गौतम बुद्ध विमानस्थल काम सुरु

विमानस्थल आयोजनामा संसदीय समितिको चासो

काठमाडौं — व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरुको बैठकमा मन्त्री नै अनुपस्थित हुदा विकास आयोजनाहरु प्रभावित हुने सांसदहरुले बताएका छन् ।

गौतम बुद्ध विमानस्थल काम सुरु

सार्वजनिक लेखा समिति, विकास समितिलगायतले विभिन्न आयोजनाका बारेमा बुझ्नका लागि बोलाउदा सरकारका मन्त्री र सचिवहरुले नै अटेर गरेको उनीहरुको गुनासो छ ।

पछिल्लो समय भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका विषयमा सार्वजनिक लेखा समितिले पर्यटन मन्त्री जितेन्द्रनारायण देवसहितलाई बोलाएको थियो ।

‘मन्त्रीलाई बोलायौं । आएनन् । सचिवलाई पनि बोलायौं आएनन्’, लेखा समितिले विमानस्थल निर्माणका समस्याबारे बोलाएको बैठकमा उनीहरु अनुपस्थित भएको समितिका सदस्य एवं सांसद पशुपति चौंलागाइले जनाए ।

राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त विमानस्थल स्थानीय ठेकेदारसगको विवादले ६ महिना ढिलाई भएको थियो । विवाद नमिलेपछि समितिले चासो देखाएको थियो । चिनिया मुख्य ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माण सामाग्री सप्लाईका लागि सम्बन्धित कम्पनीहरुलाई अहिले थप पैसा निकासा गरी काम अघि बढाएको छ ।

सांसद चौंलागाईले यस्ता आयोजना समयमा सक्न ठेकेदार कम्पनी, सरकार र सरोकारवाला निकाय सबैको हात हुने सुझाव दिए ।

‘संसदीय समितिले समन्वय गर्छ । हामीले त्यो काम गरेका छौं । मन्त्री, सचिव टाडिएर आयोजना समयमै बन्न सक्दैन । सरकारको सहयोग पर्याप्त भएन भने उक्त एयपोर्ट फेरी ढिलाई हुन सक्छ’, सञ्चार केन्द्र नेपालले आइतवार राजधानीमा आयोजना गरेको एक अन्तक्र्रियामा सांसद रामहरि खतिवडाले भने । भैरहवा विमानस्थल निर्माणका लागि आवश्यक माटो, ग्राभेलको व्यवस्था गर्न नागरिक उड्ययन प्राधिकरणले समेत ढिलाई गरेको छ । सम्झौतामा ती सामाग्री उपलब्ध गराउने जिम्मेवारी प्राधिकरणकै हुने उल्लेख छ ।

उक्त आयोजनाको प्रगतिविवरण बुझ्न केही समय अघि लेखा समितिका सांसदहरु आयोजनास्थल नै पुगेका थिए । अहिले उक्त आयोजनाका लागि आवश्यक उपकरण, दक्ष प्राविधिकहरु झिकाइएको छ । दुइ साता यता मुख्य ठेकेदार कम्पनी आफै अग्रसर भई ३ वटा कम्पनीलाई पैसा निकासा गरेको छ । कामलाई तिव्र बनाउन चिनिया कम्पनीले ७८ करोड ४० लाख रुपैया थप बजेट निकासा गरेको छ । सरकारी स्वामित्वको उक्त चिनिया कम्पनी आयोजनाको प्रगति विवरण बुझ्न उच्चस्तरीय टोली समेत नेपाल आउदैछ ।

गौतम बुद्ध विमानस्थलसहित राष्ट्रिय गौरवका माथिल्लो तामाकोशी, निजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत आयोजना समयमा पूरा गराउने तर्फ पछिल्लो समय समितिहरुले सक्रियता देखाएका छन् ।

विकास समितिका सभापति रविन्द्र अधिकारीले आयोजनालाई समयमै बनाउने हो र सफल बनाउने हो भने सरकारले क्षमता देखाउन सक्नुपर्ने सुझाव दिए । ‘सरकारको क्षमता नभएको होइन । तर त्यो खालको इच्छाशक्ति छैन’, सभापति अधिकारीले भने । उनले एशियाली विकास बैंक, विश्व बैंक जस्ता ठूला दाता संस्थामा हावी भएको कर्मचारीतन्त्र र वेथितिले पनि आयोजनालाई प्रभावित तुल्याएको दावी गरे ।

भैरहवा विमानस्थल एशियाली विकास बैंकको ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । एडीबीको निरीक्षण र सरकारको तदारुकता भएमा आयोजनाको काम समयमै सकिने सभासद अधिकारीले बताए । स्थानीय ठेकेदार नर्थवेस्ट इन्फ्रा नेपाललले भुक्तानी अनुसार काम नगरेको, निर्माण सामाग्री समयमै उपलब्ध नभएको जस्ता विवाद उक्त विमानस्थल निर्माणमा देखिएको थियो । चाइनिज कम्पनीले काम अघि बढाउन एक दर्जन इन्जिनियरसहित १५ जना विज्ञहरु नेपाल झिकाइसकेको छ ।

निर्माणस्थलमा हाल कन्ट्रोल टावर, सबस्टेशन, टर्मिनल भवन र प्रशासकीय भवनहरु बन्दैछन् ।

प्रकाशित : आश्विन ८, २०७४ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?