कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५४ वर्षमा ३१ मकैका जात सिफारिस

विमल खतिवडा

रामपुर (चितवन) — राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम सुरु भएको ५४ वर्षमा ३१ वटा मकैको जात सिफारिस गरिएको छ । तीमध्ये ६ वटा जातलाई सूचीबाटै हटाइसकिएको छ । मकालु २, जानकी मकै, सर्लाही सेतो, हेटौंडा कम्पोजिट, ककनी पहेंलो र रामपुर पहेंलोलाई सूचीबाट हटाइएको हो ।

यी जातका मकै चलनचल्तीमा छैनन् । १०/१२ वर्षसम्म एउटै जातको मकै लगाउँदा उत्पादनमा कमी आउने भएपछि किसान नयाँ जातमा आकर्षित हुने गरेका छन् । केही किसानले भने अहिले पनि पुरानै जातका मकै लगाउँदै आएका छन् । 

 ‘किसानले नयाँ जात पाएपछि पुरानो जात छाडदै जान्छन, त्यसको लोकप्रियता कम हुँदै जान्छ,’ मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कँुवरले भने, ‘त्यही भएर उनीहरूको रोजाइ नयाँ जात बन्ने गर्छ ।’ उनले एउटा मकैको जात अनुसन्धान गरी अन्तिम रूप दिन ८/१० वर्ष लाग्ने बताए । 

रामपुर कम्पोजिट, मनकामना ३, अरुण २, देउतीलगायत जातका मकै अझै किसानले लगाउँदै आएका छन् । रामपुर कम्पोजिट खानाका लागि स्वादिलो, दानाको रंग चम्किलो र भण्डारण क्षमता राम्रो भएकाले किसानको रोजाइमा अहिलेसम्म पर्न सफल भएको कुँवरले बताए । ‘यो मकै ०३६ सालमा सिफारिस गरिएको हो,’ उनले भने,‘ अहिले पनि किसानमाझ लोकप्रिय छ, लगाउने किसान धेरै छन् ।’ उनका अनुसार थप ५ वटा जात सिफारिसको तयारी गरिएको छ । 

नेपालभर मकैको जात सिफारिस गरेर किसानलाई सहयोग पुर्‍याउने काम रामपुरबाट मात्र हुन्छ । ‘नेपालभर मकैको जात सिफारिस गर्ने यही एउटा मात्र ठाउँ हो,’ प्राविधिक अधिकृत टेकनाथ घिमिरेले भने,‘ त्यसैले सबैतिरको हावापानीमा उपयुक्त हुने जात विकास गरेर निकाल्ने गरिन्छ ।’ मकैमा आधारित खेती प्रणालीको विकास गर्न मकैबाली कार्यक्रम सञ्चालनमा आएको हो । 
मकैबाली कार्यक्रम सिफारिस गरिने जातको प्रजनन र मूल बीउको स्रोत केन्द्रको रूपमा रहने गरेको छ । उन्नत बीउ भने किसानले निजी बीउ कम्पनीहरूबाट पाउनेछन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले यसको ट्यागिङ र ब्यागिङको काम गर्छ । त्यस्तै कृषि विकास कार्यालयले यसको प्रवद्र्धन गर्ने काम गर्छ । प्राइभेट कम्पनी र बीउ उत्पादन समूहले मूल बीउ लगेर उन्नत बीउ उत्पादन गरी किसानलाई उपलब्ध गराउँछन् । ‘चितवनमा पोल्ट्रिले गर्दा दैनिक ७/८ सय टन मकै खपत हुने गरेको छ,’ कुँवरले भने, ‘मागअनुसारको मकै उत्पादन छैन ।’ 

मकैबाली अनुसन्धान कार्यक्रम सुरुआतमै भएको होइन । सुरुमा ०१३ सालमा राप्ती दुन विकास परियोजना फारमको रूपमा स्थापना गरियो । कृषि कर्म गर्ने भन्ने थिएन । ०२० सालमा कृषि अनुसन्धान केन्द्र स्थापना भयो । कृषिको काम गर्दै उन्नत तरिका अपनाउने भनेर कृषि अनुसन्धान केन्द्र स्थापना गरिएको हो । 

०२९ सालमा विशेष बालीलाई जोड दिने कुरा चल्यो । जसमा मकै, धान, गहुँ, उखु, आलु परे । यहीअन्तर्गत जोड दिने उद्देश्य राष्ट्रिय मकैबाली विकास कार्यक्रम सुरु भयो । ०४८ सालमा कृषि अनुसन्धानलाई छुट्टै स्वायत्त संस्थाको रूपमा लागू गर्न उचित देखिएको भन्दै नेपाल कृषि अनुसन्धान परिषद् ऐन लागू गरियो । जसअन्तर्गत नेपालको सम्पूर्ण कृषि क्षेत्रको अनुसन्धान गर्ने जिम्मा परिषदले पायो । त्यहीअन्तर्गत पहिला विकास कार्यक्रम भए पनि अहिले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको रूपमा नामकरण गरियो । अहिलेसम्म सिफारिस गरिएका जातमध्ये ५ वटा वर्णशंकर, २५ वटा ओपीभी र पोषिलो मकै–१ छन् । ‘अनुसन्धानमा कम लगानी छ,’ कुँवरले भने, ‘लगानी बढाउन जरुरी छ, अनुसन्धानकर्ताको मनोबल बढाउने काम गर्नुपर्छ ।’ 

घोगा नलाग्दै सुके
उन्नत जातको भनेर लगाइएको मकैको बोट घोगा नलाग्दै सुकेको छ । मकै सुकेपछि प्यूठान दम्ती गेजबाङ क्षेत्रका किसान चिन्तित भएका छन् । जिल्ला कृषि विकास कार्यालय र स्थानीय एग्रोभेटबाट ‘हाइब्रिड’ जातको भनेर लगेर छरेको मकै सुकेको किसानहरू बताउँछन् । राम्रो उत्पादन हुने भनेर लगाएको मकैका डाँठ कुहिएर सुकेको हो । परम्परागत रूपमा लगाउँदै आएको स्थानीय जातको बीउ छरेका बाहेक गाउँभरि सबैको बारीका मकै सुकेको प्यूठाननगरपालिका–८ गेजबाङकी हुमा घिमिरेले बताइन् ।

 ‘सुरुमा एक/दुईवटा बोट कुहिएर सुके’ घिमिरेले भनिन, ‘पछि चार/पाँच दिनमै पाटाभरि नै सुकेर स्याल्याप्पै भयो ।’ उनले डाँठ कुहिएर सुकेको कमैका बोट गाई भैंसीले समेत नखाने बताइन् । ‘डाठ कुहिएका छन्,’ उनले भनिन्, ‘बारीमा पस्दा गहनाएर पस्न नमिल्ने हुन्छ ।’ उनले वर्ष दिनसम्म आटो खाने र भैंसीलाई दानामा प्रयोग गर्ने मकैमा रोग लाग्दा किसानलाई निकै मर्का परेको बताइन् । उननका अनुसार धान नफाल्दैबाट सुक्न थालेको धान फलिसक्दा सबै बोट सुकेका हुन् ।

 मकै घोगा नलाग्दै सुकेपछि किसानहरू गुनासो लिएर जिल्ला कृषि विकास कार्यालयमा जाने तयारी गरेको स्थानीय शशिधर पण्डितले बताए । ‘गत वर्ष जिल्ला कृषि विकास कार्यालयले देउकी भनेर दिएको मकैमा पनि यस्तै खालको रोग देखापरेको थियो,’ उनले भने, ‘यसपालि त स्थानीय एग्रोभेटबाट ‘कञ्चन’ जात भनेर लिएर छरेकोमा समेत रोगले सखाप पार्‍यो ।’ किसानको मुख्य बाली मकैमा रोग लागेपछि सबै किसान चिन्तीत भएको पण्डितले बताए । 

कम गुणस्थरका बीउ बिजनका कारण किसानले निकै दु:ख पाएको उनको गुनासो छ । ‘मकैमा मात्र होइन,’ पण्डितले भने, ‘मुला काउली, लगायत तरकारी बालीसमेत बीउ राम्रो नहुँदा किसानलाई धेरै मर्का परेको छ ।’ जिल्लामा गुणस्तरी बीउ बिजनमा जिल्ला कृषि विकास कार्यालयको ध्यान नपुर्‍याउँदा किसानले राम्रो उत्पादन गर्न नसकेको उनले बताए । 

दम्ती गेजबाङका रीता केसी, खगेश्वर पण्डित, ईश्वरी पण्डित लगायत एक दर्जन किसानको एक सय रोपनी बढी क्षेत्रफलमा लगाएको मकैमा रोग लागेर सुकेका छन् ।

 यस्तै प्यूठान नगरपालिका–४ बिजुवार टारी क्षेत्रका किसानको समेत कमैको डाँठ कुहिएर सुकेको जिल्ला कृषि विकास कार्यलयमा गुनासो आएको कार्यालयले जनाएको छ । 

 कमैका डाठ कुहिएर बोट सुकेको जिल्ला कृषि विकास कार्यालयमा गुनासो आएको कार्यालयका बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बताए । ‘किसानको बारीका गएर हेर्न पाइएको छैन,’ खत्रीले भने, ‘लक्षण बुझा ब्याक्टेरियाबाट सर्न रोग होजस्तो लागेको छ ।’ 

प्रकाशित : श्रावण २९, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?