धादिङको दुग्धजन्य उत्पादन चीन निर्यात

हरिहरसिंह राठौर

सोमदाङ (धादिङ) — धादिङको उत्तरी क्षेत्रमा उत्पादित दुग्धजन्य वस्तु चिनियाँ बजारमा निर्यात हुने गरेको छ । यहाँका किसानले उत्पादन गरेका चौंरीको घिउ, दूध र चिज छिमेकी देशको केरुङमा पैठारी हुने गरेका हो ।

तिप्लिङ, सेर्तुङ र लापाका स्थानीयले चौरीपालन गरी घिउ, दूध र चिज बनाउने गरेका छन् । उनीहरूले दूधबाट विभिन्न परिकार बनाई चीन पठाउने गरेका हुन् । यसबाट स्थानीयस्तरमा रोजगारी दिएको र आर्थिक रूपमा सबल बनाएको छ । त्यहाँका किसानहरूले खर्कमा डेरी उद्योग सञ्चालन गर्दा राम्रो मूल्यमा दूध बिक्री हुन थालेपछि उनीहरूको आकर्षण बढेको बताउँछन् ।

स्थानीय आइतीमाया तमाङले भनिन्, ‘डेरी उद्योग खुलेपछि चौरीपालक किसानालाई राम्रो फाइदा हुन थालेको छ ।’ उद्योग सञ्चालक किसानले मासिक ३ देखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको उनीहरूको भनाइ छ ।

तिप्लिङका युवा दिनेश घलेले ३५ चौंरी पालेका छन् । उनले चौरी पालेर दुग्धजन्य उत्पादन रसुवाबाट चीनको व्यापारिक केन्द्र केरुङ पठाउने गरेको सुनाए । उनले मासिक ५० देखि ८० हजार रुपैयाँ कमाउने गरेका छन् । तिप्लिङमा चौरीको दूधबाट बनाइएका छुर्पी, घिउ र चिज नेपाली ठेकेदारले चीन निर्यात गर्दै आएका छन् ।

जिल्लाका उत्तरी भेकमा चौंरीपालन पेसाप्रति आकर्षण बढाउन र आर्थिक उपार्जन गर्न चरन खर्कको विकास कार्यक्रम लागू गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयअन्तर्गत पशु आहार विकास कार्यक्रमले तिप्लिङका चौंरी गोठालालाई गोठको सुधार, चरन र खर्क विकाससँगै चौंरीबाट लिन सकिने आम्दानीका स्रोतबारे तालिम प्रदान गरेको छ । जिल्लामा करिब ५४ चौंरी गोठमा ३ सय चौंरीहरू रहेका छन् ।

प्रकाशित : श्रावण २५, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?