१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

क्लिन फिड लागू गर्न बहानाबाजी नगर : मिडिया सोसाइटी

काठमाडौं — नेपाल सरकारले निर्णय गरिसकेको क्लिन फिडसम्बन्धी नीति कुनै पनि बहानाबाजी नगरी लागू गर्न सम्बन्धित निकायलाई नेपाल मिडिया सोसाइटीले आग्रह गरेको छ ।

सोसाइटीले सोमबार एक विज्ञप्ति जारी गरी नेपाली बजारलाई लक्षित गरेर प्रसारण भएका विदेशी च्यानलहरू क्लिन फिड हुनुपर्ने आफूहरूको सीधा र सरल मान्यता भएको जनाएको छ । ‘क्लिन फिड लागू हुनुपर्ने हाम्रो मान्यता कसैका विरुद्ध लक्षित नभएर नेपालका सबै व्यवसायी, नेपाल सरकार र जनताका पक्षमा हो,’ सोसाइटीका महासचिव शुभशंकर कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रसारक, सेवा प्रदायक तथा वितरकहरूका आ–आफना सीमा र दायित्वहरू रहेकोतर्फ हामी सधैं सजग रहनुपर्छ ।’

सोसाइटीले वितरक संस्थाहरूले सरकारसँगको माग वा विरोधको नाममा नेपाली टेलिभिजन च्यानलहरूलाई लक्षित गरी गरिने प्रचारबाजीलाई दु:खद भएको भनी टिप्पणी गरेको छ । ‘यस प्रकारका क्रियाकलाप तत्काल सच्याउन सम्बन्धित पक्षसँग विनम्र अनुरोध गर्दछौं ।’ प्रचारकहरूसँग अभिन्न रूपले वितरकहरू जोडिएको र प्रसारक तथा वितरकका समस्या साझा हुन् भन्ने मान्यताप्रति मिडिया सोसाइटी दृढ रहेको समेत जनाइएको छ । ‘ऐन, नियम वा सरकारी विभेदकारी रवैयाका विरुद्धको लडाइँमा हामी सदाझैं सहकार्य गर्न चाहन्छौं,’ विज्ञप्तिमा छ ।

गत आर्थिक वर्षमा सरकारले एक वर्षको समय अवधि तोकेर विदेशी च्यानलहरूमा क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो । ‘नेपालजस्तो भूपरिवेष्ठित र दुई भीमकाय छिमेकीहरूका बीचमा रहेको देशको सार्वभौमसत्ता र सांस्कृतिक पहिचानमाथिको अतिक्रमणमा विदेशी मिडियाको ठूलो भूमिका रहेको स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यका हिसाबले सबैभन्दा ठूलो सरोकार यस्तै विषयमा हुनुपर्दछ । व्यावसायिक र व्यापारिक हिसाबले नेपाली बजारलाई लक्षित गरिएका सबै मिडिया र व्यापारिक क्रियाकलाप नेपाली भूमिमै हुनुपर्छ भन्नेबाहेक नेपाल मिडिया सोसाइटीको अर्को कुनै स्वार्थ र उद्देश्य छैन ।’

प्रकाशित : असार २७, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?