विराटनगर भन्सारको आयात–निर्यात ठप्प

बाढीको प्रभाव
देवनारायण साह

मोरङ — बाढीले भातरको रेल्वे पटरी बगाउनुका साथै पुलमा क्षति पुर्‍याएपछि विराटनगर भन्सारको आयात–निर्यात ठप्प भएको छ । विराटनगरका उद्योगी व्यापारीहरूले भारतको वीरपुर हुँदै भीमनगरबाट आयात–निर्यात सुचारु गराउन पहल थालेका छन् ।

भारतको जोगबनी आउने रेलको पटरी ठाउँ–ठाउँमा बाढीले बगाएको छ । त्यहाँको मिरगन्ज घाटस्थित एनएच५७ ए को प्रमाण नदीमा रहेको पुलमा क्षति पुगेपछि मालबाहक सवारी साधन चल्न सकेको छैन । यसले आयात–निर्यात ठप्प भएको भन्सार कार्यालयले जनाएको हो ।

भारतको जोगबनी थानाका प्रहरीले पुलबाट सवारी साधन आवागमनमा आइतबार साँझ ५ बजेदेखि रोक लगाएको छ । सुरक्षाकर्मीले हलुका सवारी साधन मोटरसाइकल, सिटी रिक्सा, कार, जिपका यात्रु ओरालेर मात्र आवतजावत गर्न दिएको छ । भारतीय सुरक्षाकर्मीले बढी भार क्षमताका कुनै पनि सवारी साधन आउजाउ गर्न दिएको छैन ।

मिरगन्जका प्रमोदकुमार साहका अनुसार इस्टइन्डिया कम्पनीले नै फलामको खम्बा हालेर बनाएको उक्त पुलको आयु १० वर्षअघि नै समाप्त भइसकेको छ । पुलमा रोक लगाएपछि फारबिसगन्जसम्म १२ किलोमिटर लामो सवारी साधनको लाम लागेको उनले सुनाए । नेपालतर्फ पनि विराटनगर भन्सार कार्यालयदेखि विराटनगरसम्म भारततर्फ जाने सवारी साधनको लाम लागेको छ ।

जोगबनीका स्थानीय युवा नेता राजीव झाले रेलको पटरी बगेयता जोगबनीको रेल सेवा अवरुद्ध भएको बताए ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले रेल र सवारी साधन दुवै सेवा अवरुद्ध भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका ५ सय बढी उद्योग प्रभावित भएको बताए । उद्योगहरूका लागि चाहिने कच्चा पदार्थ र उत्पादन हुने निर्यातजन्य वस्तु ठप्प भएको उनले बताए ।

सुनसरी मोरङ औद्योगिक करिडोरबाट दैनिक भारत ढुवानी गर्दै आएको १ हजारभन्दा बढी ट्रक भारतको बथनाहादेखि फारबिसगन्जसम्म लाम लागेकाले व्यापारीहरू मारमा परेको समेत उनले जनाए । मोरङ व्यापार संघका महासचिव नवीन रिजालले नजिकिँदै गरेको चाडपर्वको बेलामा भारत तथा तेस्रो मुलुकबाट मालसमालसहित ल्याउँदै गरिएका सयौं मालबाहक ट्रक भारतमा अलपत्र परेको बताए ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको टोलीले सोमबार पुलको अवस्थाबारे जानकारी लिँदै आयात–निर्यात सुचारु गराउन वैकल्पिक मार्गका लागि पहल थालेका हुन् । उक्त टोलीले जोगबनी कस्टमका प्रमुख डेपुटी कमिस्नर पवन कुमारलाई आयात निर्यात सुचारु गर्न वैकल्पिक मार्गका लागि पहल गरिदिन आग्रह गरे ।

क्षतिग्रस्त पुल मर्मतका लागि १५ दिन र रेल सेवा सुचारु हुन एक महिना लाग्ने निर्माण व्यवसायीहरूले बताएका छन् । उद्योग संगठन मोरङको पूर्वअध्यक्ष शिवशंकर अग्रवालले भारतको बथनाहाबाट वीरपुर हुँदै भीमनगरको बाटोबाट तत्काल आयात–निर्यात सुचारु गराउन डेपुटी कमिस्नर पवन कुमारलाई आग्रह गरेका छन् ।

उनले नेपालमा चाडपर्वको समय सुरु भएको अवस्थामा तत्काल वैकल्पिक व्यवस्थाका लागि कमिस्नरसँग कुरा गर्ने प्रतिबद्धता जनाए । उनले वीरपुर हुँदै भीमनगरसम्मको बाटोको अवस्थाबारे जानकारी लिन उद्योगी व्यापारीलाई आग्रह गरे । वीरपुर हुँदै भीमनगरबाट विराटनगरसम्म सय किलोमिटर दूरी बढ्ने उद्योगी व्यापारीहरूले बताएका छन् ।

प्रकाशित : भाद्र ६, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?