२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

व्यापार घाटा ८ खर्ब नाघ्यो

रेमिट्यान्स ६ खर्ब ३३ अर्ब मात्रै
यज्ञ बञ्जाडे

काठमाडौं — चालु आर्थिक वर्षको एघार महिनामै मुलुकको व्यापार घाटा सवा ८ खर्ब रुपैयाँ पुगेको छ । सुरुका महिनादेखि नै आयात उच्च दरले बढेपछि यो वर्ष वार्षिक व्यापार घाटा ८ खर्ब नाघ्ने आकलनहरू गरिएका थिए ।

तर, एघार महिनामै व्यापार घाटा ८ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसका आधारमा वार्षिक व्यापार घाटा झन्डै ९ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । ०७३ जेठको तुलनामा चालु आवको सोही अवधिको व्यापार घाटा ३३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो १.६ प्रतिशतले बढेको थियो । निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि व्यापार घाटा चुलिएको हो । 

गत जेठसम्म निर्यात करिब १० प्रतिशतको वृद्धिसहित ६८ अर्ब ६२ करोड रुपैयाँ भएको छ । उक्त अवधिमा ८ खर्ब ९६ अर्ब ५७ करोड रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको तुलनामा जेठसम्म आयात ३०.९ प्रतिशतले बढेको राष्ट्र बैंकद्वारा मंगलबार सार्वजनिक जेठ महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ । 

चालु आर्थिक वर्षको ११ महिनासम्म रेमिट्यान्समार्फत ६ खर्ब ३३ अर्ब ४२ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिमा तुलनामा यो ५.८ प्रतिशत बढी हो । ०७३ जेठसम्ममा यस्तो वृद्धिदर ८.६ प्रतिशत थियो । एघार महिनासम्म मुलुक भित्रिएको रेमिट्यान्स रकम उक्त अवधिको कुल व्यापार घाटाभन्दा झन्डै २ खर्ब रुपैयाँले कम हो । रकमका आधारमा रेमिट्यान्स आप्रवाह बढेको देखिए पनि पछिल्ला महिनाहरूमा यसको वृद्धिदर घट्दो क्रममा छ । यही समयमा विदेशी मुद्राका आम्दानीका अन्य स्रोतहरू पर्यटन, निर्यातलगायतमा अपेक्षित सुधार हुन नसक्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब परेको राष्ट्र बैंकले जनाएको छ । यसैकारण दुईबाहेक बाँकी सबै महिनामा चालु खाता ऋणात्मक छ । 

अघिल्लो वर्षको एघार महिनामा १ खर्ब ३० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको चालु खाता गत जेठसम्म १ अर्ब ७२ करोड रुपैयाँले घाटामा छ । यसको प्रत्यक्ष असर शोधनान्तर स्थितिमा पनि देखिएको छ । अघिल्लो वर्षको एघार महिनासम्ममा १ खर्ब ७१ अर्ब १५ करोडले बचतमा रहेको शोधनान्तर जेठसम्म ७४ अर्ब २६ करोड रुपैयाँले मात्र बचतमा छ ।

तर, रोजगारीका लागि विदेसिनेको संख्यामा आएको कमीअनुसार रेमिट्यान्स आप्रवाह नघटेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले असन्तुलित वित्तीय क्षेत्र सन्तुलनमा आउने राष्ट्र बैंकले दाबी गरेको छ । ‘विदेश जाने कामदारको संख्यामा कमी आए पनि विप्रेषण आप्रवाह सुदृढ अवस्थामा रहेको र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भइरहेकाले पनि वित्तीय अवस्था सहज हुँदै जाने देखिएको छ,’ राष्ट्र बैंकले भनेको छ । 

यो वर्ष बजार मूल्य वृद्धिमा भने नाटकीय ढंगले सुधार देखिएको छ । एकातिर बजारमा उपभोक्ताले सस्तोमा वस्तु खरिद गर्न पाएका छैनन् तर राष्ट्र बैंकको तथ्यांकले भने खाद्य पदार्थको मूल्य वृद्धि १ प्रतिशतले ऋणात्मक रहेको जनाएको छ । त्यसमध्ये जेठमा तरकारी र दलहन गेडागुडीहरूको मूल्य क्रमश: १६.३ र १७.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । 

०७४ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि २.८ प्रतिशत छ । ०७३ जेठमा यस्तो मूल्य वृद्धि ११.१ प्रतिशत थियो । गत वर्षको उच्च आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारका कारणले यो वर्ष मूल्य वृद्धिमा सुधार भएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति ५.८ प्रतिशत छ । ०७३ जेठसम्म यो समूहको मूल्य वृद्धिदर साढे १० प्रतिशत थियो । ‘यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्यलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य वस्तुहरूको मूल्य वृद्धि कम रहन गएको हो,’ राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित : श्रावण ४, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?