बजाजले ल्यायो सानो कार

कान्तिपुर संवाददाता

काठमाडौं — भारतको मोटरसाइकल निर्माता कम्पनी बजाजले सानो कार बजारमा ल्याएको छ । कार नभनेर चारपांग्रे सवारी साधन भनिएको यसलाई धेरैले यसलाई मोटरसाइकलकै परिष्कृत रूप पनि भन्ने गरेका छन् । यसको इन्जिन क्षमताले पनि त्यही देखाउँछ । बजाजको वेबसाइटका अनुसार यसको इन्जिनको क्षमता २ सय १६ सीसी मात्रै छ ।


तर, यसमा पावर स्टेरियरिङ, पावर विन्डोको सुविधा छ । चार पांग्रा छन् । अगाडि दुई र पछाडि दुई जाना बस्न सक्ने भएकाले यो नानो कारको प्रतिस्पर्धी भनेर पनि भारतीय सञ्चार माध्यमले जनाउने गरेका छन् । यसको इन्जिन पछाडि राखिएको र तौल पनि कम छ । बजाजका अनुसार यसको तौल ४ सय ५० किलो मात्रै छ । ‘यो बजारमा उपलब्ध अन्य साना कारभन्दा ३७ प्रतिशत कम तौल भएको गाडी हो,’ बजाजको वेबसाइटमा उल्लेख छ । गाडीमा अगाडिपट्टि (धेरैजसो गाडीको इन्जिन हुने ठाउँ) लाई सामान राख्ने स्थानका रूपमा बनाइएको छ । यसलाई बजाज क्युट नाम दिइएको छ । सानो क्षमताको इन्जिन भए पनि कारका रूपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ । यसलाई सीएनजी वा एलपीजीबाट चलाउन सकिने उल्लेख छ । यसको बजार मूल्य भारतमा कम्तीमा १ लाख ३२ हजार रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित : श्रावण २, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

बेखबर प्रतिद्वन्द्वी

आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्र
विनोद पाण्डे

काठमाडौं — नेपाल र सिंगापुर परिचित प्रतिद्वन्द्वी हुन् । एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने प्रतियोगितामा यी दुई टोली धेरै आमनेसामने भएका छन् । सिंगापुरमा सोमबार सुरु हुने यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आपसमा भिड्नु अगाडि यी दुवै टोली एक–अर्काबारे बेखबर छन् ।

मलेसिया र अफगानिस्तान प्रतियोगिताका अरू दुई टोली हुन् । डबल राउन्ड रोबिन लिगमा हुने खेलको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर यस प्रतियोगितामा आएका हुन् । त्यसमा मलेसिया विजेता र सिंगापुर उपविजेता भएका थिए ।
नेपाल र अफगानिस्तानलाई सीधै विश्वकप छनोट खेल्न दिइएको हो । डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । त्यही आधारमा नेपाल र अफगानिस्तानलाई सोझै छनोटमा प्रतिस्पर्धा गर्न दिइएको थियो । गत महिना अफगानिस्तानले आयरल्यान्डसँगै टेस्ट मान्यता पाएपछि खेल्न लागेको यो पहिलो आधिकारिक प्रतियोगिता हो ।
‘हामीलाई सिंगापुरका बारेमा खासै थाहा छैन, त्यही भएर हामी उनीहरूसँग ढुक्क हुन सक्दैनौं,’ नेपालका प्रशिक्षक विनोद दासले भने । उनकै कप्तानीमा नेपाल सन् १९९९ मा सिंगापुरमै एसीसी यू–१९ एसिया कपमा दोस्रो भएर पहिलोपटक विश्वकपमा छानिएको थियो । नेपालले यू–१९ स्तरमा सिंगापुरसँगको सबै खेल जित्दै आएको छ । २००९ यता नेपाल र सिंगापुर यू–१९ मा पहिलोपटक खेल्न लागेका हुन् । पछिल्लोपटक कुवेतमा भेट हुँदा ज्ञानेन्द्र मल्लको अर्धशतक मदतमा नेपालले सिंगापुरमाथि ३ विकेटको जित हात पारेको थियो ।
सिंगापुरको राष्ट्रिय टोली २०१० को एसीसी ट्रफीबाट रेलिगेसनमा परेको थियो । त्यसपछि सिंगापुरले एसीसीका प्रमुख प्रतियोगिता खेल्ने मौका गुमाउँदा नेपालसँगको भेट पातलिएको थियो । नेपालले प्रमुख प्रतियोगितामा प्रतिस्पर्धा गर्दा सिंगापुर एसीसीमा दोस्रो दर्जाको मानिएको च्याम्पियनसिप खेल्न बाध्य थियो ।
गत वर्ष डिसेम्बरमा श्रीलंकामा भएको एसीसी यू–१९ एसिया कप सिंगापुरले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यसमा सिंगापुर पाकिस्तानसँग ७९, बंगलादेशससँग ७० र अफगानिस्तानसँग ७३ रनमा अलआउट भई क्रमश: ९, ७ र ९ विकेटको पराजय भोगेको थियो । नेपाल भने दीपेन्द्रसिंह ऐरीको ९० रनका बावजुद २ सय २८ रनको लक्ष्य लिएर आएको श्रीलंकासँग १ रनले पराजित भएको थियो । त्यसपछि भारतसँग ६ विकेटले पराजित भएको नेपालले मलेसियामाथि १ विकेटको जित हात पारेको थियो ।
श्रीलंकामा यू–१९ एसिया कप खेलेका १५ मध्ये १० नेपाली खेलाडी सिंगापुरमा प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–१९ बाट खेल्न लागेका कप्तान सन्दीप सुनारसहित दीपेन्द्र, आसिफ शेखले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । गत वर्ष एभरेस्ट प्रिमियर लिगमा शतक प्रहार गरी चर्चामा आएका आसिफले त्यसयता खासै प्रभाव पार्न सकेका छैनन् । भारत भ्रमणमा पनि उनको ब्याटबाट खासै रन निस्किएको थिएन । उनको ओपनिङ ब्याटिङ जोडी सन्दीप सुनार राम्रो फर्ममा छन् ।
प्रतियोगिताको तयारीका लागि नेपालले भारतमा तीन साता प्रशिक्षण गरेको थियो र पाँच अभ्यास खेल खेलेको थियो । ‘हामी पूरा तयार छौं,’ सिंगापुरसँगको पहिलो खेल खेल्नुअगाडि नेपाली प्रशिक्षक दासले भने, ‘हामीले आफ्नो योजनालाई मैदानमा उतारेर सामान्य हिसाबमा खेल्नुपर्छ ।’ सोमबार सिंगापुरसँग खेलेको भोलिपल्ट नेपालले मलेसियासँग खेल्नेछ । जुलाई २० मा अफगानिस्तानसँग खेल्ने नेपालले २१ मा फेरि सिंगापुरसँग खेल्नेछ । जुलाई २४ मा मलेसियासँग खेलेपछि नेपालले २५ मा अफगानिस्तानसँग आफ्नो अन्तिम खेल खेल्नेछ ।

प्रकाशित : श्रावण २, २०७४ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्