कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६० दिनमा प्राधिकरण ‘टुक्र्याइने’

काठमाडौं — आठ वर्षयता चर्चामा रहेको नागरिक उड्डयन प्राधिकरणको पुन:संरचना दुई महिनाभित्र हुने भएको छ । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले आइतबार पत्रकार सम्मेलन गरी नियमनकारी र सेवा प्रदायक गरी दुइटा निकायमा ६० दिनभित्र विभाजन गरिने दाबी गरे ।

‘नागरिक उड्डयनसम्बन्धी निकायलाई सेवा प्रदायक र नियमनकारी निकायमा छुटयाई स्तरीकृत एवं गुणस्तरीय सेवा प्रवाह गर्न, एकीकृत नेपाल नागरिक उड्डयन ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरिनेछ,’ उनले भने । मन्त्री देवले अबको ६० दिनभित्र गर्ने ३२ वटा महत्त्वाकांक्षी कार्ययोजना प्रस्तुत गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सदस्य मुलुकका हैसियतले नेपाललाई नियमनकारी र सेवा प्रदायक एउटै निकायमा रहँदा हित बाझिने भएकाले टुक््रयाउन २००८ देखि सुझाउँदै आएको छ । त्यसैको सुझावअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुइटा निकायमा विभाजन गरिने भएको हो ।

आइकाओले हालै गरेको सुपरिवेक्षणमा गैरसैनिक उडानसँग जोडिएका आठवटा विषयमा अडिट गरेको थियो । तिनमा हवाई कानुन, नागरिक उड्डयनको संगठन, व्यक्तिगत इजाजतपत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन थिए । यीमध्ये नागरिक उड्डयन संगठनमा नेपालले ५० अंक (प्रतिशत) प्राप्त गरेको थियो । यसमा अन्य मुलुकहरूको औसत परिपालना दर ६८ प्रतिशत छ । नेपालमा नियामक र सेवा प्रदायक एकै निकायभित्र रहेकाले अडिटले चासो दिँदै आएको छ । यसबाहेक दुर्घटना जाँच्ने विधिमा पनि नेपालका आठ क्षेत्रमध्ये सबैभन्दा कम १८ अंक (प्रतिशत) मात्रै प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोबाट नेपाललाई लगाइएको रातो झन्डा (टयाग) हटाइएको सन्दर्भ उल्लेख गर्दै पछिल्लो समय सुधार भएको हवाई सुरक्षाबारे युरोपियन युनियनलाई जानकारी पनि यसै अवधिमा गरिने भएको छ । ईयूको हवाई सुरक्षा सूचीबाट नेपाली वायुसेवालाई हटाउने तयारी गरिने मन्त्री देवले बताए ।

प्रकाशित : भाद्र २६, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?