२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

२७ प्रतिशतले घट्यो कारोबार

कान्तिपुर संवाददाता

काठमाडौं — यो साता बजारमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम २७.३० प्रतिशतले कम हो । चार दिनको कारोबारमा १ सय ६८ कम्पनीका ३४ हजार ७ सय ७३ कित्ता सेयर खरिद–बिक्री भएका थिए ।

२७ प्रतिशतले घट्यो कारोबार

गत साता १ सय ६७ कम्पनीका १ करोड ५ लाख ८० हजार ४ सय ९० कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब २५ करोड २४ लाख रुपैयाँ परिचालन भएको थियो ।

साताको पहिलो दिनको तुलनामा नेप्से परिसूचक ११.५२ अंकले घटेर १ हजार ६ सय ५३.५३ अंकमा ओर्लियो । तर, गत अघिल्लो बिहीबारको तुलनामा यस्तो परिसूचक ७.०५ अंकले घटयो । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक २.०८ अंकले र कारोबारमा रहेका सबै कम्पनीको कारोबार मापक फ्लोट परिसूचक १.२४ अंकले ऋणात्मक रहे । अघिल्लो साता सन्तोषजनक रूपमा बढेको बजार गत साता भने घट्दो क्रममा छ । पछिल्लो एक डेढ महिनायता बैंक तथा वित्तीय संस्थामा सेयर अधिक तरलता बढ्दै गएको छ । तरलता बढे पनि ब्याजदर भने घटेको छैन । यसकारण सेयर बजार उकालो लाग्न नसकेको विश्लेषण गरिएको छ । 

यो साता कारोबार रकम (१९ करोड ५३ लाख १० हजार रुपैयाँ) का आधारमा नागरिक लगानी कोष सबैभन्दा अघि रहयो । कारोबार सेयर संख्या (३१ लाख २७ हजार कित्ता) का आधारमा ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १’ अग्रस्थानमा छ । त्यसैगरी, कारोबार संख्या (१ हजार ७ सय ६१ वटा) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अघि रहेको नेप्सेले जनाएको छ । 
साप्ताहिक कारोबारमा वित्त कम्पनी, होटेल र ‘अन्य’ समूहका अन्तर्गतका कम्पनीका सेयरधनी सामान्य नाफामा रहे । कारोबारमा रहेका बाँकी समूहका सेयरधनीको सम्पत्तिमा सामान्य कमी आयो । साताभरको कारोबारमा होटल समूहको परिसूचक १६.५४, वित्त कम्पनीको ११.३१ र ‘अन्य’ समूहको परिसूचक ८.६७ अंकले उकालो लागे । तर, जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २५.६५ अंकले घट्यो । यसैगरी, विकास बैंक समूहको २०.९७, वाणिज्य बैंकको १६.९१, उत्पादन तथा प्रशोधनको १६.२४ र बिमाको ४.६५ अंकले ऋणात्मक रहे । 

यो साता पनि कुल कारोबारमा सबैभन्दा हिस्सा बैंकिङ र बिमाले ओगटेका छन् । उक्त अवधिमा कुल कारोबारमा बैंकिङ समूहको बजार हिस्सा २९.२९ प्रतिशत छ । गत साता यस्तो हिस्सा १९.३४ प्रतिशत थियो । यसैगरी, साताभरको कारोबारमा बिमा समूहले २१.३३ प्रतिशत हिस्सा ओगटेको छ । गत साताको भन्दा यो २५.१५ प्रतिशत विन्दुले कम हो । 

चार दिनको कारोबारमा विकास बैंक समूहको हिस्सा १०.६४, वित्त कम्पनीको ६.६९, होटलको १.२८, जलविद्युत् ६.४, सामूहिक लगानी कोष ३.४५ र संस्थापक सेयरले ४.२३ प्रतिशत हिस्सा ओगटेको नेप्सेले जनाएको छ । गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रहयो । विगतमा जस्तै गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । यो साता जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र हिमालयन पावर पार्टनरको मात्र सेयर सूचीकृत भए । 

प्रकाशित : श्रावण २९, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?