ठगी गर्ने पसल सिलबन्दीपछि दरबारमार्गका व्यापारी विरोधमा (फोटो फिचर)

तस्बिर : अंगद ढकाल

काठमाडौं — उपभोक्ता ठगी गरेको भन्दै सरकारले दरबारमार्गका एक दर्जन पसलमा सिलबन्दी गरेपछि व्यवसायीले विरोधमा उत्रेका छन् । विरोधस्वरुप उनीहरुले बिहीबार दरबारमार्गका झन्डै ८० वटा पसलहरु बन्द गराएका छन् ।

ठगी गर्ने पसल सिलबन्दीपछि दरबारमार्गका व्यापारी विरोधमा (फोटो फिचर)

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरी बुधबारसम्ममा दरबारमार्गका एक दर्जन पसल सिल गरेको छ । अनुगमनको क्रममा व्यवसायीले कपडादेखि घडीसम्ममा चर्को मूल्य असुलेको फेला परेको छ । घडी पसलमा अत्यधिक मुनाफा राखेको फेला परेपछि चौथो अनुगमन टोली संयोजक ढुण्डिराज पोखरेलको टोलीले पसल सिलबन्दी गरेको थियो । 

वाच एन्ड सी घडी पसलमा अनुगमन गर्दा मुनाफा र भ्याटसहित जोडर ४१ सय ३५ रुपैयाँ पर्ने घडीको बिक्री मूल्य १९ हजार ९ सय ९० रुपैयाँ, भ्याट र मुनाफासहित ४ हजार ९ सय ५० रुपैयाँ पर्ने घडीमा एमआरपी १३ हजार ९ सय ९० रुपैयाँ असुलेको भेटिएको थियो । उक्त मूल्यमा २० प्रतिशतसम्म छुट अफर थियो । सुलक्स सेन्टरमा सिलबन्दीपश्चात् दरबारमार्गका प्रायस् सबैले पसल बन्द गरेका छन् । सुलक्स सेन्टरमा १० प्रतिशत छुट दिए पनि ८७ हजार रुपैयाँमा खरिद गरिएको घडी २ लाख ५ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो । 

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा राखेर बिक्री गर्न पाइँदैन । तर, ब्रान्डेडका नाममा उच्च नाफा राखी सर्वसाधारणउपर ठगी भइरहेको छ । यस्तै लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसनीले पनि अत्यधिक मूल्य लिएको फेला परेको छ । उक्त पसलमा पनि सिलबन्दी गरेको विभागका अनुगमन निरीक्षक श्रीप्रसाद अधिकारीले बताए ।

प्रकाशित : भाद्र २२, २०७४ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?