कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृषिबाटै उन्नति

भरतपुर ब्युरो

चितवन — पढे–लेखेका अधिकांश युवा खेती गर्न रुचाउँदैनन् । तर, नवलपरासी हुप्सेकोट–३ बेलहानीका थमन रजाली ७ वर्षदेखि गाउँमै तरकारी खेतीमा व्यस्त छन् ।

पत्रकारितामा स्नातक गरेका उनी तरकारीबाट वार्षिक २० लाखभन्दा बढी मुनाफा गरेको बताउँछन् । उनले ४ बिघाभन्दा बढी जमिनमा खेती गरेका छन् । काँक्रो, गोलभेंडा, भेडे खुर्सानी, फर्सी फलाएका छन् । थोपा सिंचाइ, मल्चिङ, प्लास्टिक पोखरी, पावर टिलर, पावर स्प्रे, मेसिन, ट्रेजस्ता प्रविधिमार्फत खेती गर्दै आएका छन् । ‘खेतीका लागि उर्वर छ, यही माटोमा भविष्य देखेर लागेको हुँ,’ उनले भने, ‘ हामी विदेशमा गएर अर्काको काम गर्नुभन्दा यही बसेर मिहिनेत गरे ढिलोचाँडो स्थापित हुन सकिन्छ ।’ छोरालाई ८६ वर्षीय धनबहादुरले समेत साथ दिएका छन् ।’ थमनले २०७३ को उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट सम्मानित भएपछि थप हौसला बढेको बताए । 

त्यस्तै, बारा सिम्रौनगढ ८ का ३९ वर्षीय धर्मेन्द्र यादवलाई ६ वर्षअघि गाउँमा सबैले ‘हल्लौरे’ भन्थे । खाने र घुम्नेबाहेक काम थिएन । भारत मजदुरीमा गएपछि बल्ल उनले श्रम र पैसाको महत्त्व बुझे । त्यसपछि गाउँ फर्के, ५ कठ्ठामा पोखरी निर्माण गरी माछापालन थाले । हाल उनको १० बिघामा पोखरी छन् । जिल्ला कृषि कार्यालय र माछा निर्देशनालय बालाजुबाट विश्व खाद्य दिवसलगायतमा पटक–पटक उत्कृष्टको पुरस्कार थापिसकेका छन् । अहिले वार्षिक ५० लाखका माछा कारोबार गर्छन् । वार्षिक १० लाख बचत गर्न समस्या छैन । 

नयाँ–नयाँ काम गरी ख्याति कमाउन सुविधासम्पन्न सहर र पहुँचकै खाँचो पर्दैन । त्यस्तै, ख्याति कमाएकामध्ये कपिलवस्तु शिवराज नगरपालिका ११ हरहवाका फरहान अकवाल खाँ पनि एक हुन् । कृषि अध्ययन नगरे पनि कृषिमा उनले नजानेको विषय नै छैन । खाँ एकीकृत मत्स्य फर्म तथा ह्याचलिङ व्यवसाय सञ्चालन गरेका छन् । उनको श्रम र मिहिनेत जिल्लामा मात्र सीमित छैन । मुलुकका १५ देखि २० जिल्लासम्म सिकाउन पुग्छन् । वार्षिक ३० लाख माछाका भुरा बिक्री गर्छन् । ७० देखि एक सय टन माछा बेच्छन् । ‘माछा र भुरा उत्पादनमा जोड दिएका छौं,’ उनले भने, ‘ बजार र आम्दानी राम्रो छ ।’ उनका उत्पादन कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र रूपन्देहीसम्म पुग्छ । उनको ११ हेक्टरमा ४० पोखरी छन् । 

पर्सास्थित वीरगन्जको न्यू ओम खाद्य उद्योगका मालिक ताराप्रसाद गुप्ता केही वर्षयता व्यवसायको विकल्प खोज्दै थिए । भारतबाट निर्बाध भित्रिने तयारी चामलले साविकको व्यवसाय समस्यामा थियो । दुई वर्षअघि आमालाई शुद्ध दूध खुवाउन एउटा उन्नत गाई खरिद गरे । छिमेकीले पनि दूध माग्न थालेपछि उनले अर्को थपे । माग बढदै गएपछि अहिले ६० वटा गाई गुप्ताको वीरगन्ज २७ स्थित क्याप्टेन फर्ममा छन् । त्यसमध्ये ३० ले दैनिक ४ सय लिटर दूध दिन्छन् । ३० गर्भिणी छन् । २ महिनाभित्र ती गाई पनि व्याएर दूध दिन थाल्छन् । दूधले बजारको माग नधानेकाले गुप्ता अझै गाई थप्ने मनस्थितिमा छन् । गीता मन्दिर रोडमा आफ्नै पसलमा बिहान बेलुका दूध खोज्दै आउने ग्राहकको बाक्लो भीड देखेर चकित पर्छन् । ‘उपभोक्तालाई अरू केही हैन शुद्ध दूध चाहिएको रहेछ,’ ४७ वर्षीय गुप्ता भन्छन्, ‘मैले पनि शुद्धतामा कुनै सम्झौता गरिनँ, आखिर यही इमानदारी मेरो नयाँ व्यवसायका लागि सफल मन्त्र साबित भयो ।’ 

फर्मबाट निस्किएको गोबर प्रयोग गरेर जैविक मल बनाउँछन् । भविष्यमा ४ बिघा खेत भाडामा लिएर उन्नत जातको घाँस उत्पादन गरेर वर्षैभरि गाईलाई पुग्ने घाँसको जोहो गर्ने उनको तयारी अन्तिम चरणमा छ । यसबाहेक माछापालन पनि गर्ने उनले तयारी गरेका छन् । ‘बिदेसिने युवाहरूलाई स्वदेशमा जाँगर चलाउन सुझाव दिन्छु,’ उनले भने, ‘हरेस खाएर बिदेसिनुभन्दा स्वदेशमै पसिना चुहाउन सके कमाइ हुन्छ ।’

(कपिलवतस्तुबाट मनोज पौडेल, नवलपरासीबाट नवीन पौडेल, पर्साबाट शंकर आचार्य र बाराबाट लक्ष्मी साह)

प्रकाशित : भाद्र ४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?