कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घरायसी प्रयोजनका लागि जडान भएको सौर्य उर्जा प्राधिकरणले खरिद गर्ने

रमेश लम्साल/रासस

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद (नेट मिटरिङ) गर्ने भएको छ ।

घरायसी प्रयोजनका लागि जडान भएको सौर्य उर्जा प्राधिकरणले खरिद गर्ने

राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो ।

प्राधिकरणले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट विद्युत् खरिद गर्ने र त्यस्तो विद्युत् ‘नेट मिटरिङ’ गर्ने तयारी गरेको हो ।

उपभोक्तालाई आवश्यक परेको समयमा विद्युत् उपलब्ध गराउँदै आएको प्राधिकरणले दिउँसोको समयमा भने सौर्य प्रणालीबाट उत्पादित विद्युत् खरिद गर्ने निर्णय गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ऊर्जा संकटकालसम्बन्धी कार्ययोजनाको बुँदा नं ५२ ख मा समेटिएको प्रावधानअनुसार नै राष्ट्रिय प्रसारण लाइन तथा वितरण प्रणाली पुगेका स्थानबाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ । विद्युत् बेच्न इच्छुक ग्राहकले सम्बन्धित वितरण केन्द्रसमक्ष सौर्य प्रणालीको क्षमता खुलाई अन्य प्राविधिक विवरण एवं उक्त प्रणालीको सम्पूर्ण जानकारी खुलाइ निवेदन दिनुपर्नेछ ।

प्राधिकरणले आफूले उपलब्ध गराएको र ग्राहकबाट प्राप्त हुने विद्युत्को सम्पूर्ण हिसाब गर्नेछ । त्यसबाट ग्राहकलाई तिर्नुपर्ने भए प्राधिकरणले भुक्तानी गर्नेछ । त्यस्तो भुक्तानीको दर भने आपसी सहमतिमा तय हुनेछ ।

प्राधिकरणका अनुसार ग्राहकले जडान गर्ने सौर्य प्रणालीको न्यूनतम क्षमता ५०० वाट हुनुपर्नेछ । भोल्टेज स्तरअनुसार ‘नेट मिटरिङ’ का लागि २३० भोल्टमा पाँच किलोवाटसम्म, ४०० भोल्टमा पाँच किलोवाटदेखि ४० किलोवाटसम्म र एक हजार एकसय भोल्टमा ४० किलोवाटभन्दा माथिको क्षमता रहनुपर्नेछ ।

प्राधिकरणले सौर्य प्रणालीबाट प्राप्त हुने ऊर्जाको औसत वार्षिक खपतको ९० प्रतिशतभन्दा बढी नहुने गरी ग्राहकले सौर्य प्रणाली जडान गरेको हुनुपर्ने बताएको छ ।

उत्पादन हुने ऊर्जाको क्षमता र उपलब्ध हुने प्रणालीको विश्लेषणका आधारमा प्राधिरकणले फरक क्षमताको मिटर जडान गर्नेछ ।

प्राधिकरणले सौर्य ऊर्जा खरिदका लागि गत वैशाख १३ गते नै निर्णय गरेकामा पनि अब भने कार्यान्वयनमा ल्याउन लागेको हो । व्यावसायिकरुपमा सौर्य ऊर्जा उत्पादन गर्न लागेकाको विद्युत् खरिदसम्बन्धी छुट्टै कार्यविधिका आधारमा काम गरिरहेको प्राधिकरणले घरायसी प्रयोजनाका लागि जडान भएका प्रणालीबाट पनि विद्युत् खरिदको नयाँ व्यवस्था गरेको छ ।

प्राधिकरणको नयाँ व्यवस्थापछि विद्यालय, उद्योग प्रतिष्ठान, सार्वजनिक स्थान तथा अन्य कुनै प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट उत्पादित विद्युत् खेर जाला कि भन्ने चिन्तासमेत गर्नु नपर्ने भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अभियानका रुपमा शुरु गरेको शहरी सौर्य प्रणाली कार्यक्रमबाट लाभान्वित भएका ग्राहकसमेत प्राधिकरणको पछिल्लो निर्णयबाट थप लाभ हासिल गर्न सक्नेछन् ।

सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्न चाहनेलाई थप उत्साहित गराउने लक्ष्यका साथ प्राधिकरणले नयाँ प्रणाली विकास गरेको प्राधिकरण सञ्चालक समितिका सदस्य चेतराज जोशीले जानकारी दिए ।

प्राधिकरणले हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उत्पादन गरिरहेको ६८० किलोवाट क्षमताको सौर्य प्रणालीको ‘नेट मिटरिङ’ गरिरहेको छ । यस्तै नेपाल इञ्जिनियरिङ एसोसियसनको केन्द्रीय कार्यालयमा जडान भएको सौर्य प्रणालीको पनि ‘नेट मिटरिङ’ शुरु भएको सो संस्थाका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिए ।

विद्युत् विकास विभागका अनुसार हालसम्म औद्योगिक एवं व्यावसायिक प्रयोजनका लागि अपि पावरले २० मेगावाट क्षमताको सौर्य प्रणाली जडानको प्रक्रिया शुरु गरेको छ । विभागले हालसम्म कूल ३२ वटा कम्पनीलाई सौर्य प्रणाली जडानसम्बन्धी अनुमति दिएको छ । ती आयोजनाको कूल क्षमता १९५ मेगावाट छ ।

प्रकाशित : भाद्र १८, २०७४ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?