कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरिया मलको मौज्दात सकिँदै

शंकर आचार्य

पर्सा — वर्षाले नियमित मल आपूर्ति अवरुद्ध भएपछि कृषि सामग्री कम्पनीमा युरिया मलको मौज्दात सकिन लागेको छ ।

कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जसँग हाल सय टन मात्र मौज्दात रहेको कार्यालय स्रोतले जनाएको छ । निमित्त प्रमुख पुरुषोत्तम सिंहले हाल कार्यालयको आफ्नै गोदाम र वीरगन्ज चिनी कारखानाको भाडाको गोदाममा समेत गरी उक्त परिमाणको मल मौज्दात रहेको बताए । मौज्दात मललाई बिक्री नगरी राखिएको उनले बताए ।

हाल रहेको थोरै मल पनि बिक्री खुला गरे ग्राहकको भीड थाम्न नसक्ने अवस्था आउन सक्ने भएकाले त्यसो गरिएको उनले जनाए । हाल चारैतिर वर्षाले धान बाली डुबानमा रहेकाले किसानबाट युरिया मलको माग नआएकाले तत्काललाई समस्या छैन । ‘खेतमा बढी पानी हुँदा मल बग्ने भएकाले किसानले यस्तो अवस्थामा मल छर्दैनन्,’ सिंहले भने, ‘तर पानी घटेपछि किसानले मल छर्ने भएकाले ४/५ दिन पछि मलको माग ह्वात्तै बढ्न सक्छ ।’

भारी वर्षाको कारण भारतको विभिन्न स्थानमा रेल्वे ट्रयाक र पुल बिग्रेर रेल्वे सेवा अवरुद्ध भएकाले नियमित मल आउन छाडेको उनले बताए । भारतको कोलकाता बन्दरगाह हँुदै वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहका लागि युरिया मल बोकेर हिँडेको एउटा रेल्वे र्‍याक रक्सौल नजिकको छौडादानोमा ६ दिनदेखि फसेको उनले बताए । 

सिंगापुरको विल्सन इन्टरनेसनल कम्पनीले ग्लोबल टेन्डरबाट चीनमा उत्पादित युरिया मल ल्याउँदै गरेको थियो । उक्त र्‍याकमा २ हजार ५ सय टन युरिया मल रहेको छ । विल्सनकै अर्को एक र्‍याक युरिया मल बिहारकै मुजफ्फरपुर नजिक फसेको उनले बताए । 

कोलकाताबाट वीरगन्जका मल बोकेर हिँडेको थप अर्को र्‍याक बाटोमै कतै अडकिएको सूचना आए पनि त्यो कहाँसम्म पुगेको छ भनी यकिन जानकारी नआएको उनले बताए । ‘कम्पनीको प्राय: सबै मल रेलबाटै ढुवानी हुन्छ,’ सिंह भन्छन्, ‘यस्तो अवस्थामा रेल सेवा नै अवरुद्ध भएपछि मल आउने सम्भावना नै रहँदैन ।’ भारतीय रेल सेवा पूर्ण रूपमा सुचारु नभएसम्म कम्पनीको मल भित्रिने अवस्था नरहेको सिंह बताउँछन् । 

वर्षाको कारण विशेषगरी भारतको विहार तथा उत्तर प्रदेश राज्यमा रेल्वे सेवा पूर्ण रूपले प्रभावित भएको सिंहले बताए । अधिकांश स्थानमा रेलको लिकभन्दा माथिबाट पानी बगिरहेकाले त्यस्तो अवस्थामा भारतीय रेल्वेले रेल गुडाउँदैन । 

कार्यालयसँग हाल डीएपी र पोटास मलको पर्याप्त मौज्दात भए पनि ती मलको माग छैन । धान सिजनमा किसानलाई युरिया मल बढी आवश्यक भएको बेला कार्यालयमाथि दैनिक १ सय ५० टनसम्म मल युरिया मल बिक्री गर्नु पर्ने जिम्मेवारी हुन्छ । हाल तराई तथा पहाडका किसानले धान बालीमा एकपटक युरिया मल छरिसकेको अवस्था छ । तर खेतमा जमेको पानी केही घटेलगत्तै किसानले पुन: एकपटक युरिया मल छर्न खोज्ने भएकाले यो मलको माग धान्न गार्‍हो हुन सक्ने सिंह बताउँछन् । 

कम्पनीले क्षेत्रीय कार्यालयले मध्यमाञ्चलका सम्पूर्ण जिल्ला तथा पश्चिमाञ्चलका नवलपरासी, तनहुँ, कास्कीसम्म गरी डेढ दर्जन जिल्लामा मलको आपूर्ति गर्दै आएको छ । वीरगन्जमै मल नआए यी सबै जिल्लामा मलको हाहाकार हुन्छ । 

प्रकाशित : भाद्र ४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?