भन्सारको असुली लक्ष्यभन्दा बढी

पर्सा — वीरगन्ज र सिर्सिया सुख्खा बन्दरगाह भन्सारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका छन् । वीरगन्जले लक्ष्य भन्दा ०.९३ प्रतिशत र सुख्खा बन्दरगाहले २.६० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

वीरगन्जले कुल १ खर्ब ८ अर्ब १० करोड ७७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो भन्सारलाई १ खर्ब ७ अर्ब ११ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य भन्सार विभागले तोकेको थियो । सुख्खा बन्दरगाह भन्सारले २१ अर्ब ५८ करोड ८५ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले यो भन्सारलाई २१ अर्ब ४ करोड ८ लाख ८२ रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकेको थियो । दुवै भन्सारले गरी करीब १ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । यसरी दुवै भन्सारले गरी मुलुकको कुल भन्सार राजस्वको आधाभन्दा बढी राजस्व संकलन गरेको वीरगन्ज भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

‘यस वर्ष दुवै भन्सारले राजस्व असुली लक्ष्य भेटाउनुका साथै मुलुककै कुल भन्सार राजस्वको आधाभन्दा बढी राजस्व वीरगन्जबाट संकलन हुने गरेको कुरा प्रमाणित पनि गरेका छन्,’ उनले भने, ‘राजस्व असुली आधारमा मुलुकका समग्र भन्सार कार्यालयमध्ये वीरगन्ज पहिलो र सुख्खा बन्दरगाह भन्सार चौथो नम्बरमा छन् ।’

दोस्रो नम्बरमा रहेको भैरहवा भन्सारले ६२ अर्ब ३२ करोड र तेस्रो नम्बरमा रहेको विराटनगर भन्सार कार्यालयले २४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । भैरहवाले लक्ष्य भेटे पनि विराटनगरले सकेन । अघिल्लो आर्थिक वर्षमा बन्द हडतालका कारण वीरगन्जले राजस्व असुली लक्ष्य भेटाउन सकेको थिएन ।

बन्द हडताल क्रममा वीरगन्ज नाका करिब ४ महिना ठप्प थियो । सुख्खा बन्दरगाह नाका सञ्चालनमा थियो ।

प्रकाशित : श्रावण २, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?