेन्द्रनगर डिपो जान लागेका नेपाल आयल निगमका १८ ट्यांकर आइतबार बिहानदेखि कस्टम क्लियरेन्सको पर्खाइमा छन् । टयांकर चालक रमेश यादवका अनुसार उनीहरूलाई त्यहाँ पानी र खानाको समेत समस्या छ । त्यसैगरी भारतका विभिन्न सहरबाट आलु, प्याज, मसलालायतका उपभोग्य वस्तु बोकेर आएका १७ भारतीय ट्रक चालकको अवस्था पनि उस्तै छ । आयात व्यापार ठप्प भएपछि जलेश्वर भन्सारको कर असुलीसमेत प्रभावित भएको छ । ‘शनिबारदेखि राजस्व उठेको छैन,’ प्रमुख भन्सार अधिकृत केशव भण्डरीले भने । भारत सरकारले जुलाई १ तारिखदेखि लागू गरेको जीएसटी (वस्तु एवं सेवा कर) प्रति भारतीय व्यापारी नै अलमल देखिन्छन् ।

प्रकाशित : असार १९, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?