कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से १४ सय अंक तल

काठमाडौं — केही दिनयता निरन्तर घटिरहेको नेप्से बुधबारसम्म १ हजार ४ सय ९० विन्दु नजिक ओर्लेको छ । यो करिब ५ महिनायताकै न्यून हो । ०७३ चैत १० मा नेप्से १ हजार ४ सय ८६.०४ विन्दुमा थियो ।

 नेप्से १४ सय अंक तल

०७२ साउनमा हालसम्मकै उच्च विन्दु १ हजार ८ सय ८१ मा पुगेर ओरालो लागेको नेप्से बुधबारसम्म आइपुग्दा १ हजार ४ सय ९३.२० विन्दुमा झरेको हो । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ९ अंकले घटेको छ । कारोबारमा आएकामध्ये ४ समूहको परिसूचक बढे पनि चार समूहको घटे । बढ्नेभन्दा घट्ने अंक बढी भएपछि समग्र नेप्से परिसूचकमा दबाब परेको हो ।

पछिल्ला दिनमा कुनै विशेष कारणबिनै नेप्से उच्च अंकले ओरालो लाग्दै आएको छ । हाल सूचीकृत कम्पनीहरूबाट धमाधम लाभांश घोषणा भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि आह्वान गरिरहेका छन् भने ब्याजदर घट्दो अवस्थामा छ । सामान्य अवस्थामा यस्ता परिवर्तनहरूले बजारमा सकारात्मक प्रभाव पार्छन् । तर, त्यसको विपरीत हाल नेप्से निरन्तर रूपमा घटेपछि लगानीकर्ताको मनोबल खस्किएको ब्रोकरहरूले जनाएका छन् । 
‘हाल बजार उच्च अंकले घट्नुपर्ने कुनै कारण छैन,’ एक धितोपत्र ब्रोकर सञ्चालक रामचन्द्र भट्टराईले भने, ‘तर, खै के कारणले हो, लगानीकर्ता लगानी थप्न चाहिरहेका छैनन् ।’ बजारका सूचकहरू हेर्दा अब बजारले सुधारको बाटो पछयाउने बलियो सम्भावना रहेको उनले बताए । ‘कारणबिनै घटेकाले करेक्सनको सम्भावना पनि त्यत्तिकै देखिन्छ,’ उनले भने ।

हाल सेयर बजार ओरालो लाग्नुमा नीतिगत कारण प्रमुख रहेको अर्का एक ब्रोकरले बताए । सेयर बजारमा हुँदै आएको गैरकानुनी सेयर कारोबारमा नियामक निकायहरूले चासो देखाउन थालेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको उनको भनाइ छ । ‘आउँदो वर्षदेखि सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गरिने तथा सूचीकृत कम्पनीहरूका लागि सुशासन निर्देशिका ल्याइनेलगायत धितोपत्र बोर्डको तयारीले लगानीकर्ताको मनोबल खस्केको छ,’ ती अधिकारीले भने । यद्यपि अहिले बजार उच्च अंकले घट्ने कुनै कारण नभएको उनले बताए । पछिल्ला दिनहरूमा बजारमा सेयर बिक्री चाप उच्च छ । खासगरी ठूला व्यापारिक घरानाहरूबाट ठूलो मात्रामा सेयर बिक्री भइरहेको जानकारहरू बताउँछन् । ‘कारण बुझ्न सकिएन तर पछिल्ला ठूला व्यावसायिक लगानीकर्ताबाट सेयर बिक्री भइरहेको छ,’ एक विज्ञले भने । 

बुधबार करिब ६ हजार ३ सय कारोबारबाट १ सय ६० कम्पनीका १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनबेच भए । ती खरिद बिक्रीबाट ६३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबारमा आएकामध्ये ४९ कम्पनीको सेयर मूल्य बढयो, ९१ कम्पनीको सेयर मूल्य घटयो बाँकी २० कम्पनी सेयर मूल्य स्थिर छ । उक्त दिन बजार पुँजीकरण करिब १७ खर्ब ३२ अर्ब रुपैयाँ कायम भएको छ । बुधबार वित्त कम्पनी समूहको परिसूचक १.२९, जलविद्युत्को ०.७२, होटलको ०.४६ र बिमा समूहको परिसूचक ०.११ प्रतिशत बढे । तर, विकास बैंक समूहको परिसूचक १.२५, उत्पादन तथा प्रशोधनको ०.८८ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?