कारोबार २०५ ले घट्यो

काठमाडौं — बाढीले अधिकांश भूभाग डुबानमा परी तराई क्षेत्रको जनजीवन कष्टकर बनेपछि सेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ ।

बाढी सुरु भएपछि अधिकांश कारोबार दिन परिसूचक ऋणात्मक बन्नुले पनि त्यो पुष्टि हुन्छ । साप्ताहिक कारोबारमा सेयर बजार परिसूचक नेप्से करिब २४ अंकले घटयो । आइतबार कारोबार सुरु हुँदा १ हजार ६ सय ५३.५३ मा रहेको नेप्से बिहीबार १ हजार ६ सय २९.७५ विन्दुमा ओर्लेको छ । आइतबारको तुलनामा भने परिसूचकमा सवा १२ अंकले कमी आएको नेप्सेले जनाएको छ । 

परिसूचकमा आएको गिरावटसँगै कारोबार रकम करिब २० प्रतिशतले घटेको छ । साताभरको कारोबारमा २७ हजार ४ सय ६६ कारोबारबाट १ सय ७८ कम्पनीका ८४ लाख ४६ हजार ४ सय ६० कित्ता सेयर खरिद–बिक्री भए । उक्त कारोबारबाट ३ अर्ब ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ परिचालन भयो । कारोबार रकम गत साताको भन्दा १९.९५ प्रतिशतले कम हो । अघिल्लो साता १ करोड २१ लाख ३ हजार पाँच सय ८० कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ परिचालन भएको थियो । 

यो साता वित्त कम्पनीबाहेक सबै समूह अन्तरगत कम्पनीका सेयरधनीका लागि सुखद रहेन । कारोबारमा रहेका सबै समूहको परिसूचक ऋणात्मक रहेपछि बहुसंख्यक लगानीकर्ताको सम्पत्ति घटयो । यसकारण यो साता सेयर बजारको आकार (कुल बजार पुँजीकरण) साढे २७ अर्ब रुपैयाँले साँघुरियो । 

साप्ताहिक कारोबारमा वित्त कम्पनी समूहको परिसूचक १.०९ अंकले बढयो । तर, बिमा समूहको परिसूचक १ सय ५५, उत्पादन तथा प्रशोधन समूहको १ सय २४, होटल र जलविद्युत्को समान अंक (५१/५१ अंक), बैकिङको साढे १६, विकास बैंकको ३४ र ‘अन्य’ को करिब ९ अंकले घटेको नेप्सेले जनाएको छ ।

चार दिनको कुल कारोबारमा बंैकिङ समूहको बजार हिस्सा ३२ प्रतिशत छ । गत साता यो समूहको यस्तो हिस्सा २९ प्रतिशत थियो । सोही अवधिमा बिमा समूहको हिस्सा २० प्रतिशत देखिन्छ । गत साता कुल कारोबारमा बिमा समूहले २१.३३ प्रतिशत अंश ओगटेको थियो । यसैगरी, विकास बैंकको करिब १० प्रतिशत, जलविद्युतको ७.६ प्रतिशत, संस्थापक सेयरको साढे ९ प्रतिशत, लघुवित्तको साढे १३ प्रतिशत र होटलको हिस्सा १.१३ प्रतिशत रहेको नेप्सेले जनाएको छ । कारोबार हिस्साका आधारमा लघुवित्त कम्पनीको सेयरम लगानीकर्ताको आकर्षण बढेको छ । 

यो साता कारोबार रकम (१४ करोड ४८ लाख ६० हजार रुपैयाँ) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । कारोबार सेयर संख्या (१४ लाख ९२ हजार कित्ता) का आधारमा नबिल ब्यालेन्स फन्ड १ सबैभन्दा अघि छ । कारोबार संख्या (१ हजार ४ सय ७७ वटा) का आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।

सार्वजनिक बिदा परेकाले गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन मात्र खुला रह्यो । विगतमा जस्तै गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । उक्त अवधिमा फस्ट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त विकास बैंक र सानिमा बैंकको हकप्रद सेयर तथा माहुली सामुदायिक लघुवित्त संस्थाको साधारण र सेती फाइनान्सको बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?