१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पाखो जमिनमा केरा खेती

कान्तिपुर संवाददाता

हेटौंडा — पाखो जमिनमा केरा खेतीबाट गढी गाउँपालिका ३ की सरस्वती अधिकारीले राम्रो आम्दानी गर्न सफल भएकी छन । भिरालो जमिनमा अन्य बाली लगाउन समस्या हुने भएपछि कृषि विकास कार्यालयका प्राविधिकको सल्लाहमा उनले केरा लगाएकी हुन् ।

१५ कठ्ठामा केरा खेती गरेकी छन् । 

अहिले बारीमा केरा पसाएका छन् । केही बिक्री पनि गरिसकिन् । करिब ५ सयभन्दा बढी केराको घारी छ । केराको पकेट क्षेत्र रहेको गढी गाउँपालिकामा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ । यहाँ ५० भन्दा बढी कृषकले व्यावसायिक रूपमा लगाएका छन् । गत वर्षमा सरस्वतीले केरा बिक्री गरेर मात्र ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएकी थिइन् । ‘व्यापारी गाउँमै केरा लिन आउँछन्,’ सरस्वतीले भनिन्, ‘बजारको समस्या छैन ।’ बर्सेनि केराको काटछाँट परिवारका सदस्यले नै गर्छन् । ‘हावाहुरी र गबारो कीरा मुख्य समस्या हो,’ उनले भनिन्, ‘रोग लागेन र हावाहुरी आएन भने केरा खेतीबाट राम्रै आम्दानी हुन्छ ।’ उनले स्थानीय जातको रानी केरा लगाएकी हुन् । 

सरस्वतीले उत्पादन गरेको प्रतिकेराघरी २ सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेकी छन् । ‘केरा खेती बहुवर्षीय भएकाले लागत कममा धेरै आम्दानी गर्न सकिने खेती हो,’ कृषि विकास कार्यालय मकवानपुरका प्रमुख निर्मल गदालले भने, ‘मकवानपुर गढी क्षेत्र केरा खेतीको निम्ति उपयुक्त क्षेत्र हो ।’ 

प्रकाशित : श्रावण २९, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?