ओमनमा खाडीका राजदूतहरूको सम्मेलन

सम्मेलनमा प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री महरा र श्रममन्त्री मन्सुर सहभागी हुने
होम कार्की

काठमाडौं — वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको हित र सुरक्षाको विषयमा नेपाली दूतावासहरूका कामलाई प्रभावकारी बनाउनका लागि सरकारले ओमनमा मंगलबार खाडी राजदूतहरूको सम्मेलन गर्ने भएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूतहरूको सम्मेलन गरी आवश्यक नीति बनाउन सरकारलाई निर्देशन दिएपछि ओमनमा सम्मेलन हुन लागेको हो । राजदूतको सम्मेलनका लागि ओमनस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र श्रममन्त्री फरमुल्लाह मन्सुरको उपस्थितिमा राजदूतहरूको सम्मेलन हुन लागेको हो । सम्मेलनमा साउदी अरब, कतार, कुबेत, यूएई, बहराइन र ओमनस्थित नेपाली राजदूतहरूको सहभागिता रहनेछ । देउवाले ओमनको उच्चतहमा कूटनीतिक भेटघाट गर्नेसमेत कार्यक्रम छ । 

सम्मेलनमा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री महरा सोमबार ओमन पुग्नेछन् । श्रममन्त्री मन्सुर आइतबार ओमन प्रस्थान गर्नेछन् । उनीहरू तीन दिनसम्म ओमन रहने कार्यक्रम छ । 

‘सबै राजदूतहरूले नेपाली कामदारको हितको विषयमा के कस्तो काम गरेका छन् । हामीले गन्तव्य देशहरूसँग गरिरहेको श्रम सम्झौताको प्रगति के भयो भन्नेलगायत आआफ्नो विवरण पेस गर्नेछन्,’ श्रममन्त्री मन्सुरले कान्तिपुरलाई भने, ‘वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि उनीहरूले कस्तो मार्गचित्र देखेका छन् ? त्यो विषयमा छलफल हुन्छ ।’ 

मन्सुरले खाडीमा कार्यरत नेपालीले भोगिरहेका समस्यालाई हल गर्न सरकार प्रयासरत रहेको बताए । ‘गन्तव्य देशको वस्तुस्थितिलाई नजिकबाट हेर्ने, मूल्यांकन गर्ने र त्यसलाई समाधानका लागि भूमिका खेल्ने काम दूतावासबाटै हो,’ उनले भने, ‘कहाँ–कहाँ अप्ठयारो पर्छ । त्यहाँ सरकारले सहजीकरण गर्ने, आवाश्यक नीति बनाउने र बजेट उपलब्ध गराउने काम गर्नेछ ।’ उनले राजदूतहरूको सम्मेलनबाट वैदेशिक रोजगारीको क्षेत्रलाई सम्बोधन गर्न ठोस नीति आउने आशा राखेको बताए ।

प्रकाशित : आश्विन ९, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?