सेयर बजारमा सामान्य गिरावट

काठमाडौं — यो साता नेप्से परिसूचकसँगै कारोबार रकममा ठूलो गिरावट आएको छ । सार्वजनिक बिदाका कारण ३ दिन मात्र खुलेको बजारमा २ अर्ब ४१ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भयो । गत साताको तुलनामा कारोबार रकम ३२.२४ प्रतिशतले कम हो ।

यो साता २५ हजार ८ सय ६० कारोबारबाट १ सय ७१ कम्पनीका ४४ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री भए । गत साता ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५६ करोड १ लाख रुपैयाँ परिचालन भएको थियो ।

सेयर कारोबार मापक नेप्से परिसूचक गत बिहीबारको तुुलनामा करिब २५ अंकले घटयो । तर, पहिलो कारोबार दिन (सोमबार) को तुलनामा परिसूचक ०.०१ प्रतिशतले मात्र घटेको नेप्सेले जनाएको छ । सोमबार १ हजार ५ सय ५४.५६ अंकमा रहेको नेप्से बिहीबार १ हजार ५ सय ५४.५५ विन्दुमा बन्द भएको छ ।

साताभरको कारोबारमा बैंकिङ समूहको बजार हिस्सा साढे ३५ प्रतिशत छ । गत साता यो समूहको यस्तो हिस्सा ३२ प्रतिशत थियो । सोही अवधिमा बिमा समूहको हिस्सा १८.४७ प्रतिशत देखिन्छ । गत साता कुल कारोबारमा बिमा समूहले १८.७ प्रतिशत अंश ओगटेको थियो । यो साता लघुवित्त संस्थाको सेयर कारोबार हिस्सा उल्लेख्य रूपमा बढेको छ । कुल कारोबारमा लघुवित्त समूहअन्तर्गतका कम्पनीको कारोबार हिस्सा साढे २०.८४ प्रतिशत छ । कारोबार हिस्सा वृद्धिका आधारमा लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । यसैगरी, जलविद्युत्को ३.४४ प्रतिशत, संस्थापक सेयरको ९.८२ प्रतिशत र विकास बैंकको ८.७४ प्रतिशत रहेको नेप्सेले जनाएको छ ।

यो साता ‘अन्य’ बाहेक सबै समूहका लगानीकर्ताहरूका लागि सुखद रहेन । ‘अन्य’ समूहअन्तर्गत कम्पनीका सेयरधनीको सम्पत्ति ०.२९ अंकले साँघुरियो । बाँकी समूहका लगानीकर्ताले नोक्सान बेहोनुपर्‍यो । तीन दिनको कारोबारमा बिमा समूहको परिसूचक सबैभन्दा बढी १ सय ९६.३४ अंकले घटयो । यसैगरी, जलविद्युत्को ४०.४३, वित्त कम्पनी ८.२६, उत्पादन तथा प्रशोधनको ९०.६१, विकास बैंकको २०.९८ र बैंकिङको १३.१७ अंकले घटेको जनाइएको छ ।

यो साता कारोबार रकम (१२ करोड ३१ लाख २० हजार रुपैयाँ) का आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या (१ लाख ७५ हजार कित्ता) का आधारमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा अघि छ । कारोबार संख्या (२ हजार ६ सय ७६ वटा ) का आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा छ । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन मात्र खुला रहयो ।

विगतमा जस्तै गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन । उक्त अवधिमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर, सहयोगी विकास बैंक र पूर्णिमा विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?