युरियाको माग धान्नै गाह्रो

कान्तिपुर संवाददाता

पर्सा — कृषि सामग्री कम्पनीलाई युरिया मलको आपूर्ति गर्न हम्मेहम्मे परेको छ । कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जले साउन लागेयता युरिया मलको माग अत्यधिक बढेकाले आपूर्ति गर्न हम्मे परेको जनाएको हो ।

कार्यालय प्रमुख अजयकुमार श्रीवास्तवका अनुसार कम्पनीले ग्लोबल टेन्डरबाट मगाएको युरिया मल आए लगत्तै परिचालन गर्दा पनि माग धान्न गार्‍हो भएको बताए । साउन लागेयता सिंगापुरको विल्सन इन्टरनेसनल कम्पनीले ल्याएको ६ हजार ५ सय टन मल यहाँस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आएको र उक्त मल कम्पनी वीरगन्ज कार्यालयका गोदामहरूमा आएलगत्तै परिचालन गरिए पनि माग अत्यधिक भएकाले आपूर्ति र परिचालनको सन्तुलन मिलाउनै अप्ठेरो भएको उनले बताए ।

कार्यालयले उक्त मलमध्ये ५ हजार ९ सय १५ दशमलव १ टन मल परिचालनसमेत गरिसकेको छ । मल खोज्दै बिहीबार पर्साकै विभिन्न सहकारी सञ्चालकहरू आए पनि आफूले फिर्ता पठाउनुपरेको उनले बताए ।

विल्सन कम्पनीले ल्याउने १२ हजार ५ सय टन युरिया मलमध्ये बाँकी मल हाल पनि कोलकाता बन्दरगाहदेखि सिर्सिया बन्दरगाहको बीचमा बाटोमा विभिन्न स्थानमा रहेकाले आइतबारसम्म त्यसमध्ये केही मल आउने सम्भावना रहेको छ ।

धनुषा, बारा, रौतहट, सर्लाही, चितवन, मकवानपुर आदि जिल्लाहरूबाट युरिया मलको माग बढी आएको श्रीवास्तव बताउँछन् । पछिल्लो केही वर्षयता किसानले धान खेती मात्र नभई माछा, केरा आदि खेतीमा पनि युरिया मलको प्रयोग गर्न थालेका छन् । माछापालन र केरा खेती बर्सेनि बढ्दो छ ।

प्रकाशित : श्रावण २९, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?