कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

साढे ७ अर्बका नयाँ नोट साटिए, यो दसैंमा १६ अर्बसम्म नयाँ नोट बजारमा जाने आकलन

- एकै दिन राष्ट्र बैंकबाट मात्रै १३ करोड बाँडियो
- बाँकी रकम बैंक र अन्य सरकारी कार्यालयमा गयो

काठमाडौं — यो वर्षको दसैं तिहारका लागि बुधबारसम्म राष्ट्र बैंकले करिब ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, नेपाली सेना, प्रहरी र सर्वसाधारण गरी उक्त रकम बराबरको नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

साढे ७ अर्बका नयाँ नोट साटिए, यो दसैंमा १६ अर्बसम्म नयाँ नोट बजारमा जाने आकलन

सर्वसाधारणका लागि राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको छ । काठमाडौंमा थापाथलीस्थित कार्यालय र मोफसलमा ७ वटै क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट वितरण सुरु गरेको हो । यसैगरी बुधबारदेखि नै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका १६ वटा शाखामार्फत नयाँ नोट वितरण सुरु भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशन भीष्मप्रसाद उप्रेतीले बताए । ‘बुधबार मात्रै राष्ट्र बैंकबाट करिब साढे १३ करोड रुपैयाँ बराबरका नयाँ नोट वितरण भएको छ,’ उनले भने, ‘थापाथली कार्यालयबाट मात्र करिब १ हजार १ सय सर्वसाधारणले नयाँ नोट साटेका छन् ।’ बाँकी करिब ७ अर्ब ३७ करोड रुपैयाँ विभिन्न बैंक वित्तीय संस्था, सेना प्रहरीलगायतका निकायमा यसअघि नै वितरण भएको हो । बैंक र संघसंस्थालाई भदौ २१ देखि राष्ट्र बैंकले दिन थालेको थियो । सर्वसाधारणका लागि भने राष्ट्र बैंकले बुधबार मात्रै ढोका खोलेको हो ।

थापाथलीस्थित राष्ट्र बैंकका कार्यालयबाट सर्वसाधारणले बढीमा प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही गर्न पाउँछन् । त्यसका लागि पहिले टोकन लिनुपर्छ । राष्ट्र बैंकले हरेक दिन दिउँसो २ बजेसम्म सर्वसाधारणलाई टोकन वितरण गर्छ । टोकन पाएका व्यक्तिलाई सोही दिन नयाँ नोट दिइने कामु कार्यकारी निर्देशक उप्रेतीले बताए ।

सर्वसाधारणले नेपाल बैंकका काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट पनि नयाँ नोट साट्न पाउँछन् । यसैगरी राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार र नक्सालबाट पनि नयाँ नोट साट्ने सुविधा उपलब्ध छ । गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारस्थित कृषि विकास बैंकका शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । ती बैंकहरूबाट सर्वसाधारणले प्रतिव्यक्ति २० हजारका दरले नयाँ नोट सटही गर्न पाउँछन् । ‘ती बैंकहरूले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा, सुकिलो नोट प्रतिव्यक्ति अधिकतम २० हजार रुपैयाँका दरले वितरण गर्नेछन्,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

यो वर्ष राष्ट्र बैंकले १० दिनसम्म नोट सटही सुविधा दिएको छ । गत वर्ष सात दिनमा १० अर्ब ३१ करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिएको थियो । यो वर्ष १० दिनमा करिब १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण हुने राष्ट्र बैंकको अनुमान छ । सटही सुविधालाई सहज बनाउन प्रत्येक दरका नोटको खुद्रा संख्या १ सयको प्याकेटका आधारमा मात्र सटही गरिनेछ । यसकारण सोहीबमोजिम नोट माग गरी सटही कार्यलाई सहयोग पुर्‍याउन सर्वसाधारणलाई राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?