तरकारीबाट आत्मनिर्भर बन्दै

तेह्रथुम — लालीगुराँस नगरपालिका ४ फुलेकका किसान लिलम सुवेदीले ३ वटा प्लास्टिक टनेलमा टमाटर खेती गर्दै आएका छन् । प्लास्टिक घरभित्र टमाटर, बैगुन, खुर्सानी, भिन्डीलगायतका बेमौसमी तयारी खेती गरेर उनले वार्षिक १ लाख २० हजार रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् ।

तरकारीबाट आत्मनिर्भर बन्दै

उनले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउनु पर्दैन । बारीबाटै बजारकै मूल्यमा बिक्री हुने गरेको उनले बताए । तरकारी खेतीबाट भएको आम्दानीले सुवेदीका ६ जना परिवारको पालनपोषण र पढाइलेखाइ राम्ररी चलेको छ । सोही वडाकी यामकुमारी सुवदीले घरसँगै जोडिएको २ रोपनी क्षेत्रफल जमिनमा अकबरे खुर्सानी खेती गरेर वर्षमा एक लाख रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेकी छन् । खुर्सानी बिक्रीबाट हुने आम्दानीबाट उनले पनि ६ जनाको परिवारका लागि घर खर्च चलाइरहेकी छन् । सोही वडाको चित्रे गाउँका पोस्टराज रायमाझीले पनि झन्डै १५ रोपनी जग्गामा व्यावसायिक रूपमा बन्दा, काउली र मूला खेती गरेका छन् ।

उनले व्यावसायिक तरकारी खेती सुरु गरेको एक दशक बढी समय हुन लागेको छ । तरकारी खेतीबाट उनले वार्षिक ७ देखि १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनीहरू मात्र होइन, यहाँका हरेक घरका किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यो गाउँबाट मात्र वार्षिक १२ करोड रुपैयाँ बढीको ताजा तरकारी पूर्वी तराईका बजारतर्फ निर्यात हुने गरेको छ ।

व्यावसायिक तरकारी खेतीबाटै फुलेकका किसान आत्मनिर्भर बन्दै गएका छन् । तरकारी खेतीबाट यहाँका प्रत्येक किसानले ३ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म घरमा भित्र्याउँदै आएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २५, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?