२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

६० हेक्टर पोखरीको माछा बग्यो

भरतपुर (चितवन) — लगातारको वर्षाले यहाँका अधिकांश पोखरीको माछा बगाएको छ । झन्डै ६० हेक्टर पोखरीको माछा बगाएको व्यवसायीहरूले बताएका छन् । नेपाल मत्स्य व्यवसायी संघका अनुसार झन्डै २५ करोडको माछा र पोखरी क्षति भएको छ ।

चितवनको माडी, रत्ननगर, खैरहनीलगायतका स्थानमा कृषक बढी प्रभावित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मत्स्य ब्लक कार्यक्रमअन्तर्गत पोखरी खन्दै गरेको किसानसमेत बाढीले प्रभावित भएका छन् । मत्स्य विकास अघिकृत परशुराम यादवले चितवनभरि क्षतिको विवरण संकलन भइरहेको बताए । ‘झन्डै ६० हेक्टर पोखरीको माछा बगाएको छ,’ उनले भने, ‘ठूलो लगानीमा पोखरी खनेर व्यवसाय गरेका किसान मर्कामा परेका छन् ।’ सरकारले चितवनलाई तरकारी, माछा र धानका लागि पकेट क्षेत्र मानेको छ ।

लगातारको वर्षाले पोखरी डुबानमा परी सबै माछा बगाएको रत्तनगरका कृषक लालबहादुर तामाङले बताए । माडी नगरपालिका र पश्चिम क्षेत्रको जगतपुर, शुक्रनगर, दिव्यनगर क्षेत्रलाई माछा उत्पादनका हिसाबले महत्त्वपूर्ण मानिन्छ । पूर्वी क्षेत्रको भण्डारामा सरकारी लगानी रहेको माछाको भुरा उत्पादन केन्द्र र माछापालन रहेको छ । ती सबै डुबानमा परे । नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले बाढी र डुबानले झन्डै २५ करोडको माछा र पोखरीको संरचना बगाएको दाबी गरे । उनले भने, ‘बिक्री गर्न तयार भइसकेका माछासमेत बाढीले बगाएको छ ।’

चितवनमा ५ सय ७४ हेक्टरमा २ हजार २ सय २३ माछा पोखरी छन् । १ हजार ३ सय कृषक व्यावसायिक माछापालनमा संलग्न छन् । ‘एक हेक्टर पोखरी खन्न झन्डै ८ लाख लाग्छ,’ केन्द्रीय अध्यक्ष अधिकारीले भने, ‘धेरैजसोको संरचना नै भत्किएको छ ।’ यहाँ उत्पादन गरिएका माछाको मुख्य बजार काठमाडौं र पोखरा हुन् ।

प्रकाशित : श्रावण ३१, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?