१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सेनाद्वारा थप ६६ करोड माग

गोकर्ण अवस्थी

काठमाडौं — नेपाली सेनाले हवाईजहाज र हेलिकप्टर किन्न थप ६६ करोड रुपैयाँ माग गरेको छ । यसअघि नै ८ अर्ब रुपैयाँ निकासा पाइसकेको सेनाले अर्थ मन्त्रालयसँग थप रकम मागेको हो ।

सेनाद्वारा थप ६६ करोड माग

रक्षा सचिव श्रीधर सापकोटाका अनुसार एउटा जहाज (फिक्स्ड विङ) दुई एमआई १७ हेलिकप्टर र एक विशिष्ट खाले (भीआईपी) हेलिकप्टर किन्ने तयारी छ । यसका लागि पहिलेको बजेट बजार भाउ बढेका कारण अपुग हुन सक्ने भएकाले थप बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको उनले बताए ।

गत वर्षको बजेटमै सेनालाई हवाई सेवा विस्तारका लागि रकम विनियोजन भए पनि खरिद प्रक्रिया सुरु भएको छैन । अहिले टेन्डर आह्वान गर्नुपूर्व सेनाले रक्षा मन्त्रालयमार्फत थप रकम मागेको हो । ‘यस अवधिमा मूल्य वृद्धि (प्राइस एक्सलेसन) अनुसार थप रकम मागिएको हो,’ रक्षा सचिव सापकोटाले भने । उनले पहिल्यै बजेट स्वीकृत भएको र हाल टेन्डर गर्दा सामानको भाउ बढेकाले सोहीअनुसारको रकम मागिएको बताए । करिब एक वर्षअघि बजेट स्वीकृत भएको थियो ।

तर, स्रोतका अनुसार कमिसन एजेन्टको दबाबमा रकम थप्न खोजिएको छ । स्रोतका अनुसार कमिसन एजेन्टहरूद्वारा प्रधानमन्त्री शेरबहादुर देउवामार्फत रकम थप गर्न सेना, रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पनि दबाब दिइएको छ । केपी ओली प्रधानमन्त्री हुँदा आर्थिक वर्ष २०७३/७४ को बजेटमा करिब ८ अर्ब रुपैयाँ बराबरको रकम स्वीकृत भएको थियो । ‘८ अर्बको बजेट पहिल्यै स्वीकृत भए पनि हाल आएर प्रधानमन्त्री देउवाको पालामा टेन्डर हुने भएपछि उनी निकट एजेन्टहरूको दौडधुप निकै बढेको छ,’ स्रोतले भन्यो । खरिद एजेन्टहरूको दौडधुप, सेना मुख्यालय, रक्षा, प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयमा बढिरहेको स्रोतको भनाइ छ ।

रक्षा सचिव सापकोटा भने स्रोतको सुनिश्चितता मात्रै खोजिएको बताउँछन् । ‘पहिलेको बजेट पास भएको धेरै समयपछि टेन्डर गर्दा सामानको मूल्य बढेको हुन सक्छ, सोहीअनुसार केही थप रकम मागिएको हो,’ उनले भने, ‘यदि मूल्य बढेको रहेछ भने रकम अभाव नहोस् भनेर सुनिश्चितता मात्रै खोजिएको हो ।’

आर्थिक वर्ष २०७३/७४ कै बजेटमा खरिद गर्न बजेट स्वीकृति दिइए पनि हालसम्म जहाज वा हेलिकप्टर खरिद भएको छैन । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले जहाज (फिक्स्ड विङ) किन्न अनुमति दिइसकेको छ ।

एउटा जहाज गत वर्ष दुर्घटनामा परेपछि चालु हालतको विमान कुनै पनि नरहेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए । जहाज खरिदका लागि इन्डोनेसियाली कम्पनी पीटीडीआई र नेपाली सेनाबीच असार पहिलो साता सम्झौता भइसकेको छ ।

यसको खरिद मूल्यबारे कुनै खुलाइएको छ । अब किन्न खोजिएको जहाज सामान ढुवानीसँगै प्याराजम्पलगायतका सुविधा भएको हुनेछ । ‘यो मिलिटरी हेलिकप्टर हो,’ कडायतले भने, ‘हामीलाई चाहिने धेरै सुविधा यसमा हुनेछन् ।’ योसँगै किन्ने भनिएको हेलिकप्टरको टेन्डर वा अन्य सम्झौता केही भएको छैन । ‘अरू सामान आवश्यक त छन् तर प्रक्रियाबारे थाहा हुन सकेन,’ कडायतले भने, ‘बरु केही हेलिकप्टर हामी लिलाम बढाबढमा बेच्न खोजिरहेका छौं ।’

उनका अनुसार १२ वटा हेलिकप्टर बढाबढमा राखिएका छन् । जसमध्ये ८ वटा नचल्ने अवस्थाका र ४ चालु हालतका छन् । बारम्बार टेन्डर गर्दा पनि यी हेलिकप्टर खरिदका लागि दरखास्त परेको छैन । सेनासँग करिब १० हेलिकप्टर चालु हालतमा छन् ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?