२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मुस्ताङबाट ४१ करोडको स्याउ बिक्री

बिनोद त्रिपाठी

मुस्ताङ — दसैंको अवसर पारेर मुस्ताङबाट ४१ करोड मूल्य बराबरको स्याउ मुलुकका विभिन्न सहरहरुमा बिक्री गरिएको छ ।

मुस्ताङबाट ४१ करोडको स्याउ बिक्री

ठेकेदारले दसैंको १५ दिनअघि नै धमाधम स्याउ टिप्दै ट्रकमा राखेर ठुला बजारमा पु्ऱ्याइसकेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार अघिल्ला वर्षभन्दा यसपालि स्याउ २० दिनअघिदेखि नै बिक्री सुरु गरिएको हो । यसपटक दसैं अगाडि नै परेकोले ठेकेदारले जर्बजस्ती स्याउ टिपेर काँच्चै बिक्री गरेका कृषि प्राविधिकहरुको भनाइ छ । यो मौसममा बिक्री भएका स्याउ थोरै काँचा हुने भएकोले शतप्रतिशत गुलियो लाग्दैन । मुस्ताङमा स्याउ बिक्री वितरणमा सरकारी कार्यालयको कुनै हस्तक्षेप चल्दैन । ठेकेदारले पहिल्यै नै कृषकहरुका स्याउ बगैंचा बुक गरिसकेका हुन्छन् । जुन मौकामा बढी मूल्य पाइन्छ सोही आधारमा ठेकेदारले स्याउ बिक्री गर्दै आएका छन् ।

‘हामीले अहिलेसम्म ४१ सय मेट्रिक टन स्याउ मुस्ताङबाट बाहिरिएको अनुमान गरेका छौं,’कार्यालयका सुचना अधिकृत शिवपुजन गुप्ताले कान्तिपुरसँग भने, 'यो ४१ करोड मूल्यबराबरको स्याउ हो ।’ गतवर्षको तुलनामा अहिले स्याउ प्रतिकेजी २० रुपया मूल्य बढेको उनले बताए । 'गत वर्ष थोक मूल्य प्रतिकेजी बढीमा ८० रुपैयाँमा ठेकेदारले खरिद गरेका थिए, अहिले यो मूल्य सय पुगेको छ,' उनले भने । शतप्रतिशत गुलियो भरिएका स्याउ कात्तिकको मध्यमा मात्र हुने उनले बताए । चाडपर्वको मौका छोपी गुलियो नभरिँदै स्याउ बिक्री हुने गरेको उनले सुनाए ।

असोजको पहिलो साता शुक्रबारसम्म ७० प्रतिशत स्याउ बिक्री भइसकेको अधिकृत गुप्ताको भनाइ छ । गत वर्ष मुस्ताङमा ४ हजार ३ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । 'अहिले ५१ सय मेट्रिकटन उत्पादन हुने अनुमान गरेका छौं,’ उनले भने, अझै स्याउ टिप्ने क्रम जारी छ । यो महिनाको अन्तिमसम्ममा सबै स्याउ टिप्ने भएकोले बिबरण आइसक्छ ।’

स्याउ लगाएका क्षेत्रमा पर्याप्त हिउँ परेको र उपल्लो मुस्ताङमा स्याउ क्षेत्र बिस्तार भएकोले उत्पादन बढेको उनले बताए । कृषकले लगाएको स्याउ ठेकेदारले हचुवाका भरमा पहिल्यै खरिद गर्ने चलन छ । साउनमै ठेक्कामा बिक्री गरेर कृषकले पैसा बुझिसकेका हुन्छन् । पोखरा, धादिङ, काठमाडौंका ब्यापारी आएर होलसेल मूल्यमै बारीबाट स्याउ टिपेर लाने गरेका छन् । यो वर्ष मौसम ठिक भएकोले स्याउ उत्पादन नघटेको उनले बताए । यहाँका स्याउ निकै स्वादिलो हुने भएकोले पोखरा, काठमाडौंलगायतका प्रमुख सहरमा ब्यापारीले पुऱ्याउने गरेका छन् । यस वर्ष मुस्ताङका बगैंचाबाट कृषकले ठेक्कामा ब्यापारीलाई स्याउ बिक्री गर्दा ८० देखि एक सय रुपया प्रतिकेजी थोक मूल्य परेको छ ।

१५ वर्ष अघिसम्म मुस्ताङको तल्लो गाउँ लेतेमै लटरम्म स्याउ फल्थे । अहिले यहाँ स्याउको एउटा पनि बिरुवा छैन । स्याउमा आश्रित परिवार अन्य बालीमा निर्भर बनेका छन् । यहाँ स्याउको सट्टा आलु, मकै लगाउन थालिएको छ । केही कृषकले अमिलो जातका फलफुल (सुन्तला, निबुवा) लगाएका छन् ।
मौसम परिवर्तनले तल्लो मुस्ताङमा स्याउ फल्न छोडेको छ । लेतेमा स्याउ फल्न छाडेको धेरै वर्ष भइसकेको थासाङ गाउँपालिकाका बिशाल शेरचनले बताए । गर्मी बढेर पानी पर्न थालेपछि बालीनालीमा परिवर्तन गर्नुपरेको उनले बताए ।

तर, सरकारले उपल्लो मुस्ताङका गाउँहरुमा स्याउ उत्पादन गर्न विभिन्न कार्यक्रम लागु गरेको छ । लोमान्थाङ र घमी गाउँपालिकालगायत स्थानमा स्याउ क्षेत्र बिस्तार गरिएकोले अबको केही वर्षमा उत्पादन ह्वात्तै बढ्ने कृषि अधिकृत गुप्ताले जानकारी दिए । अत्यधिक चिसो भूभाग कुनै बाली नफल्ने गाविसमा अहिले स्याउ लगाउन थालिएको छ ।

उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, सुर्खाङ, छोन्हुप गाउँहरुमा स्याउ उत्पादनका लागि कृषि विकास कार्यालयले यसै वर्षदेखि सुरुआत गरेको छ । वर्षमा १० महिना हिउँ पर्ने यी क्षेत्रमा अहिले मुस्किलले ८ महिना मात्र हिउँ पर्ने भएकोले स्याउ लगाउन थालिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७४ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?