१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

म्याद गुज्रिएका खाद्य छ्यापछ्याप्ती

मोहन बुढाऐर

डडेलधुरा — यहाँका स्थानीय बजारमा म्याद गुज्रिएका र गुणस्तहीन खाद्य वस्तुको बिक्री बढेको छ । वर्षादको समयमा यातायात नपुग्ने समस्याले भण्डारणमा रहेका म्याद सकिएका, सडे–गलेका र गुणस्तरहीन वस्तुको बिक्री भइरहेको छ ।

ग्रामीण भेगका बजारहरूमा अनुगमन नहुने भएकाले पनि यसरी अखाद्य वस्तुको बिक्री हुने गरेको हो । ‘म्याद सकिने बेलामा थोक विक्रेता तथा व्यापारीहरूले अनुगमन नहुने थाहा पाएरै गाउँघरका स्थानीय बजारतिर पठाउने गरेका हुन्,’ भागेश्वर सिराडका स्थानीय शिक्षक दुर्गादत्त पन्तले भने, ‘उपभोक्ताहरूले म्याद भएको/नभएको भनेर चेकजाँच गरी किनेर लैजाने बानी छैन । चेतना अभावकै कारण गाउाघरमा जताततै अखाद्य अवस्थाका वस्तुहरू बिक्री हुने गरेको हो ।’ 

त्यस्तै, अजयमेरुका देवदत्त पनेरूले गाउँघरका स्थानीय बजारमा ६० प्रतिशतभन्दा बढी वस्तु गुणस्तरहीन र म्याद सकिएको पाइने गरेको बताए । उनले धेरैजसो ड्राई फुड, चाउचाउ, बिस्कुट, पेय पदार्थहरूको म्याद गुज्रिएको भेटिने गरेको बताए । उनका अनुसार चामलसमेत कुहिएको र सडेको पाइन्छ । वर्षादको समय पहाडमा खाद्य संकट हुने गर्छ । ‘आर्थिक विपन्नताका कारण सस्तो चामल खोज्ने तर सस्तो भनेको गुणस्तरहीन कुहिएको मात्रै पाइने गरेको छ,’ उनले भने, ‘अनुगमन गर्ने निकाय मौन भएर पनि यो समस्या देखिएको हो ।’ 

वर्षादको समयमा गाडीबाट ढुवानी गर्न नसकिने ठाउँमा ३/४ महिनादेखि भण्डार गरिएका वस्तुको म्याद सकिने, गुणस्तर खस्कने र खराब हुने गरेका छन् । गोदाम घरसमेत अव्यवस्थित र अवैज्ञानिक हुँदा राम्रा वस्तुसमेत खराब हुने गरेको छ । घाटा व्यापारबाट बच्न व्यापारीले खराब भएको वस्तुलाई समेत बेच्ने गरेका छन् । मुख्यत: जिल्लाको रूपाल, देवलदिव्यपुर, चिपुर, भागेश्वर, बेलापुर, मणिपुर, गणेशपुर, असीग्राम, नवदुर्गा, गाङखेत र आलितालका स्थानीय बजारमा अखाद्य, गुणस्तरहीन र म्याद गुज्रिएका वस्तुहरू बढी बिक्री हुने गरेका छन् । 

डडेल्धुराका धर्मराज बोहराले जिल्ला सदरमुकामका समेत ड्राई फुड, पेय पदार्थलगायतका वस्तु म्याद गुज्रिए पनि बेचिने गरेको बताए । उनले २० देखि ३० प्रतिशत मात्रामा ड्राई फुड र पेय पदार्थको यस्तै भेटिने गरेको बताए । त्यस्तै, चामल, पिठोलगायतका वस्तुहरूसमेत म्याद गुज्रिएको पाइने गरेको बताए । होटलमा सरसफाइको अभावसँगै ग्राहकले खाना र नास्तासमेत बासी पाइने गरेको उनले बताए । 

उनका अनुसार सदरमुकाममा समेत बजार अनुगमन हुँदैन । ‘सदरमुकामको मुख्य बजार क्षेत्रमा वर्षमा एक/दुईपटक झारा टार्नकै लागि अनुगमन टोली आउँछ,’ उनले भने, ‘पैसा उठाएर जान्छ ।’ उनका अनुसार गोदाम घर तथा पसलमा अखाद्य, गुणस्तरहीन र म्याद गुज्रिएका वस्तु फेला पारेपछि कारबाहीको डर देखाएर पैसा असुल्न अनुगमन टोली कारबाही नै नगरी फर्कने बोहोराले आरोप लगाए । डडेल्धुरामा बजार अनुमगन गर्न धनगढीबाट खाद्य गुणस्तरको कार्यालयको टोली वर्षमा दुईपटकसम्म आउने गरेको छ । 

प्रकाशित : श्रावण २२, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?