१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्लिनफिड स्थगित

काठमाडौं — साउन एकदेखि लागू हुने भनिएको क्लिनफिडलाई सरकारले एकाएक स्थगित गरेको छ । बिहीबार गोरखापत्रमा सूचना जारी गरेको सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार स्थगित गरेको सूचना आफ्नो वेबसाइटमा राखेको छ ।

‘यस मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरूको प्रसारण मिति २०७४ श्रावण १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने भनी मिति २०७४।३।२९ गतेको गोरखापत्रमा सूचना प्रकाशित भएकोमा मन्त्रालयबाट नीतिमा उल्लिखित कतिपय कार्यहरू सम्पादन गर्न बाँकी रहेकाले तत्कालका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ । 

क्लिन फिड भनेको विदेशी च्यानलमा विज्ञापन बजाउन नपाउने वा विज्ञापन नभएका च्यानल मात्रै प्रसारण गर्न दिने नीति हो । बिहीबारको सूचनामा भने मन्त्रालयले जसरी पनि लागू गर्ने प्रतिबद्धता जनाएको थियो । ‘यस मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरूको प्रसारण मिति २०७४ साउन १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने व्यवस्था विज्ञापनरहित नीति, २०७३ मा गरिएकाले नेपालमा कार्यक्रम प्रसारण गर्न चाहने विदेशी प्रसारण संस्था, सिग्नल वितरक संस्था र कार्यक्रम वितरक संस्थाहरूले सो नीतिअनुरूप विज्ञापनरहित प्रसारण गर्न यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयद्वारा बिहीबार जारी गरिएको सूचनामा भनिएको थियो । यसको स्वदेशी केवल सञ्चालक र भारतका वितरकले विरोध गरिरहेका थिए ।

स्वदेशी केवल सञ्चालकले त नेपाल टेलिभिजनबाहेक अन्य च्यानल बन्द गर्ने धम्की नै दिएका थिए । विश्वका प्राय: सबै मुलुकमा विज्ञापनसहितको विदेशी च्यानल प्रसारण गर्न नपाइने व्यवस्था छ । नेपालमा भने भारतीय च्यानलको दबदबा छ । यसका अगाडि सरकार टिक्न नसकेको मन्त्रालय स्रोतले बतायो ।

 

प्रकाशित : श्रावण १, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?