२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

२७ प्रतिशतले बढ्यो राजस्व

लक्ष्यभन्दा ४६ अर्ब बढी संकलन

काठमाडौं — सरकारको राजस्व संकलन यस वर्ष पनि उत्साहजनक देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७३/७४ मा २७ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार पत्रकार सम्मेलन गरी लक्ष्यको १ सय ८ प्रतिशत राजस्व संकलन भएको जानकारी दिए । ‘आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ११ अर्ब ७६ करोड ७८ लाख ९६ हजार संकलन भएको प्रारम्भिक तथ्यांकबाट देखिएको छ । 

५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख संकलन गर्ने लक्ष्य राखिएको थियो,’ कार्कीले भने, ‘आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दा संकलनको संशोधित अनुमानअनुसार ५ खर्ब ८० अर्ब ९८ करोड ८६ लाख ३५ हजार संकलन हुने अनुमान गरिएको थियो । 

संकलन भएको लक्ष्यको तुलनामा १ सय ८ र संशोधित अनुमानको तुलनामा १ सय ५ प्रतिशत हो ।’ आर्थिक वर्ष २०७३/७४ मा संकलन भएको वृद्धि उत्साहजन भएको उनले बताए । 

संकलितमध्ये कर ५ खर्ब ५३ अर्ब ९० करोड ७० लाख ६८ हजार अर्थात् संकलित कुलको ९०.५४ प्रतिशत छ । यो रकम लक्ष्यको तुलनामा १ सय ८ र गत वर्षको तुलनामा ३१.५४ प्रतिशतले बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी गैरकर आर्थिक वर्ष २०७३/७४ मा ५७ अर्ब ८६ करोड ८ लाख संकलन भएको छ । गैरकर लक्ष्यको तुलनामा १ सय ४.६२ प्रतिशत हो । 

संकलित कर मा मूल्य अभिवृद्धि कर (भ्याट) बाट १ खर्ब ६१ अर्ब १२ करोड ७६ लाख १४ हजार अर्थात् २६.३३ प्रतिशत, आयकरबाट १ खर्ब ५१ अर्ब ३६ करोड ३० लाख २५ हजार अर्थात् २४.७४ प्रतिशत, भन्सार महसुलबाट १ खर्ब १२ अर्ब २२ करोड ३८ लाख ०२ हजार अर्थात् १८.३४ प्रतिशत र अन्त:शुल्कबाट ८४ अर्ब २३ करोड १४ लाख ८० हजार अर्थात् १२.८ प्रतिशत संकलन भएको अर्थमन्त्री कार्कीले जानकारी दिए ।

‘उपयुक्त शीर्षकहरूमा संकलन भएको कर अघिल्लो आर्थिक वर्षका तुलनामा क्रमश: ३१.६३ प्रतिशत, २८.९२, ३६.५९ र २८.५१ प्रतिशतले बढी भएको जानकारीसमेत गराउन चाहन्छु,’ कार्कीले भने, ‘गैरकरतर्फ सवारी साधन करबाट ८ अर्ब ८० करोड ८३ लाख ३५ हजार अर्थात् १.४४, घरजग्गा रजिस्ट्रेसनबाट १८ अर्ब २० करोड ८० लाख ९८ हजार अर्थात् २.९७ र अन्य करबाट १६ अर्ब ०३ करोड ३३ लाख ३५ हजार अर्थात् २.६२ प्रतिशत संकलन भएको छ ।’ 

आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा बढी संकलन हुनुले नेपालको कराधारको विस्तार र कर प्रणाली सुढृद हुँदै गएको संकेत गरेको उनले बताए । ‘विगत केही वर्षदेखि करका दरहरूमा ठूलो संरचनागत परिवर्तन गरिएको छैन । सम्बन्धित नीतिहरूमा पनि ठूलो परिवर्तन गरिएको छैन,’ उनले भने, ‘करको दायरा विस्तार, कर परिपालनाको स्तर अभिवृद्धि, प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास र विस्तार, चुहावट नियन्त्रण र प्रशासकीय सुधार गरी संकलनको लक्ष्य हासिल गरिएको छ ।’ आव २०६८/६९ देखि २०७३/७४ सम्म को वार्षिक वृद्धिदर औसत २१.२१ प्रतिशत कायम भएको उनले बताए ।

‘आर्थिक वर्ष २०७३/७४ मा नयाँ करदाता विस्तार, ६.९५ को आर्थिक वृद्धिले सिर्जना गरेको अनुकूल आर्थिक गतिविधि, पुनर्निर्माणका क्रियाकलापमा भएको लगानी विस्तार, भन्सार विन्दुहरूमा सुरुवात गरिएको नयाँ प्रणाली, कर अनुसन्धान तथा परीक्षणको प्रभाव, लगानीयोग्य अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप तथा बन्द हडतालरहित वातावरण, प्रशासनको विस्तारित व्यावसायिक क्षमताजस्ता कारणले संकलन लक्ष्यभन्दा बढी रहेको अवगत गराउन चाहन्छु,’ उनले भने । यस आर्थिक वर्ष भने ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख संकलन गर्ने लक्ष्य राखिएको छ । यो लक्ष्य अघिल्लो आर्थिक वर्षको तुलनामा २९ प्रतिशत र संकलन भइसकेको रकमको तुलनामा १९.३५ प्रतिशतले बढी रहेको अर्थमन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित : श्रावण ४, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?