१० अर्ब बराबरको पशुधनमा क्षति

काठमाडौं — अविरल वर्षाका कारण देशभर ३५ बढी जिल्लामा १० अर्ब १७ करोड ८८ लाखको पशुधनमा प्रत्यक्ष र अप्रत्यक्ष क्षति भएको दाबी सरकारले गरेको छ ।

पशुपक्षी विकास मन्त्रालयले शुक्रबार पत्रकारसम्मेलनमार्फत साउन २७ यता भदौ २ गतेसम्मको अनुमानित क्षति विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले १ अर्ब ३७ करोड ७८ लाख मूल्य बराबरको पशुपक्षीको मृत्यु र नष्ट भएको, २ अर्ब ५० करोड १० लाख रुपैयाँ बराबरको पशुजन्य उत्पादन नष्ट भएको जनाएको छ । त्यस्तै पशुजन्य उत्पादनमा ६ अर्ब ३० करोड बराबरको अप्रत्यक्ष क्षति पुगेको सहित कुल १० अर्ब १७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको प्रवक्ता श्यामप्रसाद पौडेलले जनाए ।

मन्त्रालयका अनुसार, १ करोड १९ लाखका गाई गोरु, ५३ लाख मूल्य बराबरका रागा/भैंसी, ४ करोड ४५ लाखका खसी/बख्रा, २ करोड २६ लाखका बंगुर, १० करोडका कुखुरा मरेका छन् । त्यसैगरी १५ करोडका खोर/गोठ, ५० करोडको पशु आहारा, ३० करोडको पशुजन्य उद्योग नष्ट भएको मन्त्रालय अनुमान गरेको छ । अविरल वर्षाका कारण दूध उत्पादनमा प्रत्यक्ष २ अर्ब ४० करोड र अप्रत्यक्ष ४ अर्ब ८० करोड मूल्य बराबरको क्षति भएको छ । त्यस्तै अण्डा उत्पादनमा प्रत्यक्ष १० करोड १० लाख अप्रत्यक्ष १ अर्ब मूल्यको क्षति भएको मन्त्रालयले भनेको छ ।

यसैबीच बाढी, पहिरोलगायत प्राकृतिक विपदबाट देशभर कृषितर्फ ८ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । कृषि विकास मन्त्रालयले गत बुधबारसम्म धान, मकै, तरकारी बाली, माछा, केरा, दलहन, बेसार, बदाम, कोदोलगायतका मुख्य बालीमा यती क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

उसले बाढीलगायतको विपत्तिबाट देशभरका ३१ जिल्ल्लाको २ लाख ७२ हजार ६ सय ३० हेक्टर जमिनमा गरिएको खेती प्रभावित भएको र ७८ हजार ५ सय १५ हेक्टर खेतीमा पूर्ण क्षति पुगेको भनेको छ ।

प्रकाशित : भाद्र ४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?