१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तरकारीको भाउ दोब्बर

-बजार अराजक बन्दै गयो : उपभोक्ता अधिकारकर्मी
-भाउ एक/दुई दिनमै घट्छ : तरकारी व्यवसायी
-अनुगमन भइरहेको छ : आपूर्ति विभाग
राजु चौधरी

काठमाडौं — तराईमा ठूलो बाढी आएको भोलिपल्ट आइतबार गल्फुटारका गोपाल शर्मा तरकारी किन्न बिगमार्ट पुगे । प्रतिकिलो ६० रुपैयाँको ट्याग राखिएको तरकारी जोखेर भुक्तानी गर्न लाग्दा कर्मचारीले नयाँ मूल्यसूची आएको भन्दै ८१ रुपैयाँ पर्ने बताइन् ।

तरकारीको भाउ दोब्बर

‘प्याकेटमा ६० रुपैयाँ उल्लेख भए पनि ८१ रुपैयाँ तिर्न बाध्य भएँ,’ उनले भने, ‘बाढी–पहिरोका कारण मूल्य बढेको भनेपछि तिर्नैपर्‍यो ।’ यो घटना उदाहरण मात्रै हो । बाढी–पहिरोको बहानामा तरकारीको भाउ आचाक्ली महँगिएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार करिब दुई सातायता हरियो तरकारी भाउ थोक मूल्यमै २ सय २७ प्रतिशतले बढेको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीहरूले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् । 

एक सय रुपैयाँमा मुस्किलले एक किलो तरकारी किन्न सकिन्छ । व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुल्लामखुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो । तर, विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय भागिदार भएको उपभोक्ताकर्मीहरू बताउँछन् ।

‘गोलभेडा, भिन्डी, भान्टा सर्लाहीको लालबन्दीबाट आयात हुन्छ । बिपी राजमार्गबाट भित्रिन्छ । उपत्यकाका लागि पाँचखाल, धादिङ, नुवाकोटबाट पनि भित्रिन्छ । ती बाटोमा कुनै अवरोध देखिँदैन,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘तर, भाउ अस्वाभाविक रूपमा अकासिएको छ । व्यवसायीहरू संवेदनशील देखिएनन् । बजार अराजक बनेको छ ।’

तरकारीको मूल्य बढ्नुमा विभागसँगै तरकारी बजार विकास समिति पनि उत्तिकै जिम्मेवार भएको उनले बताए । समिति स्वयंले नियमन र नियन्त्रण गर्नुपर्नेमा व्यवसायीलाई साथ दिएको उनको आरोप छ । ‘समिति घरभाडा र व्यपारीको निर्देशनमा बस्नेबाहेक अन्य काम गरेको छैन । विभाग पनि मूकदर्शक बनेको छ,’ महर्जनले भने । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले मागअनुसार आयात हुन नसक्दा तरकारीको मूल्य बढेको बताए । तरकारी भित्रिने क्रम जारी रहेकाले दुई/तीन दिनमै सहज हुने उनले दाबी गरे ।

‘बाढी र पहिरोका कारण तरकारी बोकेका ट्रक/गाडीहरू राजमार्गमै छन् । केही भित्रिने क्रममा छन्,’ उनले भने, ‘अबको दुई–तीन दिनमा तरकारीको भाउमा सुधार आउँछ ।’ उनका अनुसार कालिमाटी तरकारी बजारमा दैनिक ४ सय टन मात्रै भित्रिएको छ । यसअघि दैनिक करिब ७ सय टनसम्म भित्रिन्थ्यो । व्यवसायीका अनुसार बाढी प्रभावित क्षेत्रबाट करिब १० प्रतिशत मात्रै तरकारी आयात हुन्छ । बाँकी तरकारी भारतलगायत उपत्यका आसपासबाट भित्रिन्छ । ‘काभ्रे, धादिङ, मकवानपुरमा राम्रो उत्पादन छ । विगतको भन्दा उत्पादनमा सुधार भएको छ,’ उनले भने, ‘बाढीले केही असर परे पनि तरकारीको मूल्य बढदैन ।’ 

समितिको तथ्यांकअनुसार भिन्डी, परवर, धनियाँ, प्याज, लौका, घिरौंला, बन्दा, गोलभेडा, आलु, भटमास, काउली, फर्सीलगायत तरकारीको मूल्य अकासिएको छ । दुई साताअघि किलोको २२ रुपैयाँ (थोक मूल्य) पर्ने भिन्डी हाल २ सय २७ प्रतिशतले बढेर ७२ रुपैयाँ पुगेको छ । प्रतिकिलो ३३ रुपैयाँ पर्ने परवर हाल १ सय ३६ प्रतिशतले बढेर ७८ रुपैयाँ पुगेको छ । 

किलोको २८ रुपैयाँ पर्ने झिगुनी बढेर ५८ रुपैयाँ पुगेको तथ्यांकमा छ । किलोको १ सय ५ रुपैयाँ पर्ने धनियाँ बढेर १ सय ९५ रुपैयाँ पुगेको छ । किलोको ४५ रुपैयाँ पर्ने गोलभेडा ७२ रुपैयाँ, ३४ रुपैयाँ पर्ने प्याज बढेर ५४ रुपैयाँ पुगेको जनाएको छ । समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । सामान्य अवस्थामा कालिमाटी तरकारी बजारमा दैनिक ७ सय टन तरकारी भित्रिन्छ । हाल न्यून मात्रामा भित्रिएको छ । 

विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले माग र आपूर्तिको सन्तुलन नमिल्दा केही महँगो भएको बताए । तरकारी क्षेत्रमा अनुगमन गर्न एउटा छुट्टै टोली गठन भएको उनले बताए । ‘हाल तरकारीको माग अधिक रूपमा बढेको छ । तर, आपूर्ति न्यून छ,’ उनले भने, ‘माग र आपूर्तिको सन्तुलन नमिल्दा मूल्य बढेको हो ।’ आपूर्ति विभागले कमसल र कालोबजारी भए/नभएको अनुगमन गर्ने उनले बताए । 

‘व्यापारीले कालोबजारी र ठगी गरेको प्रमाणित भए कालोबजारी ऐनअनुसार कारबाही हुन्छ,’ श्रेष्ठले भने ।

समितिका अनुसार २८ रुपैयाँ पर्ने लौका बढेर ४२ रुपैयाँ, किलोको ५२ रुपैयाँ पर्ने बोडी बढेर ७८ रुपैयाँ, १३ रुपैयाँ पर्ने बन्दा बढेर १९ रुपैयाँ पुगेको छ । यस्तै ४८ रुपैयाँ पर्ने घिउसिमी बढेर ८२ रुपैयाँ, ४२ रुपैयाँ पर्ने घिरौंला ५८, २२ रुपैयाँ पर्ने सेतो आलु २८, १ सय ६५ रुपैयाँ पर्ने च्याउ १ सय ९५ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ । उत्यकामा मुख्यत: धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट पनि तरकारी भित्रिन्छ ।

प्रकाशित : भाद्र १, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?