कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निर्यात रोकिएपछि थन्कियो अदुवा

प्रताप विष्ट

हेटौंडा — भारत निर्यात रोकिएपछि मकवानपुरमा करिब साढे २ सय टन अदुवा दुई सातादेखि गोदाममा थन्किएको छ । यसले किसान र व्यापारी मर्कामा परेका छन् ।

निर्यात रोकिएपछि थन्कियो अदुवा

निर्यात नभएकाले गोदाममा अदुवा कुहिन थालेको छ । किसानले भने बिक्रीका लागि बोरामा राखेको अदुवासमेत कुहिएको छ । ‘दुई सातादेखि अदुवा भारत निर्यात रोकिएकाले व्यापारी र कृषकहरू दुवै मारमा परेका छन्,’ अदुवा उत्पादक तथा व्यवसायी संघ केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला अध्यक्ष गोपाल गौतम भने । जिल्लामा वार्षिक करिब ५ देखि ७ हजार टन अदुवा उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादन भएका मध्ये ५ प्रतिशत मात्र अदुवा स्वदेशमा खपत हुन्छ । ९५ प्रतिशत भारत निकासी हुने गर्छ ।

‘विविध कारण देखाएर भारतले असारको दोस्रो सातादेखि अदुवा निर्यातमा रोक लगाएकाले अदुवा उत्पादक कृषक र व्यापारी मारमा परेका छन्,’ जिल्ला कृषि कार्यालय प्रमुख निर्मल गदालले भने, ‘भारतमा आउने चीनका अदुवामा विषादी भेटिएको भन्दै नेपाली अदुवा पनि भारत निकासीमा रोक लगाइएको चर्चा छ ।’ सरकारले अदुवालाई निकासीजन्य कृषि बालीमा पहिलो नम्बरमा राखे पनि निर्यातका लागि सकारात्मक भूमिका निर्वाह गरेको छैन । अदुवाको उत्पादनको सिजनमा किसानले बिक्री वितरण गर्नसमेत पाएका छैनन् ।

भारतमा पनि अदुवा विगतका वर्षहरूभन्दा बढी उत्पादन भएको छ । आफ्नो देशको उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले भारत सरकारले विभिन्न बहाना बनाएर नेपालबाट अदुवा निर्यातमा रोक लगाउने गरेको छ । अदुवा उत्पादनको हिसाबले मकवानपुर देशमै पाँचौं र गुणस्तरको हिसाबले पहिलो नम्बरमा रहेको छ । अहिले किसानहरूलाई अदुवा भण्डारण गर्ने ठाउँको अभावले समस्या भएको छ । नेपाली बजारमा मूल्य निर्धारण दिल्लीले गर्ने गरेको केन्द्रीय सदस्य गौतमले बताए । अदुवा भारत निकासी नभएर हेटौंडा १० का व्यापारी बद्री साहको गोदाममा ३० टनभन्दा बढी अदुवा थन्किएको छ । ‘२ टनभन्दा बढी अदुवा कुहिसक्यो,’ साहले भने । असारको पहिलो सातासम्म अदुवा प्रतिकेजी ४० रुपैयाँमा व्यापारीहरूले कृषकसँग खरिद गर्थे । अहिले २० रुपैयाँ प्रतिकेजीमा पनि व्यापारीले अदुवा खरिद गर्दैनन् । मकवानपुरको नामटार, सुकौरा, बुढीचौर, गढी, आमभञ्ज्याङ, मनहरी, पदमपोखरी, हटिया, हर्नामाडी, चुरियामाई, शिखरपुर, ठिंगन र बेतिनी अदुवा उत्पादन हुने मुख्य स्थानहरू हुन् । मकवानपुरमा करिब तीन हजार घर परिवारले अदुवा खेती गर्छन् । अदुवाको उत्पादन राम्रो भए पनि बजार भाउले गर्दा अदुवा उत्पादक कृषकहरू समस्यामा परेका छन् ।


प्रकाशित : असार ३०, २०७४ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?