१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ढुंगागिट्टीको ठेक्का रद्द

कान्तिपुर समाचार प्रभाव
कमल पन्थी

गुलरिया — जिल्ला समन्वय समिति बर्दियाले ढुङ्गागिट्टी, बालुवा उत्खनन् तथा निकासीको ठेक्का रद्द गरेको छ । अनियमितताबारे कान्तिपुर दैनिकमा साउन २९ मा समाचार प्रकाशित भएपछि जिससले रद्द गरि पुन: ठेक्का आहान गरेको छ ।

गत आर्थिक वर्ष ०७३/७४ को तुलनामा करिब ७० प्रतिशत कम अंकमा ठेकेदार कम्पनीले पाएको थियो । निकै कम मूल्यमा ठेक्का परेको भन्दै स्थानीयवासीले मिलेमतो भएको आरोप लगाएका थिए ।

आर्थिक वर्ष ०७३/०७४ मा ४ करोड ३४ लाखको ठेक्का बोलकबोल भएकोमा आर्थिक ०७४/०७५ मा घटेर १ करोड ६१ लाखमा टेन्डर परेको थियो । उक्त ठेक्का महिमा कालीगण्डकी जेभीले कबोल गर्दै स्वीकृत गर्ने तयारीमा जिसस रहेकोमा रद्द गरेको हो । जिससले बबई, गेरुवा र कर्णाली नदीबाट उत्खनना लागि न्यूनतम १ करोड ५० लाख मूल्य तोकेको थियो । गत असार २१ मा सूचना प्रकाशित गरी साउन २० मा टेन्डर खोलेकोमा इ–बेडिङबाट टेन्डर दिने व्यवस्था गरिए पनि मल्ल कन्सट्रक्सन मात्र दिएको थियो । 

मल्ल कम्पनीले इ–बेडिङबाट टेन्डर फिर्ता लिएको जिससले जनाएको छ । टेन्डर फिर्ता भएपछि जिससमा हार्ड कपी पेस गरी पाँच जना ठेकेदार कम्पनीले टेन्डर दर्ता गराएका थिए । तीमध्ये दुईवटा फाइलमा अंक कबोल नगरी पेस गरिएको थियो । सबैभन्दा बढी कबोल गरेको ठेक्का महिमा कालीगण्डकी जेभीले १ करोड ६१ लाख परेकाले थियो । विवाद सेलाएपछि टेन्डर स्वीकृत गर्ने तयारीमा रहेको जिससले पुन: एक राष्ट्रिय पत्रिकामा प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो ।

 गत वर्ष बबई, गेरुवा र कर्णाली नदीको फरक–फरक प्याकेजमा ठेक्का दिइएको थियो । चालु आवमा तीनवटै नदीबाट एउटा प्याकेजमा गिट्टी, ढुङ्गा, बालुवा उत्खननका लागि दिँदा ठेक्का मिलेमतोमा टेन्डर परेको स्थानीयले आरोप लगाएपछि प्रशासनले अनुसन्धान सुरु गरेको थियो । जिससको राजस्व परामर्श समितिको बैठकले ठेक्काको बन्दोबस्त मिलाएको थियो । समितिमा स्थानीय विकास अधिकारी, कोलेनिका प्रमुख,उद्योग वाणिज्य संघका प्रतिनिधि र विज्ञका रूपमा स्थानीय एक जनासहितले ठेक्का व्यवस्था मिलाएको हो । ठेकेदार कम्पनीको मिलेमतोमा करिब न्यून मूल्य तोकेर सरकारी राजस्व घाटामा पारिएको थियो । स्रोतले कर्मचारी र ठेकेदार कम्पनीबीच आर्थिक चलखेल भएको आशंका गरेका छन् ।

स्थानीय विकास अधिकारी तेज शर्माले टेन्डर रद्द गरी पुन: आह्वान गरेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले ठेकेदारलाई फाइदा र कार्यालयलाई घाटा किन भएको भन्दै ऐन कानुनअनुसार गर्न गराउन पत्राचार गरेलगत्तै टेन्डर रद्द भएको दाबी गरे ।

प्रकाशित : भाद्र ४, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?