कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिचयपत्र अनिवार्य हुँदा ग्राहकलाई सास्ती

यज्ञ बञ्जाडे

काठमाडौं — छिटो काम सकेर घर फर्किने योजनासहित अनुजा सापकोटा बुधबार साढे १० बजे नै नयाँ बानेश्वरस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा पुगिन् । साथीको खातामा १० हजार रुपैयाँ जम्मा गर्न उनी त्यहाँ गएकी थिइन् । बैंकमा ग्राहकको लामो लाइन थियो ।

करिब एक घण्टा लाइन बसेपछि सापकोटाको पालो त आयो तर उनले बचत गर्न नपाएको सुनाइन् । राष्ट्र बैंकको नयाँ नियम भन्दै बैंकले उनीसँग परिचयपत्र माग्यो तर उनले परिचयपत्र बोकेकी थिइनन् । यसकारण उनको पैसा जम्मा गर्न बैंकले मानेन । 

लगनखेलस्थित एक निजी कलेजमा अध्यापन गर्ने राजकुमार पन्तले उपचारका लागि श्रीमती र छोरालाई सामाखुसीस्थित ग्रान्डी अस्पतालमा पठाए । उपचारको क्रममा उनीहरूले साथमा बोकेको पैसा अपुग भयो । पन्तले अस्पतालमा थप पैसा चाहिएको सूचना पाए । हतारहतार नजिकै रहेको एभरेस्ट बैंक पुगेर ५ हजार रुपैयाँ खातामा जम्मा गर्न लागे तर नपाएको उनको पनि गुनासो छ । उनले कुनै परिचयपत्र बोकेका थिएनन् । बैंकमा पैसा जम्मा नभएपछि उनकी श्रीमतीले बाँकी उपचार थाती राखेर घर फर्किन् । 

चाँदबाग स्कुलमा अध्ययनरत छोराको स्कुल शुल्क तिर्न कमला रिमाल बिहीबार महाराजगन्जस्थित नबिल बैंकमा पुगिन् । उनले साढे १८ हजार रुपैयाँ छोराको विद्यालयको शुल्क तिर्नुपर्ने थियो । तर, परिचयपत्र नबोकेकै कारण उनले पैसा जम्मा गर्न पाइनन् । यसैगरी बानेश्वरस्थित एक बैंकमा पैसा जम्मा गर्न पुगेकी शारदा थापा बैंकले परिचयपत्रको फोटोकपी मागेपछि करिब आधा घण्टा टाढा पुगेर फोटोकपी गरिन् । काठमाडौंकै एक निजी पुस्तक पसलमा काम गर्ने दाङ स्थायी घर भएकी थापाले तीज खर्चका लागि आफ्ना बुवाको खातामा ५ हजार रुपैयाँ बचत गर्न बैंक गएकी थिइन् । 

पाँच हजार जम्मा गर्नकै लागि उनले झन्डै आधा दिन खर्चिनुपर्‍यो । 

यी त उदाहरण मात्र हुन् । राष्ट्र बैंकले यही साउन १ गतेदेखि लागू गरेको नयाँ व्यवस्थाअनुसार अरूको खातामा पैसा बचत गर्दा जम्मा गर्ने मान्छेको पनि परिचय खुल्ने कागजात चाहिन्छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था’ राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको थियो । उक्त व्यवस्थाले आफूहरूलाई निकै सास्ती पुगेको ग्राहकहरूको गुनासो छ । 

नयाँ व्यवस्था राम्रो भए पनि सबै प्रकारका बचतमा (सानो रकम संकलन गर्दा पनि) परिचयपत्र चाहिने व्यवस्था व्यावहारिक नभएको एक ग्राहक पन्तले बताए । उनले भने, ‘व्यवस्था राम्रो होला तर सबै प्रकारको बचतमा नभई निश्चित सीमाभन्दा बढीमा मात्र यस्तो नियम हुनुपथ्र्यो ।’ 

राष्ट्र बैंकले परिपत्रमार्फत परिचयपत्र अनिवार्य गरेको हो । ‘ग्राहकबाहेक अन्य कुनै व्यक्तिले ग्राहकको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिको परिचय हुन सक्ने विवरण तथा कागजात लिनुका साथै नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्नेछ,’ करिब एक महिनाअघि राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । यो निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले सबै निक्षेपमा ग्राहकबाहेकका व्यक्तिको परिचयपत्र माग्न थालेका छन् । बैंक तथा वित्तीय संस्थामा थोरै रकम जम्मा गर्ने निक्षेपकर्ता धेरै हुने भएकाले यो व्यवस्थाले उनीहरू बढी प्रभावित भएका हुन् । यो व्यवस्थाले बैंकमा आउने ससानो निक्षेप पनि निरुत्साहित हुने विज्ञहरू बताउँछन् । सरकारी तथ्यांकलाई आधार मान्दा पनि करिब ४० प्रतिशत मानिसले मात्र बैंकिङ सुविधा लिइरहेको अवस्थामा उक्त व्यवस्था व्यावहारिक नभएको उनीहरूको भनाइ छ । 

अरूको खातामा पैसा जम्मा गर्दा परिचयपत्र चाहिने व्यवस्थाले ग्राहकलाई सास्ती पाएको गुनासोका आधारमा १ लाख रुपैयाँभन्दा माथिको बचतमा मात्र परिचयपत्र चाहिने व्यवस्था गर्न अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । करिब १५ दिनअघि अर्थ मन्त्रालयले उक्त निर्देशन दिएको हो । तर, निर्देशन अझै कार्यान्वयनमा आएको छैन । ‘परिचयपत्रका लागि निक्षेपको सीमा तोक्ने विषयमा छलफल भए पनि अन्तिम निर्णय भइसकेको छैन,’ राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने । 

नयाँ व्यवस्थाले ग्राहकलाई केही अप्ठ्यारो पारे पनि भष्टाचार र आर्थिक विकृति नियन्त्रणका लागि राम्रो भएको बैंकर्स संघका अध्यक्ष अनीलकेशरी शाहले बताए । ‘बचत गर्न आउने व्यक्तिले आफ्नो परिचय खुल्ने जुनसुकै परिचयपत्र देखाए पनि हुन्छ,’ उनले भने, ‘अहिलेको समयमा कसैसँग परिचयपत्र नहुने भन्ने हुँदैन ।’ यसकारण यो व्यवस्थालाई अप्ठ्यारोका रूपमा लिन नहुने उनको आग्रह छ । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?