१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अवैध ढक तराजुले ठगिँदै उपभोक्ता

-प्रमाणीकरण नगरिएको ढक तराजुको प्रयोग
-अधिकांश भारतीयबाट कम तौल र बिग्रेका ढक, तराजुको प्रयोग
भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर बजारमा फलफूलका व्यापारीले अवैध ढक र तराजु प्रयोग गरिरहेको भेटिएको छ । मंगलबार गरिएको बजार अनुगमनका क्रममा व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको भेटिएको हो ।

अवैध ढक तराजुले ठगिँदै उपभोक्ता

ठेलामा फलफूलको व्यापार गर्ने अधिकांश भारतीय नागरिकले कम तौल भएका ढक र बिग्रेका तराजु प्रयोग गर्ने गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ । हरेक २/२ वर्षमा नाप तौल विभागले प्रमाणीकरण गरेका ढक तराजु मात्रै व्यापारीले प्रयोग गर्न पाउने व्यवस्था छ । ‘अधिकांशले अवैध भारतीय ढक र तराजु प्रयोग गरिरहेको भेटियो,’ बजार अनुगमन टोलीका सदस्यसमेत रहेका क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक नारायणसिंह रावतले भने, ‘ढक तराजुको तौल पनि ठीक छैन ।’ उनले अनुगमनका क्रममा ३ वटा तराजु र १५ वटा ढक बरामद गरिएको बताए । 

व्यवसायीलाई पनि पहिलो पटक अबदेखि त्यस्तो नगर्न सचेत गराएको र फेरि दोहोर्‍याएमा कारबाही गरिने चेतावनी दिइएको उनले सुनाए । दसैं, तिहारलाई लक्षित गरी बजार अनुगमनका गरिएको हो । त्यसै क्रममा अधिकांश खाद्य वस्तु म्याद नाघेका र लेभल नभएका बिक्री भइरहेको पाइएको छ । खासगरी बेसन, पापड, तेल, मसला र पेय पदार्थ म्याद नाघेका भेटिएका हुन् । ‘अनुगमनका क्रममा खाद्यान्न र प्याकेजिङ सामानहरू म्याद नाघेका र लेभल नभएका भेटिए,’ उनले भने, ‘विभिन्न प्रकारका अखाद्य वस्तु बरामद गरि नष्ट गरिएको छ ।’ टोलीले मंगलबार सब्जीमण्डी क्षेत्रमा रहेका किराना पसलहरूमा अनुगमन गरेको हो । 

गत वर्ष चाडपर्वपछि सुस्ताएको अनुगमन दसैं नजिकिँदै गर्दा पुन: सुरु भएको हो । नियमित अनुगमन नहुँदा बजारमा म्याद नाघेका खाद्य वस्तु जताततै बिक्री भइरहेको अधिकारकर्मीहरू बताउँछन् । यसका साथै किराना पसलमा मूल्यसूची नराखी उपभोक्तालाई ठग्ने काम भइरहेको उनीहरू बताउँछन् । ‘अखाद्य वस्तुसँगै उपभोक्ता ठग्ने काम पनि भइरहेको छ,’ उपभोक्ता अधिकारकर्मी प्रभुनिधि पन्तले भने, ‘बजारमा २/४ पसलबाहेक कुनैमा पनि मूल्यसूची राखेको देखिँदैन ।’ उनले मूल्यसूची भएकाले पनि अद्यावधिक नगरेको र नदेख्ने ठाउँमा राखेको बताए । चाडपर्वका बेला मूल्यसूची नहुँदासमेत उपभोक्ताहरू ठगिइरहेको उनले बताए । 

प्रकाशित : भाद्र २९, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?